+
+

एसएसबीको अवरोधका कारण रोकिएको सशस्त्रको सुरक्षा पोष्ट निर्माण सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २१ गते १९:०८

२१ माघ, वीरगञ्ज । सिराहामा भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले रोक लगाएको सुरक्षा पोष्ट सशस्त्र प्रहरीले स्थापना गर्न सुरु गरेको छ । नेपाली भूमिमा सशस्त्र प्रहरीले डिउटी पोष्ट राख्न खोज्दा रोक लगाइएको भएपनि दुवै तर्फका सर्भे टोलीको सल्लाह अनुसार सुरक्षा पोष्ट स्थापना गर्न लागिएको हो ।

पहिले नालाको छेउमा पोष्ट राख्न लागिएकोमा झण्डै ७ मिटर वर सारेर पोष्ट बनाउन थालिएको सशस्त्र प्रहरी बल बर्दिबासस्थित छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले जानकारी दिए । ‘पोष्ट निर्माणमा रोक लगाएपछि नापी विभाग, भारततर्फबाट आएको सर्भे टोली र सीमावर्ती सुरक्षा निकायसँग समन्वय गर्‍यौं ।’ डीआइजी अर्यालले भने ‘ उनीहरुकै सल्लाह अनुसार पहिले राख्न खोजिएको स्थान भन्दा केही वर पोष्ट बनाउँदैछौं ।’

भगवानपुर गाउँपालिका–४ ठाढीस्थित दशगजा नजिकै नेपाली भूमिमा सशस्त्र प्रहरीले सुरक्षा पोष्ट निर्माण गर्न लाग्दा गएको शनिबार भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको थियो ।

९ दशमलव १ मिटर दशगजा (नो मेन्स ल्याण्ड)देखि झण्डै २५ मिटरको दुरीमा सशस्त्र प्रहरीले सुरक्षा पोष्ट राख्न खोजेको थियो । एक महिना अघि भारतीय पक्षले निर्माण गर्न सुरु गरेको संरचना नेपालतर्फ पर्ने भन्दै सशस्त्र प्रहरीले रोक लगाएको थियो ।

नेपाली भूमिमा भारतीय संरचना

त्यस क्षेत्रमा २ सय मिटर आसपास सीमा स्तम्भ नभएको र दशगजा क्षेत्रमा बजार रहेका कारण सीमाक्षेत्रलाई लिएर बेला बेलामा विवाद हुने गरेको छ ।

त्यहाँ कार्यरत सशस्त्र प्रहरी निरीक्षक जीवन खतिवडाका अनुसार नो मेन्स लाइनको सेन्टर लाइन पुग्न भारतीय पक्षले निर्माण गरेको विभिन्न संरचना पार गर्नुपर्ने अवस्था छ ।

‘दुवै पक्षले नो मेन्स ल्याण्डको ९.१ मिटर क्षेत्र छोडेर संरचना निर्माण गर्नुपर्ने हो । तर यहाँ नो मेन्स ल्याण्डको सेन्टर लाईन पुग्नका लागि एसएसबीको चेक पोष्ट, भन्सार पोष्ट र कष्टम अफिस पार गर्नुपर्छ,’ उनले भने, ‘२ किलोमिटरमा पिलर नहुँदा सीमा क्षेत्र पहिचान गर्न गाह्रो हुन्छ ।’

सर्भे टोलीले दिएको जानकारीका आधारमा यसअघि सेन्टरलाइन भन्दा २५ मिटर वर पोष्ट राख्न खोजेको तर विवाद भएपछि सबैको सहमतिमा झण्डै ३२ मिटर पर पोष्ट स्थापना गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?