+
+

‘हिमाल हेर्न मानहुँकोट जाऔँ’

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते १२:४६
तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटमा शनिबार आएका आन्तरिक पर्यटक । तस्वीर : कृष्ण न्यौपाने/रासस

१९ माघ, तनहुँ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा शनिबार मात्रै एक हजारभन्दा बढी पर्यटक पुगेका छन् । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा मानहुँकोटको प्रचारप्रसार हुन थालेपछि मानहुँकोटमा आन्तरिक पर्यटकको आगमन वृद्धि हुँदै गएको हो ।

शनिबार बिदा भएको कारण मानहुँकोटमा बिहानैदेखि पर्यटकको घुइँचो लागेको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । ‘अन्य दिन पनि पर्यटकको चहलपहल भइरहन्छ, तर आज भने मानहुँकोटमा अत्याधिक भीड रह्यो,’ श्रेष्ठले भने । केही दिनअघिमात्रै पूर्वराष्ट्रपति डा रामवरण यादवले मानहुँकोटको भ्रमण गरेपछि यस ठाउँको प्रचारका लागि थप टेवा मिलेको उनले बताए ।

मानहुँकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले सो स्थान पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । जाडो मौसम भएको र मानहुँकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै मानहुँकोट पुग्ने गरेको वडाध्यक्ष श्रेष्ठले बताए । ‘दमौली बजारमा दिउँसो १२ बजेसम्म घाम लाग्दैन, तर मानहुँकोटमा बिहान ७ बजे नै घाम लागिसक्छ,’ उनले भने, ‘बिहानै हिमाल पनि खुल्ने भएकाले हिमालको दृश्यावलोकनका लागि पर्यटक मानहुँकोट पुग्ने गरेका छन् ।’

वडाध्यक्ष श्रेष्ठका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वडाले ‘हिमाल हेर्न मानहुँकोट जाऔँ’ अभियान सञ्चालन गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नु सबैको दायित्व भएकाले वडाले पनि यस अभियानलाई सफल पार्न धेरैभन्दा धेरै पर्यटक मानहुँकोटमा भित्र्याउने लक्ष्य राखेको श्रेष्ठले बताए ।

मानहुँकोटमा आन्तरिक पर्यटकको चाप बढ्न थालेपछि स्थानीयवासीले प्रत्येक घरमा होटल खोलिसकेका छन् । मानहुँकोट खाजाघर सञ्चालिका रेवती आलेले बिदाको दिनबाहेक मानहुँकोटमा दैनिक दुई/तीन सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेको जानकारी दिए।

मानहुँकोटबाट दमौली बजार, मादीनदी, साँगेखोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ । मानहुँडाँडा आफैँमा एउटा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) हो । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँहरु प्रष्ट देख्न सकिन्छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ । नगरपालिकाको रु २५ लाख र वडा कार्यालयको रु पाँच लाखको लागतमा रेलिङ निर्माण गरिएको छ ।

मानहुँडाँडा पुग्न बाटो कालोपत्रको काम पनि शुरु भइसकेको छ । सङ्घ सरकारको रु सात करोड बजेटबाट सडक कालोपत्रका लागि नाला निर्माणको काम अन्तिम चरणमा पुगेको र कालोपत्रको काम छिट्टै शुरु हुने बताइएको छ । सोही वडाको अलैचेबाट मानहुँकोटसम्म पुग्ने साढे छ किमी बाटो कालोपत्रका लागि काठमाडौँस्थित रानीबारी कन्स्ट्रक्शन प्रालिले जिम्मा पाएको छ । मानहुँसम्म पुग्ने बाटो कालोपत्र भएपछि पर्यटकको सङ्ख्या अझै वृद्धि हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?