+
+

वीरगञ्ज ग्याँसको लाइनले तोडेको लकडाउन

सुरेश बिडारी सुरेश बिडारी
२०७६ चैत ११ गते १८:५७

११ चैत, वीरगञ्ज । वीरगञ्ज पानीट्याङ्कीका सुरेशप्रसाद गुप्ता मंगलबार बिहान ८ बजेदेखि लाइनमा थिए । दिउँसो २ बजे भेट्दासम्म उनले ग्याँस पाइरहेका थिएनन् ।

बिहानैदेखि बाबुछोरा पालैपालो मनोज ग्याँसको खाली सिलिण्डर कुरेर बसेको उनले बताए । ‘डिलरले ४० वटा ग्याँस आउँछ भनेको छ ।’ उनले भने ‘बिहान ८ बजेदेखि लाइनमा बसेको अहिलेसम्म ग्यास पाएको छैन ।’

जहिलेदेखि कोरोना भाइरसको फैलन सरकारले नाकाबन्दी र लकडाउन गर्न सक्ने हल्ला फैलियो, त्यहीबेलादेखि ग्याँसको लाइन यसै गरी लागिरहेको उनी बताउँछन् । ‘घरमा ग्याँस सकिएको एक साता भइसक्यो, तर पाइरहेको छैन,’ गुप्ताले भने ।

गुप्तासँगै पानी ट्याङ्कीकै सायरा खातुन बिहान ८ बजेदेखि नै ग्याँसका लागि लाइनमा थिइन् । सुरेश र सायरा मात्रै होइन, मंगलबार मनोज ग्याँसका ६० भन्दा बढी उपभोक्ता ग्याँसका लागि लाइनमा लागेका थिए ।

भिडभाड नहोस् भनेर सरकारले एक साताका लागि लकडाउन गरेको छ । तर, ग्याँस लिनका लागि मानिसहरुको ठूलै भिडभाड देखिन्थ्यो । ग्याँसको लाइनमा बसेका वृद्ध, महिला, बालबालिकाले ग्याँस लैजानका लागि सहयोगी पनि सँगै ल्याएका थिए ।

ग्याँस भित्रिने मुख्य नाका वीरगञ्जमा अन्य ग्याँसभन्दा मनोज ग्याँसको चरम अभाव देखिएको छ ।

वीरगञ्ज भिश्वाका कमल राना दोस्रो दिन लाइनमा बसेका हुन् । सोमबार ग्याँस नआएपछि लाइन बसेर फिर्ता गएको उनी बताउँछन् । ‘हिजो ग्याँस नै आएन, आज आउँछ भनेका छन् ,’ रानाले भने, ‘आज पक्कै पाइन्छ कि भनेर लाइनमा बसेको छु ।’

सधैं भिश्वामै रहेको डिलरबाट ग्याँस लिने गरेको तर उसले उपलब्ध नगराएपछि पानीट्याङ्की आउन बाध्य भएको उनको भनाइ छ । ग्याँस बिक्रेता महासंघ नेपालका उपाध्यक्ष गणेशमान श्रेष्ठले भने ग्याँसको माग अनुसार आपूर्ति नभएका कारण नै अभाव देखिएको बताए । ‘ग्याँस आए त हामी उपभोक्तालाई दिइहाल्छौं नि,’ श्रेष्ठले भने, ‘अन्य डिलरका उपभोक्ता पनि पानीट्याङ्की मै जम्मा भएका छन् । यसले गर्दा भिड बढी देखिएको छ ।’

ग्याँस नपाएको, उपभोग्य वस्तुको मूल्य बढी लिएको जनगुनासो प्रशासनमा पनि आएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

‘हामीसँग अनुगमन टोली तयारी अवस्थामा छ । तर, लकडाउनको पहिलो दिन भएकाले आज बजारमा गएनौं ,’ उनले भने, ‘भोलिदेखि तरकारी, खाद्यान्न पसल लगायत अत्यावश्यक समानका पसलको अनुगमन गर्छौं ।’ कृत्रिम अभाव, कालोबजारी गर्नेलाई प्रशासनले कानून बमोजिम कारबाही गर्ने उनको भनाइ छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?