
अभिभावक चाहन्छन्, आफ्ना बालबच्चा पढाईमा अब्बल होस् । परीक्षामा उत्कृष्ट अंक हासिल गरोस् । कुनैपनि प्रतियोगितामा अग्रस्थान हासिल गरोस् ।
धेरै अभिभावक यस्ता हुन्छन्, जो आफ्ना बालबच्चाकालाई सफलताको पछाडि दौडन लगाउँछन् । हरेक कुरामा बालबच्चा सफल भइदिएको हेर्ने रहर पाल्छन् । पक्कैपनि सफलता हासिल गर्नका लागि मेहनत, श्रम, लगावको आवश्यकता पर्छ । तर, सफल बनाउने चक्करमा हामी के गल्ती गर्छौं भने उनीहरुको इच्छा, रुची, खुबीलाई नजरअन्दाज गरिरहेका हुन्छौं । उनीहरु के चाहन्छन्, के रुचाउँछन्, उनीहरुमा कस्तो क्षमता छ ? हामी मूल्यांकन गर्दैनौं ।
बरु निरन्तर हरेक क्षेत्रमा लाग्न उक्साउँछौं र सफल बन्न प्रेरित गरिरहेका हुन्छौं । यसरी हामी आफ्नो इच्छा र चाहना बालबच्चामाथि लाद्न पुग्छौं । भलै यसबाट बच्चाले सफलता हासिल गर्न सक्छन्, तर उनीहरुको आफ्नै क्षमता, खुवीको प्रयोग गर्न पाउँदैनन् । उनीहरु आफ्नो रुचीको काम गर्न पाउँदैनन् । यसको नतिजा के हुन्छ ? बच्चाहरु कतिपय क्षेत्रमा सफल त हुन्छन् तर सक्षम हुँदैनन् ।
परीक्षामा उत्कृष्ट अंक हासिल गरेको सुन्न पाउँदा दंग पर्ने अभिभावकले आफ्ना बालबच्चालाई कति व्यवहारिक र जीवनोपयोगी कुरा सिकाएका छन् भन्ने कुरा पनि मूल्यांकन गर्नुपर्छ । कितावी ज्ञान वा जानकारीले मात्र बालबच्चा सक्षम हुँदैनन् । उनीहरुले जे सिक्छन्, जे जानेका छन्, त्यसको व्यवहारिक प्रयोग पनि आवश्यक हुन्छ । यसर्थ बालबच्चालाई यस्तो कुरा सिकाउनुपर्छ, जो उनीहरुको जीवनमा आवश्यक छ ।
किताबमा पढेका वा विद्यालयमा सिकेका कुरालाई उनीहरु व्यवहारिक जीवनका कति प्रयोग गर्छन् ? अभिभावकले बुझ्नुपर्छ । बालबच्चाले विद्यालयमा सिक्छन्, सरसफाई आवश्यक छ । खाना खानुअघि हात धुनुपर्छ । शौच क्रिया सकेपछि हात सफा गर्नुपर्छ । तर, उनीहरुले व्यवहारिक जीवनमा यस्तो प्रयोग गर्छन् ?
विद्यालयमा बालबच्चाले पुस्तकका वा शैद्धान्तिक कुरा सिक्छन् । घरमा उनीहरुले व्यवहारिक ज्ञान हासिल गर्छन् । बालबच्चाका लागि नयाँ कुरा सिक्ने, बुझ्ने, अभ्यास गर्ने ठाउँ भनेको घर हो । त्यसैले अभिभावकले बालबच्चालाई घरमा यस्तो वातावरण बनाइदिनुपर्छ, जसबाट उनीहरुले व्यवहारिक ज्ञान हासिल गर्न सकोस् ।
अभिभावक कामना गर्छन्, मेरा बालबच्चा निरोगी होस् । बलियो र फूर्तिलो होस् । शारीरिक रुपमा मात्र होइन, बौद्धिक रुपमा पनि बच्चा अब्बल होस् भन्ने चाहन्छौ । उनीहरु ज्ञानी, बुद्धिमान र आज्ञाकारी होस् भन्ने चाहन्छौ । अरुको भरमा होइन, आफैमा निर्भर हुन सकोस् भन्ने चाहन्छौ । यसका लागि अभिभावकले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छ । साथै घरमा उचित वातावरण पनि तय गरिदिनुपर्छ ।
बच्चालाई के सिकाउने ? कसरी सिकाउने अभिभावकमा ज्ञान हुनुपर्छ । यस्तो कुरा सिक्नुपर्छ, जसले उनीहरुको जीवनलाई सहज बनाउन सहयोग गर्छ ।
१. बच्चालाई सानैदेखि संस्कार सिकाउँदै लानुपर्छ । संस्कारले मानिसलाई पथभ्रष्ट हुन दिदैन । पितापूर्खाले अंगाल्दै आएको संस्कारमा बच्चालाई पनि अभ्यस्त बनाउँदै लानुपर्छ ।
कसरी बोल्ने, कस्तो व्यवहार गर्ने भन्ने कुरा सानैदेखि अनुभूत गराउनु पर्छ । आफुले मनाउँदै आएको चाडपर्व विधिगत रुपमा कसरी मनाउने र त्यसको सामाजिक, सांस्कृतिक फाइदाबारे पनि बुझाउनु पर्छ ।
२. बच्चालाई सहि समयमा सुताउने, उठाउने, ख्वाउने, शौचालय पठाउने अभ्यास गर्नुपर्छ । घरमा यस्तो तालिका निर्धारण गर्न सकिन्छ, जस अनुरुप बच्चाको दैनिकी तय होस् । राती सहि समयमा सुताउने, उठ्ने समय पनि निर्धारण गरिदिने । ठीक-ठीक समयमा खाने बानी गराउनु पर्छ ।
३. बच्चा सक्षम छ भने उसको सबै काम उसैलाई गर्न छाडिदिनुपर्छ । उसले खेलेको खेलौना आफैलाई मिलाउन दिनुपर्छ । खाना आफै खान दिनुपर्छ । लुगा लगाउन, पुस्तक मिलाएर ब्यागमा राख्न, जुत्ताको लेस बाँध्न, दाँत ब्रस गर्न सबै काम बच्चालाई गर्न दिनुपर्छ । यदि उसले नसकेको आवस्थामा आफुले सहयोग गर्न सकिन्छ । यसले बच्चालाई कर्मशिल, स्वभिमानी बनाउँछ ।
४. चाहे त्यो जतिसुकै सानो काम किन नहोस्, यदि बच्चाले सकारात्मक ढंगले प्रयास गर्छ भने उसलाई प्रोत्साहित गर्नुपर्छ । यसले उनमा आत्मामनोबल त बढ्छ नै, नराम्रो काम गर्नु हुँदैन भन्ने बोध पनि हुन्छ ।
बच्चालाई यसरी बनाउने सक्षम
बच्चामा आत्माविश्वास, नेतृत्व क्षमताको विकास गर्नुपर्छ । घरमै सामन्य ढंगले आफ्नो बच्चाको आत्माविश्वास बढाउन सकिन्छ ।
१. कुनैपनि जिम्मेवारी बच्चाले कुशलतापूर्वक वहन गर्न सक्दैनन् । यद्यपी उनलाई कुनै न कुनै जिम्मेवारी दिनुपर्छ । र, उनीहरुप्रति पूर्ण भरोसा गरेको महसुष पनि गराउनुपर्छ । यसले उनीहरुमा जिम्मेवारी वहन गर्ने बानीको विकास हुन्छ ।
२. आफ्ना अभिभावकको नक्कल गर्दै बच्चाहरु घरायसी काम गर्न खोज्छन् । उनीहरुको यो अभ्यासलाई प्रोत्साहित गर्नु पर्छ । काम गर्न जानेपनि, नजानेपनि स्वतन्त्र छाडिदिनुपर्छ । यसले उनीहरुमा आत्माविश्वास वृद्धि हुन्छ ।
३. सफलतामा रमाउन सजिलो हुन्छ । तर, असफलता सामना गर्न उत्तिकै गाह्रो । अतः बालबालिकालाई असफलताको सामना गर्न समेत सिकाउनु पर्छ ।
४. कहिले कहिं यस्तो परिस्थिती पनि सिर्जना गरिदिनुपर्छ, जसका लागि बच्चा स्वंमले निर्णय लिन सकोस् । यसले उनीहरु सिघ्र र सहि निर्णय लिने क्षमता बिकास हुन्छ । साथै प्रतिकुल परिस्थितीलाई सामना गर्ने क्षमता पनि बढ्छ ।
बच्चालाई के गर्न दिने, किन दिने ?
१. भर्चुअल खेलमा भन्दा बढी आउडडोर गेम खेल्नका लागि प्रोत्साहित गर्नुपर्छ । फूटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन जतिपनि खेल हुन्छन्, त्यसले उनीहरुको शारीरिक सक्रियता बढाउँछ । खुला हावामा खेल्ने अभ्यास स्वास्थ्यको लागि त राम्रो हो नै, यसले उनीहरुको आन्तरिक क्षमता समेत विकास गर्छ ।
२. बच्चलाइ प्रकृति एवं पर्यावरण, हावापानी, रुखपात, खोलानालासँग एकाकार हुन सिकाउनुपर्छ । बनजंगल, डाँडाकाडा, खोलानालाको सौन्दर्यमा रमाउन र त्यसको महत्व बुझ्न पनि प्रेरित गर्नुपर्छ ।
बच्चालाई घर बगैंचामा काम गराउने, फूल रोप्न लगाउने, सिंचाइ गर्न सिकाउने, करेसाबारीमा सागसब्जी रोप्न, गोड्न लगाउने । जन्मदिनमा बिरुवा रोप्न सिकाउने । यसले उनीहरुलाई प्रकृतिसँग जोड्छ । यावत् क्रियाकलापले बच्चालाई खुसी तुल्याउँछ । उनीहरुमा चिन्ता, तनाव आउन दिदैन । दीर्घकालिन रुपमै यसले फाइदा गर्छ ।
प्रतिक्रिया 4