+
+

सुस्त कन्ट्याक ट्रेसिङ, जनस्वास्थ्यविद् भन्छन् – अमेरिकाले जस्तो खेलाँची नगरौं

गौरव पोखरेल गौरव पोखरेल
२०७६ चैत १४ गते २०:२३

१४ चैत, काठमाडौं । बुधबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटका साथै सामाजिक सञ्जाल भाइबर कम्युनिटीमा अपडेट आयो, ‘नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका तेस्रो व्यक्ति भेटिए ।’

तर, रिपोर्ट पोजेटिभ आएको तेस्रो व्यक्तिबारे न त मन्त्रालयकै प्रवक्ता डा. विकास देवकाटालाई थाहा थियो न सम्बन्धित बिरामीको उपचार गरिरहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक सागरकुमार राजभण्डारीलाई नै ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार धादिङका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मंगलबार साँझै हो । तर, बुधबार मध्याह्नसम्म उपचारमा संलग्न चिकित्सक र मन्त्रालयकै अधिकारीहरु नै बेखबर थिए ।

बुधबार अपरान्ह बल्ल मन्त्रालयले संक्रमण भेटिएको पुष्टि गर्‍यो । तर, यसले कोरोना रोकथाम र उपचारमा खटिएका सरकारी अधिकारीबीच समन्वयको अभाव रहेको देखाउँछ । समन्वय अभावको प्रभाव कोभिड–१९ को संक्रमण देखिएको व्यक्तिको ‘कन्ट्याक ट्रेसिङ’ मा परेको छ ।

सरकारले समन्वय भइरहेको भनेपनि व्यवहार भने निराशाजनक रहेको अधिकारीहरु बताउँछन् । उनीहरु भन्छन्, ‘संक्रमित व्यक्तिको संसर्गमा आएका व्यक्तिहरुको खोजी त परै छाडौं । तेस्रो संक्रमित सवार एयर अरेबियाको जी ९५३७ नम्बरको फ्लाइटमा सवार यात्रुको सूचना पाउनै प्रहरीलाई ४८ घण्टा लाग्यो ।’

अहिले कोरोना संक्रमित व्यक्तिको सम्पर्क केलाउने काम प्रहरी प्रधान कार्यालय, नक्सालले एक जना प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा विशेष टोली नै खटाएको छ । तर, यो टोलीले संक्रमण देखिएको तेस्रो व्यक्तिबारे बिहीबार अबेर मात्र सूचना पायो र शुक्रबार बिहानबाट उनी सवार एयर अरेवियाको विमानमा रहेका यात्रुहरुसँग सम्पर्क गर्न थालिएको छ ।

एक अधिकृत भन्छन्, ‘संक्रमण देखिएको सूचना मिडियाबाटै थाहा पाउने भएपछि काम ढिला हुने भइहाल्यो ।’ उनका अनुसार सम्पर्कपछि निगरानी गर्ने काम भने सम्बन्धित जिल्ला र इलाका प्रहरी कार्यालयका अधिकारीले गरिरहेका छन् ।

उनका अनुसार फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवती सवार विमानमा रहेका सबै यात्रु १५८ सँग अझै सम्पर्क भइसकेको छैन । ‘लकडाउन गर्न अलिक ढिलाई भयो । धेरै जना गाउँतिर पुगिसकेछन्’, उनले सुनाए, ‘यद्यपि, हामी सबै संयन्त्र प्रयोग गरेर निगरानी गर्ने कोसिस गरिरहेका छौं ।’

विमानका १५८ यात्रुमध्ये ३ जना विदेशी छन् । केही नेपालले आफ्नो विवरण गाउँको भरेका छन् तर विभिन्न कारणले मुख्य शहरहरुमा नै अड्किएका छन् । यस्तै, तेस्रा संक्रमितसँगै विमानमा आएकाहरुको विवरण भने बल्ल जिल्ला जिल्लामा पुगेको छ ।

कन्ट्याक ट्रेसिङको महत्व

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना रोकथामको सबैभन्दा प्रभावकारी विधि टेष्ट एण्ड कन्ट्र्याक ट्रेसिङ नै हो ।

टेष्ट अर्थात् परीक्षणमा कुनै पनि व्यक्तिलाई संक्रमण देखियो भने उसँग फ्रन्ट फेसमा भेटिएका व्यक्तिहरुको छिटो पहिचान गरेर उनीहरुलाई आइसोलेट र परीक्षण गर्नुपर्छ । किनकी उनीहरुमा संक्रमण सार्ने सम्भावना हुन्छ । यसरी सम्भावित संक्रमितको परीक्षण गर्ने र संक्रमण देखिएकाहरुको सम्पर्कमा आएकाहरुलाई आइसोलेट र परीक्षण गरेर नै भाइरसले बनाएको ‘चेन ब्रेक’ गर्न सकिन्छ ।

यही  विधि १२ वर्षअघि इबोला भाइरस ‘आउटब्रेक’मा उपयोगी साबित भएको थियो । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कोरोना संक्रमणको रोकथामका लागि पनि विश्वभर ‘कन्ट्याक ट्रेसिङ’ विधि उपयोगी सावित भएको छ ।

‘कन्ट्याक ट्रेसिङ गरेर कोरियाले सबैभन्दा बढी नमुना परीक्षण गरेको छ’, पुनले भने, ‘त्यसैले कोरियाले कोरोना भाइरसलाई नियन्त्रणमा राखेको छ । अमेरिकाले खेलाँची गर्दा अहिले त्यहाँ इटाली र चीनभन्दा धेरै संक्रमितहरु देखा पर्न थालेका छन् ।’

अहिले नेपालमा पनि संक्रमण पहिलो फेजमा छन् । संक्रमण फैलिएको देशहरुबाट आएका नेपालीहरुमा संक्रमण देखिएको छ र स्थानीय र समुदायमा सरेको छैन ।

अहिले अमेरिकाजस्तो हेलचेक्र्याइँ गर्न नहुने भन्दै डा. पुन भन्छन्, ‘नेपालमै बसेका व्यक्तिमा संक्रमण फैलिन नदिन कन्ट्याक ट्रेसिङलाई तीब्र र प्रभावकारी बनाउनुपर्छ ।’ लक्षण नदेखिएकाहरुमा पनि कोरोना संक्रमण भएको हुनसक्ने भन्दै उनले कन्ट्र्याक ट्रेसिङ र टेष्टलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

जति धेरै ट्रेसिङ र परीक्षण हुनसक्यो त्यति धेरै संक्रमित पत्ता लाग्ने र रोग फैलिनबाट रोकिने पुन बताउँछन् । ट्रेसिङपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले तोकिएको नियम पालना गरे नगरेको पनि ख्याल गर्नुपर्छ । निगरानी फितलो हुँदा संक्रमण ‘भुसको आगो’ झैं फैलिन सक्ने उनी बताउँछन् ।

ढिला भइसक्यो, अब लापरबाही नगरौं : दीक्षित

जनस्वास्थ्यविद् समीरमणि दीक्षितका अनुसार जतिबेला कोरोना भाइरसको संक्रमण थोरै व्यक्तिमा हुन्छ, त्यो बेला कन्ट्याक ट्रेसिङ महत्वपूर्ण हुन्छ । सिंगापुर, जापान, कोरियाले सुरुदेखि यो विधि अपनाएकाले यो प्रभावकारी भयो ।

‘कोरोना फैलिसकेको अवस्थामा कन्ट्याक ट्रेसिङ गर्ने कार्य एकदमै अफ्ठ्यारो हुन्छ’, उनले अनलाइनखबरसँग भने, ‘संक्रमण फैलिएका देशहरुबाट आएका धेरै मानिसहरु गाउँ पुगिसकेका छन् । एकजनाले कम्तीमा २०/२५ जनालाई भेटिसके होलान् । त्यसैले सुरुकै हिसाबमा लाखौं परीक्षण हुनुपर्ने हो ।’

त्यसैले अब लापरबाही गर्नु नहुने उनी बताउँछन् । ‘अहिलेबाटै पूर्वाधारलाई बलियो बनाउन लाग्नुपर्ने उनको बुझाई छ । अक्सिजन, भेन्टिलेटरलगायतलाई व्यवस्थित गरौं’, उनी भन्छन्, ‘संक्रमण देखिए आइसोलेसनमा राखिहालौं ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?