
१ माघ, धनगढी । १६ वर्षको कल्कलाउँदो उमेरमा देश परिवर्तन गर्ने लक्ष्यका साथ काँधमा बन्दुक भिरिन् निर्मला बडालले । त्यसको २० वर्षपछि उनको काँधमा छ सुदुरपश्चिम प्रदेशको उपसभामुखको जिम्मेवारी । बन्दुक खोइ कता छ ।
किशोरावस्थामै जनयुद्धमा किन र कसरी लागिन् त उनी ? वार्तालाप यहीँबाट सुरु भयो ।
सदरमुकाममा उनको ठुलो बुवाको ठूलै घर थियो । त्यही घरमा खुलेको थियो थियो एउटा निजी विद्यालय । सो विद्यालयका शिक्षकहरू माओवादीमा झुकाव राख्थे ।
उलने सुनाइन्, ‘त्यही विद्यालयमा बैठक बस्थे । म पनि कहिलेकाहीँ आउजाउ गर्थेँ । सायद त्यही समयदेखी होला म परिवर्तनको लागि सङ्घर्ष गर्न मानसिक रूपमा तयार भएकी ।’
तत्कालीन अवस्थामा शिक्षाको स्थिति, बिद्यालयको भौतिक पूर्वाधार, शिक्षण प्रक्रियालगायतमा उनी असन्तुष्ट थिइन् । यता माओवादीले बुर्जुवा शिक्षा भन्दै शिक्षा प्रणाली परिवर्तनको कुरा गरिरहेका थिए । त्यसैले उनी माओवादीतर्फ आकर्षित बनिन् ।
दार्चुलाको छान्ना तिंकरी माविको इकाई कमिटीको उपाध्यक्षका रुपमा माओवादीमा आबद्ध भएकी निर्मला त्यसको झन्डै तीन दशकपछि सुदूरपश्चिम प्रदेशको उपसभामुख भएकी छिन् । यो यात्रा सहज भने थिएन ।
उनी सम्झिन्छन्, ‘म माओवादीमा लागेकै बेलामा सङ्कटकाल लाग्यो । जिल्लामा बाक्लै सुरक्षाकर्मी परिचालित भए । त्यसपछि घर बस्ने स्थिति भएन । २०५७ सालको अन्त्य तिर सदरमुकाम छोडेँ ।’
दार्चुलाबाट बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै उनी कैलाली पुगिन् । त्यो बेला राजेन्द्र विष्ट, गोकर्ण जोशी लगायतको टोली पनि सदरमुकामबाट भाग्दै तराइ झरेको थियो ।
महिला सङ्गठनको दार्चुला अध्यक्ष भएपछि निर्मला भूमिगत जीवन बिताउन थालिन् । ‘जीवनमा धेरै पटक म मृत्युको मुखबाट पनि जोगिएको छु’ उनले भनिन्, ‘मृत्यु कति भयानक हुँदो रहेछ भन्ने मैले नजिकबाट नियाल्न पाए ।’
०५८ साल माघको पहिलो साता, तत्कालिन सुन्सेरा गाविसमा ५ जना युवाको घरभित्रै हत्या गरिएको थियो । माओवादी भन्दै हत्या गरिएका तीमध्ये कोही पनि माओवादी नरहेको पाइयो । त्यही घटनाबारे बुझ्न गएकी थिइन् निर्मला । तर, उनी पनि घेरामा परिन् ।
‘मलाई चारै तर्फबाट घेरिहाले,’ त्यो पल सम्झँदै भनिन्, ‘आज अन्तिम दिन हो जस्तो लाग्यो । तर, राति १० बजेदेखी बिहान ४ बजेसम्म भागेर ज्यान जोगाएँ ।’
युद्ध, प्रेम र विवाह
निर्मलाका श्रीमान् लक्ष्मीराज जोशी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सह–इन्चार्ज पनि हुन् । उनी २०६४ सालको संविधानसभामा सदस्य निर्वाचित भएका थिए । उनीहरूले जनवादी विवाह गरेका हुन् ।
‘हाम्रो पार्टीबाटै चिनजानी भयो र विवाह भयो’ निर्मलाले सुनाइन्, ‘२०५९ सालमा बैतडीमा सामान्य ढंगले विवाह भयो ।’
भिन्न–भिन्न जिम्मेवारी हुँदा भेटघाट पातलो थियो । लडाई कहिले टुंगिने ठेगान थिएन । युद्ध नै संसार बनिसकेको थियो । त्यही संसारमा उनीहरुबीच प्रेमको टुसा पलाएको थियो ।
‘क्रान्ति, युद्ध र सङ्घर्षको त्रासदीबीचमा कसरी प्रेम भयो ?’ जिज्ञासा ।
‘प्रस्ताव राखेको एक महिना पछि पार्टीले विवाह गर्ने परम्परा रहेको थियो,’ उनले त्यो सम्झँदै भनिन्, ‘यदि त्यो भन्दा कसैले भिन्न व्यवहार ग¥यो भने त्यसलाई पदबाट मुक्त गरिन्थ्यो । जनताको घरमा ढुङ्गा बोक्न पठाइन्थ्यो, कारबाही हुन्थ्यो । ’
प्रस्ताव पहिले कसले राख्यो ?
‘हामी दुवैले प्रस्ताव राखेनौ । बिनाप्रस्ताव विवाह भएको हो,’ उनले जवाफ दिइन्, ‘लेखराज (भट्ट) र खगराज (भट्ट) दाइहरुले तपाईँहरुको जोडी मिल्छ भनेपछि हामी एक भएका हौँ,’ उनले भनिन् ।
उनीहरुको विवाहमा पार्टीले ४/५ वटा खसी काटेको थियो । जनमुक्ति सेना पनि सहभागी थिए । पुरै ब्रिगेड आएको थियो । त्यही थाहा पाएर आर्मी र प्रहरीले घेरा हाल्यो । दिउँसो विवाह भयो, साँझ भागाभाग । विवाह भएको ४ दिनपछि बल्ल उनीहरुको भेट भयो ।
त्यो बेला बैतडी र दार्चुलाको एउटै जिल्ला कमान्ड थियो माओवादीमा । दार्चुलाको इन्चार्ज उनका श्रीमान थिए । दुवै जिल्लाको इन्चार्ज खगराज भट्ट थिए ।
विवाहभन्दा पहिला आफ्नो ज्यानको मात्रै चिन्ता हुने गरेकामा त्यसपछि दुबैलाई दुवैको चिन्ता हुन थालेको अनुभव छ उनीसँग । युद्धकै क्रममा एक दिन संसार छोड्नु पर्छ भन्ने परेको थियो उनलाई । तर, विवाहपछि भर्खर झाँगिदै गरेको प्रेमले गर्न मर्न डर लाग्न थालेको थियो ।
विवाह पछि लक्ष्मी अछाम गए । त्यहाँ रहँदा ८ महिनासम्म उनीहरुबीच संवाद हुन पाएन । उनले धेरैपल्ट पत्र पठाइन् । तर, जवाफ कहिल्यै समयमा आएन । ‘मलाई त्यसपछि झन् अत्यास लाग्न थाल्यो,’ उनले भनिन्, ‘उहाँ आउनेबित्तिकै हामीले सन्तानको योजना बनायौँ ।’
विवाहअघि निकट रहेका दुवैजना विवाहपछि कार्यक्षेत्र फेरिदा टाढा भए । युद्धमा कतिले श्रीमान् गुमाए, कतिले श्रीमती गुमाए । आँखै अगाडी सबै देखेकी निर्मलालाई एउटै त्रासले सताउन थाल्यो ।
‘म नभए पनि जीवनभर उहाँले मेरो सन्तानमा म देख्नु हुने छ । उहाँलाई गुमाए भने पनि मैले उहाँको याद सन्तानलाई हेरेर मेटाउने छु’ उनले थपिन्, ‘एकले अर्काको अभाव पूर्ति गर्न सन्तान जन्माउने निर्णय लियौं ।’
छोरी त जन्मिइन् तर, हुर्काउन सहज थिएन । छोरीलाई सुरक्षित राख्न सानैदेखी आफन्तको जिम्मा लगाइन् । सन्तानलाई जन्म दिएर पनि आफूसँगै राख्न नपाएकोमा उनलाई साह्रै पीडा छ ।
‘मैले मेरो छोरीलाई बाल्यकालमा धीत मरुन्जेल माया गर्न पाइनँ,’ फेरि उनी भावुक भइन् ।
बाल्यकालमा छोरीलाई स्याहार गर्न नपाएकोमा उनलाई सबै भन्दा बढी ग्लानि महसुस हुन्छ ।
‘मैले सबै पाएँ, सबै जितेँ । तर, छोरीको माया पाउन सकिनँ । छोरीको मन जित्न सकिनँ,’ उनले आँखा टम्म पार्दै भनिन्, ‘छोरीको माया पाउन अहिले पनि म आफैँसँग युद्ध लडिरहेकी छु । यो युद्ध त्यो युद्धभन्दा पनि बढी सङ्घर्षपूर्ण छ ।’
व्यवस्था फेरियो अवस्था उस्तै
सङ्घीय संरचनापछि बनेका प्रदेश सरकार र प्रदेश सभा बने । स्थानीय निकाय स्थानीय सरकारमा परिणत भयो । गाउँ गाउँमा सिंहदरबार छिरेको भनियो । अधिकारका आवाजहरू बुलन्द भए । तर, निर्मलाको मन भने पूर्ण रूपमा सन्तुष्ट भएको छैन ।
‘ठुलो बलिदानबाट पाएको उपलब्धि अझै पूर्ण भएको जस्तो लागेको छैन’ उनी भन्छिन्, ‘सबैका लागि अधिकार अझै पुगेको छैन । अझै धेरै काम गर्न बाँकी छ ।’
फेरिएको राज्यव्यवस्थामा जनताका पूर्ण अधिकार सुनिश्चित हुन नसकेको उनको भनाइ छ । जुन लक्ष्य र उद्देश्यले उनी युद्धमा होमिएकी थिइन् त्यो अनुसारको परिवर्तन अझै हुन नसकेको उनलाई लाग्छ ।
जनताले परिवर्तनको महसुस गर्न नपाएकोमा उनको मन खिन्न छ । तर, विगतको भन्दा ठुलो आयाम र परिवर्तन आएकोमा भने उनी दङ्ग छिन् ।
‘किताबमा त हामीले भनेको जस्तै परिवर्तन आएको छ,’ उनले भनिन्, ‘तर, नागरिकले आभास गर्ने गरी अझै हुन सकेको छैन ।’ एक दिन नागरिकको पनि पूर्ण अधिकार सुनिश्चित हुने कुरामा भने उनी विश्वस्त छिन् ।
‘हुन त म उपसभामुख पनि बनुँला भन्ने सोचेको थिइनँ । सायद मेरो बलिदानको मूल्याङ्कन भएको होला वा त्यही बलिदानीले दिएको उपलब्धि होला,’ उनी भावुक भइन् ।
प्रतिक्रिया 4