Comments Add Comment
कोरोना अस्पताल भर्सेस निमोनियाका बिरामी :

कोरोनाको रिपोर्ट कुर्दाकुर्दै निमोनियाले मृत्यु

कोरोना अस्पतालमा आईसीयू छैन, सुविधायुक्त अस्पतालमा 'इन्ट्री' छैन

१८ चैत, काठमाडौं । बुटवलको सैनामैना नगरपालिका ३७ वर्षीय बाबुराम थापा चैत ६ गते दुबईबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा ल्याण्ड भए । सार्वजनिक यातायात चढेर ७ गते साँझ बुटवल पुगेका उनलाई घर पुगेकै दिन ज्वरो आयो । नमज्जाले खोकी लाग्न थाल्यो । त्यसपछि उनलाई मुर्गीयास्थित पर्रोहा स्वास्थ्य चौकी पुर्‍याइयो ।

त्यहाँका स्वास्थ्यकर्मीले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै सुविधासम्पन्न अस्पताल जान सुझाव दिए । उनी चैत १३ गते साँझ ई-रिक्सा चढेर लुम्बिनी प्रादेशिक अस्पताल पुगे ।

अस्पतालमा ज्वरो स्क्रिनिङ गरेपछि कोरोनाको आशंका गर्दै सिधै बुटबलको धागो कारखाना पठाइदियो । उनी धागो कारखानामा बनाइएको अस्थायी आइसोलेटेड अस्पताल भर्ना भए ।

अस्पताल भर्ना भएको चार दिनपछि उनको मृत्यु भयो ।

मृत्युको कारण अस्पतालले खुलाएन । बरु, प्रेस विज्ञप्ती जारी गर्दै उनको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको जानकारी दियो ।

मृत्यु भएको भोलिपल्ट उनमा कोरोना संक्रमण नभएको रिपोर्ट आयो ।

यो घटना नजिकबाट नियालिरहेका लुम्बिनी प्रादेशिक अस्पतालका एक चिकित्सक भन्छन्, ‘सरकारले बनाएको कोरोना विशेष अस्पताल निमोनियाको बिरामी मार्ने धराप साबित हुनेभयो । निमोनियाको बिरामीलाई कोरोना भन्दै उपचार गर्नुपर्ने अस्पतालबाट अस्थायी अस्पतालमा पठाइएकाले बाबुरामले अकालमा ज्यान गुमाए ।’

कोरोनाको रिपोर्ट ढिलो आउँदा…

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर राजेन्द्र खनाल बाबुरामलाई निमोनियाका लक्षणहरु देखा परेको ‘क्लिनिकल डायग्नोसिस’मा देखिन्छ ।  तर, कोरोना संक्रमण फैलिएको दुबईबाट फर्किएकै कारण उनलाई प्रादेशिक अस्पतालमा भर्ना गरिएन । यही गल्तीका कारण बाबुरामले निमोनियाको आवश्यक उपचार नै पाएनन् ।

निमोनियाका जटिल बिरामीहरूको उपचारका लागि भेण्टिलेटर अत्यावश्यक मानिन्छ । सामान्यतः बिरामीको अवस्था खराब भयो भने आईसीयूमा राख्नुपर्छ । तर, बाबुराम भर्ना भएको कोरोना अस्पतालमा भेण्टिलेटर र सामान्य आइसीयू शैय्यासमेत जडान गरिएको छैन । अवस्था नाजुक भइसक्दा पनि उनलाई उपचार सम्भव हुने आइसीयू भएको अस्पतालमा रिफरसमेत गरिएन ।

सामान्यतया चिकित्सकहरुले आफ्नो अस्पतालको स्रोत र साधनले नभ्याएको अवस्थामा अन्य अस्पतालमा बिरामी रिफर गर्नुपर्छ ।  तर, कोरोना अस्पतालले बाबुरामलाई पाँच किलोमिटर नजिकैको दुरीमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा लगेन । त्यहीँ उनलाई निमोनियाको औषधि चलाइयो । तर, त्यो औषधिले काम गरेन । श्वासप्रश्वासमा झन् समस्या आयो ।

तर, पनि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएन ।

किन त ?

मेसु खनाल भन्छन्, ‘यसमा चिकित्सककोभन्दा म्यानेजमेन्टको दोष भयो । आईसीयू चाहिने भएपछि एम्बुलेन्स बोलायौं । तर, यो केसको बिरामी बोक्न कुनै एम्बुलेन्स तयार भएन । बिरामीका आफन्तलाई बोलाउँदा पनि समयमा अस्पतालमा आएनन् ।’

मेसु खनालकाअनुसार कोरोनाको रिपोर्ट आउन ढिलो भएका कारण पनि उनको उपचार राम्रो भएन । एकदिन अगाडि मात्रै रिपोर्ट आएको भए उनलाई आईएसीयू भएको अस्पतालमा लगेर उपचार गर्न सकिन्थ्यो । रिपोर्ट ढिलो आएका कारण चिकित्सकहरुले ढुक्क मानेर उपचार गर्न सकेनन्।

उनले भने, ‘त्यही अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा लगेको भए अन्य बिरामीको भागाभाग हुन्थ्यो । रिपोर्ट नआइकन आइसीयू भएको अस्पतालमा लान व्यवहारिक रुपमा पनि सम्भव थिएन ।’

प्रयोशालामा नमुना पठाउन किन ढिलो ?

दुबईबाट आएदेखि नै ज्वरो तथा श्वासप्रश्वासको समस्या देखिएका बाबुरामको नेपाल छिरेको १२ औ दिनमा मृत्यु भयो । १३ गते अस्पताल भर्ना भएका उनको १६ गते बिहान मात्र टेकुस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नमुना पठाइयो ।

यसले के प्रष्ट पार्छ भने कोरोनाको आशंकामा विशेष अस्पतालमा भर्ना गरेपनि उनको आवश्यक उपचार गरिएको थिएन ।

मेसु खनालका अनुसार नमुना झिक्ने र ल्याबमा पठाउनका लागि केन्द्रसँग समन्वय गर्नुपर्छ । तर,  अनुकूल समय नमिलेकाले ‘स्वाब’ पठाउन समयमै सकिएन । एकजना मात्रै बिरामीको स्याम्पल पठाउने व्यवस्था नभएकाले पनि ढिलो भयो । उनी भन्छन्, ‘हामीले त उपचार गरेकै हो, अन्य ठाउँबाट समन्वय नगरेपछि कसको के लाग्छ र ?’

बाबुरामको मृत्युको घटना नियालिरहेका लुम्बिनी प्रादेशिक अस्पतालका अर्का एक चिकित्सक भन्छन्, ‘बाबुरामको मृत्युको कारण निमोनियाको उपचार समयमै नभएर हो । कोरोनाको रिपोर्ट समयमै आएको भए या कोरोना विशेष अस्पतालमा आईसीयू सेवा उपलब्ध भएको भए उनलाई बचाउन सकिन्थ्यो ।’

त्यही अस्पतालका अर्का चिकित्सक थप्छन्, ‘अहिले कोरोनाको आशंकामा अस्पतालमा राखिएका र मृत्युपछि रिपोर्ट नेगेटिभ आएका जे-जति मानिसहरुको मृत्यु भएको छ, उनीहरु निमोनियाका कारणले मरेका हुन सक्छन् । उनीहरुलाई आइसीयूसहितको अस्पतालमा उपचार गराएको भए बचाउन सकिन्थ्यो । या त रिपोर्ट चाँडो आएको भए उनीहरुले अकालमा ज्यान गुमाउनु पर्दैनथ्यो ।’

उनी आत्मविश्वासपूर्वक सुनाउँछन्, ‘कोरोनाको आशंकामा सुविधासम्पन्न अस्पतालमा भर्ना भएर रिपोर्ट नआइकन मृत्यु हुनेहरु पनि राम्रो उपचार नपाइकन मरेका हुन् सक्छन् । किनकि, उनीहरुको रिपोर्ट नआइकन ढुक्क भएर चिकित्सकले उपचार गराउन पाउँदैनन् ।’

माथिको घटना प्रतिनिधि घटना मात्रै हो, पछिल्लो समय यही प्रकृतिका घटना दोहोरिरहेका छन् ।

वीरगञ्ज महागनरपालिका वडा नं. २२ जगन्नाथपुरका ३० वर्षीय युवक सन्तोष यादव उच्च ज्वरो आएपछि चैत ९ गते चितवन मेडिकल कलेजमा आए । अस्पताल पुग्दा उनलाई १०२ डिग्रीभन्दा बढी ज्वरो थियो भने लगातार खोकी लागिरहेको थियो । तर, चितवन मेडिकल कलेजले उनलाई साधारण जाँच गरेर कोरोनाको आशंकामा थप उपचारका लागि ‘कोरोना विशेष अस्पताल’ मा रिफर गर्‍यो ।

कोरोना अस्पतालले उनको नाम २० नम्बरमा दर्ता त गर्‍यो । तर, भर्ना गर्न मानेन । सन्तोषलाई ‘कोरोना विशेष अस्पताल’बाट पुनः चितवन मेडिकल कलेजमै फिर्ता ल्याइयो । तर, चितवन मेडिकल कलेजमा केही समय राखेर उनलाई पुनः राति ८.३० बजे फेरि ‘कोरोना विशेष अस्पताल’मै पठाइयो । बल्ल-तल्ल त्यहाँ भर्ना भएका सन्तोषको करिब ३६ घण्टापछि मृत्यु भयो ।

यादवको उपचारमा संग्लग्न चिकित्सकका अनुसार मृत्यु हुनुअघि उनलाई आईसीयू भएको अस्पतालमा रिफर गर्ने सल्लाह भएको थियो । तर, उनमा कोरोना संक्रमण भए/नभएको रिर्पोट ढिला आउँदा बाहिरका अस्पतालमा पठाउन नसकिएको हो ।

माथिका दुई घटनाबाट प्रष्ट हुन्छ, कोरोनाको रिपोर्ट आउन ढिलो भएको र कोरोना विशेष अस्पतालमा आईसीयू नभएकैले निमोनिया र अन्य श्वासप्रश्वासका रोगीहरुले अकालमा ज्यान गुमाएका छन् ।

नाम नबताउने शर्तमा एक क्रिटिकल केयर विशेषज्ञ भन्छन्, ‘सोमबार पाटन र वीर अस्पतालमा मृत्यु भएका तीनजनाको मृत्यु हुनुको कारण उस्तै छ । तर, सामान्यतया त्यस्ता बिरामीलाई बचाउन सकिन्छ । अहिले उनीहरुको मृत्युको कारण कोरोनाको त्रासले चिकित्सकहरुले नहेरेर हो कि भन्ने लाग्छ । किनकी, तीनैजनाको मृत्यु हुदाँ रिपोर्ट नै आएको थिएन ।

निमोनियाको बिरामीलाई क्वारेण्टाइनमा राख्नु घातक

प्रमेससुन्दर श्रेष्ठ, क्रिटिकल केयर विशेषज्ञ, ओम अस्पताल

निमोनियाको बिरामी कोरोना अस्पतालमा राख्दा मृत्यु भएको समाचार मैले पनि हेरिरहेको छु । कोरोना विशेष अस्पतालमा निमोनियाको बिरामी अब्जर्भेसनमा राख्दा हुन्छ । तर, उपचारका लागि सुविधासम्पन्न आईसीयू भएको सेन्टरमा पठाउनुपर्छ ।

अहिले कोरोना विशेष अस्पतालको आइसोलेसन  वा क्वारेण्टाइन मात्र हो । त्यहाँ कडाखालको निमोनियाका लागि चाहिने साधन श्रोत सम्पन्न आइसीयू तथा सघन उपचार विशेषज्ञ र सघन उपचारमा तालिमप्राप्त नर्सहरु हुँदैनन् ।

पछिल्लो अभ्यासमा एकजना निमोनियाको गम्भीर बिरामीका लागि एकजना सघन उपचार नर्ससहितको व्यवस्था गर्नुपर्ने हुन्छ । निमोनियामा नै धेरैखालका किटाणु हुन्छन् । एउटा ब्याक्टेरिया हो, त्यसले वर्षभरी नै निमोनिया गराएको हुन्छ । दीर्घरोग भएका जस्तै दमका बिरामीलाई यो मौसममा बल्झाउने, रक्तचापमा अनियन्त्रित गराइदिने काम इन्फ्लुएन्जाले गर्छ ।

आईसीयूलाई लेबल वान, लेबल टू र लेबल थ्री गरी ३ प्रकारमा वर्गीकरण गरिएको हुन्छ । यही आधारमा सिकिस्त बिरामीको अवस्था पहिचान गरी उपचार सेवा प्रदान गरिन्छ ।

कडाखालको निमोनियाको उपचारमा विशेष किसिमको आईसीयू चाहिन्छ । यस किसिमको आईसीयूमा मल्टिअर्गान सपोर्ट गर्ने सबै सिस्टम भएको हुनाले यसलाई लेबल थ्री आईसीयू पनि भनिन्छ ।

लेवल थ्री आईसीयूको हरेक बेडमा मोनिटर, भेन्टिलेटर, इको, अल्ट्रासाउण्ड, डायलाईसिस मेसिनलगायत सम्पूर्ण सुविधा हुन्छ । लेवल थ्री आईसीयूमा एकजना बिरामी केयरका लागि एकजना नर्स अनिवार्य चाहिन्छ । लेबल थ्रीमा एकजना चिकित्सक चौबिसै घण्टा रहनुपर्छ ।

‘स्थानीय तहहरुले बनाएका आईसीयू संक्रमण सार्ने माध्यम हुन्’

जीवाणु वैज्ञानिक, सुदीप खड्का

कुनै मापदण्ड पूरा नगरी स्थानीय तहहरुले बनाएका वार्डहरु धेरै जोखिमयुक्त हुन्छन् । यस्तो महामारीका बेला आइसोलेसन वा क्वारेण्टाइनमा बस्दा एउटा रुममा एउटा व्यक्ति मात्र बस्नुपर्छ । नत्र एकजना संक्रमित भेटिए भने अरु सबैलाई सर्ने सम्भावना उच्च हुन्छ ।

त्यहाँ खटिने चिकित्सकहरुले व्यक्तिगत सुरक्षा सामाग्री प्रयोग गर्छन् कि गर्दैनन्, त्यसमा पनि विचार पुर्‍याउनुपर्छ । यसरी कुनै मापदण्ड नपुर्‍याई बनाएका वार्डहरुमा कोरोनाको बिरामी राख्नुभन्दा बन्द गर्नु नै ठिक हुन्छ । नत्र त्यस्ता आइसोलेसन वार्डहरु संक्रमण फैलाउने माध्यम बन्न सक्छन् । किनकी त्यहाँ कडा ज्वरो तथा श्वासप्रश्वासको उपचार धान्न सक्ने उपकरण नै हुँदैनन् ।

कोरोना श्वासप्रश्वासको माध्यमबाट सर्ने हुनाले यो भाइरस अत्यन्तै जोखिमपूर्ण हो । क्वारेण्टाइन गर्दा प्रत्येक बिरामीलाई आइसोलेसनमा राख्नुपर्छ । उदाहरणका लागि एउटा क्वारेण्टाइन वार्डमा ५० जनालाई क्वारेण्टाइनमा राखियो भने त्यसमध्ये ४९ जनालाई साधारण रुघाखोकी छ । तर, एकजनालाई कोरोना छ भने कोरोना टेस्टको रिजल्ट आउनुभन्दा अगाडि नै अरुलाई पनि कोरोना सर्छ ।

तर, अहिले स्थानीय तहहरुले बनाएका वार्डहरु एउटै फ्लाटमा धेरै बेडहरु राखेको देख्छु । त्यसो गर्दा बिरामी तथा त्यहाँ खटिने चिकित्सकहरुलाई पनि असर गर्छ ।

आईसीयूको पनि छुट्टै मापदण्ड हुन्छन्, जसलाई पूर्णरुपमा पालना गर्नुपर्छ ।  आइसीयुको पालना मापदण्ड पालना नगरिएकाले नै पछिल्लो समय त्यहाँ भर्ना भएका बिरामीहरुको मृत्यु भएको हो । कि त कोरोना विशेष अस्पतालमा नै सुविधा सम्पन्न आईसीयू राख्नुपर्छ । कि त कोरोनाको रिपोर्ट नआइकन नै श्वासप्रश्वासको समस्या भएका बिरामीलाई सुविधासम्पन्न अस्पतालमा रिफर गर्नुपर्छ । नत्र यस्ता गम्भीर घटना भइरहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

कठैबरा करिष्मा !

Advertisment