
१ माघ, काठमाडौं । मलेसिया र भारतबीच काश्मीर र एनआरसी–सीएए सम्बन्धी विषयलाई लिएर देखिएको तनाव गहिरिँदै गएको छ । मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदले जम्मू कश्मीरको विशेष अधिकार खारेज गरेकोमा र एनआरसी–सीएए मामिलामा भारतको कडा आलोचना गरेका छन् ।
महाथीरको कडा आलोचनाको जवाफमा भारतले मलेसियाबाट पाम तेलको आयातमा लगभग प्रतिबन्ध लगाएको छ । भारतको यो मनोवृत्तिको बारेमा मलेसियाले चिन्ता व्यक्त गरेको छ । तर प्रधानमन्त्री महाथीरले फेरि भनेका छन् ‘आफ्नो देशले आर्थिक नोक्सानी भोग्नु परे पनि ‘गलत कुरा’ कोविरूद्ध आवाज उठाइ रहनेछ ।’
भारत खाद्य तेलको सबैभन्दा ठूलो आयातकर्ता हो । समाचार एजेन्सी रोयटर्सका अनुसार भारतीय व्यापारीहरूले गत सातादेखि नै मलेसियाबाट परिष्कृत पाम तेलको आयातलाई प्रभावकारी रूपमा रोकेका छन् । इन्डोनेशियापछि मलेसिया विश्वमा दोस्रो ठूलो पाम तेल उत्पादक र निर्यातकर्ता मुलुक हो ।
पछिल्लो समय महाथीरले भारत र साउदी अरब दुबै मुलुकलाई निशाना बनाउँदै आएका छन् । ‘जब भारतले जम्मू कश्मीरको विशेष दर्जा खारेज गर्यो,’ महाथीर मोहम्मदले भने, ‘भारतले काश्मीर आक्रमण गरेर आफ्नो कब्जामा लिएको छ ।’
भारतले आयात रोकेपछि मलेसियाको पाम तेल रिफाइनरीले ठूलो नोक्सान बेहोर्नु पर्ने अवस्था सिर्जना भएको छ । आफ्नो सरकारले यसको समाधान खोज्ने उनले बताएका छन् ।
महाथीरले पत्रकारहरूसँग भने, ‘हामी यसबारे चिन्तित छौं किन कि भारत हाम्रो पाम तेलको ठूलो खरीदकर्ता हो । तर अर्कोतर्फ यदि केही गलत हुँदैछ भने हामी स्पष्ट हुनु आवश्यक छ । हामी गलतलाई गलत भन्छौं । यदि हामीले फाइदालाई देखेर गलत हुन दियौं भने र केही बोलेनौं भने धेरै चीजहरू गलत दिशामा जानेछन् ।’
प्रतिक्रिया 4