
३ फागुन, विराटनगर । मोरङका दुई छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ ।
मोरङमा शनिबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिराहा सुखीपुर नगरपालिका–२ का २४ वर्षीय मोहम्मद ओजिर राइन र सप्तरी चण्डीमलहनिया गाउँपालिका–२ का २८ वर्षीय हरेराम साह रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए । राइन मोटरसाइकल चालक हुन् ।
विराटनगरबाट इटहरी तर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १६०८ नम्बरको मोटरसाइकललाई को १ ख ७३०९ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरु घाइते भएका थिए ।
मोटरसाइकलमा तीन जना सवार थिए । घाइते अवस्थाका तीनै जनालाई कोशी अञ्चल अस्पताल पठाइएको थियो । दुई जनालाई चिकित्सकले मृत घोषित गरेका थिए । सप्तरी रुपनीका १८ वर्षीय धनराज यादवको उपचार भइरहेको छ । उनको खुट्टा भाच्चीएको छ ।
तीन जना सवार तीव्र गतिमा रहेको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा टिपरले ठक्कर दिएको थापाले बताए । मृतक र घाइते तीनै जना विराटनगरको गोल्डेन पार्क कलेजमा ओभरसियर अध्ययन गरिरहेका विद्यार्थी हुन् ।
टिपर र चालक मोरङको ग्रामथान गाउँपालिका–७ का ३५ वर्षीय शशीकुमार थन्दारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुईवटा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
मोरङको सुन्दरहरैचामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा शुक्रबार राति ११ः५५ बजे दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।
को ३७ प १७ नम्बर र तीन जना सवार रहेको को ३४ प ६६०२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सलकपुरका २२ वर्षीय विशाल खत्री र २३ वर्षीय अर्पण गुरागाईंको घटनास्थलमै मृत्यु भएको थियो । दुबै जना मोटरसाइकल चालक हुन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा दुबैले मापसे सेवन गरेको खुलेको प्रहरीले बताएको छ ।
दुर्घटनामा को ३४ प ६६०२ नम्बरको मोटरसाइकलमा सवार सलकपुरका २१ वर्षीय प्रदीप थापा र संखुवासभाको चैनपुर नगरपालिका–३ का २० वर्षीय लक्ष्मण खत्री घाइते छन् । उनीहरुको विराटनगरको विराट नर्सिङ होममा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिए ।
प्रतिक्रिया 4