+
+

लाप्राकमा फागुन ७ गते मकै विवाह

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २९ गते १४:५८

२९ माघ, गोरखा । मकै विवाहको तयारीका लागि लाप्राकमा प्रकृति पूजा भएको छ । मनिडाँडामा विधिवत रुपमा पूजा गरिएको स्थानीय मर सिंह गुरुङले बताए । ‘मकै विवाह गर्नु एक हप्ताअघि नै यो पुजा गरिसक्नुपर्छ,’ उनले भने, ‘फागुन ७ गते मकै विवाहको साइत जुरेको छ, त्यसैले अस्ति प्रकृति पूजा गर्‍यौं ।’

प्रकृति पुजालाई डाँडापूजा पनि भनिने उनले बताए । ‘यो मकै लगाउने समय हो, मकै विवाह गरेपछि मकै छरिन्छ, लगाएको बालीमा असिना पानी, जंगली जनावर र चराचुरुङ्गीले नोक्सान नगरोस् भनेर प्रकृति पूजा गर्ने प्रचलन रहेको छ,’ उनले । प्रकृति पूजा गरेमा बाली राम्रो हुने विश्वास स्थानीयमा छ । देवीदेवताको समेत पूजा गरिने गुरुङको भनाइ छ ।

प्रकृति पुजामा जग्गेसमेत लगाइन्छ । लामा र झाँक्रीहरुले विधिवत रुपमा पूजापाठ गर्छन् । गाउूलेहरु सबै स्थानीय मनिडाँडामा जम्मा हुन्छन् । सबैको हातमा ध्वजा टाँगिएको निगालो वास हुन्छ ।

‘त्यही निगालो बाँस लिएर स्थानीयवासी डाँडामा रहेको चौतारा घुम्छन् अनि अघिल्लो बर्ष गाडेको निगालो बाँस निकालेर त्यसको ठाउँमा नयाँ राख्छन्,’ गुरुङले भने । करिब चार घण्टासम्म पूजा चल्ने उनको भनाइ छ । पूजामा मकै, रक्सीलगायतका सामान राखिन्छन् । ‘भूतप्रेतले दु:ख नदिउन् भनेर चौतारा माथिबाट जिउँदो बोका फाल्ने प्रचलन पनि छ,’ उनले भने ।

घडी पला हेरेर मकै विवाहको तिथि मिति तोकिने उनले बताए । मकै विवाह पश्चात पला हेरेर मकै छर्न सुरु गरिने उनको भनाइ छ । प्रकृति पूजा गरेमा खेतिपाती राम्रो हुने र अनिकाल नलाग्ने विश्वास रहेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।

‘पुस्तादेखिको परम्परा हो यो, हरेक वर्ष पूजा हुन्छ, गाउँका मान्छे सबै सहभागी हुन्छन्,’ उनले भने । सिङ्ला र गुम्दामा पनि मकै विवाह गर्ने प्रचलन रहेपनि लाप्राकको मकै विवाहको इतिहास लामो भएको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?