१४ फागुन, काठमाडौं । ‘भेदभाव धेरै भो, तर हामी हाम्रो धर्म छोड्दैनौं ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्ष अगाडि रहेका चिकित्सकमध्ये एकले सुनाए, ‘हो, हामी अहिले कोरोना भाइरसविरुद्ध (कोभिड १९) युद्धको बोर्डर लाइनमा छौं । यसको मतलब हामी संक्रमित होइनौं । तर, अहिले घर, परिवार समाजले संक्रमितको जस्तो व्यवहार गर्न थालेका छन् ।’
शुक्रबार टेकुस्थित अस्पतालमा हामी पुग्दा बिहानको साढे ११ बजेको थियो । ज्वरो तथा रुघा लागेका बिरामी अस्पतालमा आउजाउ गरिरहेका थिए । आकस्मिक कक्ष अगाडि गफिइरहेका चिकित्सकहरू भन्दै थिए, ‘चिकित्सकलाई ‘वन वे लक डाउन’ गर्नुपर्ने अवस्था आउन लाग्यो ।’
‘वन वे लक डाउन’ अर्थात् अस्पताल जान पाइयो, तर फर्कन पाइएन । उनीहरूले यसो भन्नुको कारण हो, घर, परिवार र समाजको व्यवहार ।
चिकित्सकका अनुसार घर परिवार तथा समाजले उनीहरू अस्पतालबाट घर फर्किएको देखिसहँदैनन् ।
उनीहरू आफैँ पनि परिवार र समाजको आँखाको तारो बनेर जोखिम मोल्न चाहँदैनन् ।
एक चिकित्सकले निराश भावमा सुनाए, ‘हामी डाक्टरलाई त यस्तो गर्छन्, संक्रमण फैलिएको देशबाट आएकाहरूलाई के गर्लान् ? उनीहरूको अवस्था के होला ?’
उनले आक्रोशित भावमा थपे, ‘यस्तो बेलामा भेदभाव गर्नुहुन्न भन्ने सामान्य ज्ञान पनि छैन हामीसँग ।’
०००
चैत १० गते फ्रान्सबाट दुबई हुँदै नेपाल आएकी १९ वर्षीया किशोरीमा कोरोना संक्रमण भएको पुष्टि भयो । त्यसको दुई दिनपछि दुबईबाट आएका अर्का एक युवक पनि कोरोना संक्रमितको सूचीमा थपिए । दुबै जना अहिले टेकु अस्पतालमा उपचाररत छन् ।
तर, त्यही कारण टेकु अस्पतालमा कार्यरत चिकित्सकलाई दबाब बढ्यो । उनीहरू आफ्नै घर जानसमेत नसक्ने अवस्था आयो ।
केही चिकित्सकका छिमेकीले गाईंगुईं गर्न थाले, ‘टेकु अस्पतालमा काम गर्ने मान्छे यता आउजाउ नगर्नू ।’
केही चिकित्सकले निर्देशन पाए, ‘कि अस्पतालमै बस्नु कि घरमै ।’
केही चिकित्सकका परिवारले भने, ‘यस्तो बेला अस्पतालमै बस्ने कि ?’
परिवार र समाजले ‘रेडलाइट’ देखाउँदा पनि टेकु अस्पतालले भने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अस्पताल परिसरमै बस्ने खाने व्यवस्था मिलाउन सकेको छैन । अस्पताल प्रशासनले चाँडो व्यवस्था मिलाउने मौखिक वचन भने दिएको छ । तर, कहिले भन्ने टुंगो छैन ।
एक चिकित्सक भन्छन्, ‘हामी आफ्नो धर्म छाड्दैनौं तर काम गर्न हाम्रो व्यवस्थापन पनि राम्रो हुनुपर्यो । आफू सुरक्षित नभई अरुलाई कसरी सुरक्षित राख्नू ?’
‘एक हिसाबले उहाँहरू डराउनु पनि स्वाभाविक हो । हाम्रो र समाजकै लागि सतर्कता अपनाउनु भएको हो । तर, यो आवश्यकभन्दा बढी भयो…’ एक चिकित्सक भन्छन्, ‘हामी पनि कसैको श्रीमान वा श्रीमती हौं । कसैको बुबा वा आमा हौं, कसैका छोरा वा छोरी हौं । हामीलाई पनि आफ्नो र परिवारको माया भइहाल्छ नि ।’
उनको कुरामा सहमति जनाउँदै अर्का चिकित्सकले भने, ‘यो महामारीको अवधिभर अस्पतालले नै खान बस्न व्यवस्था गरिदिए भेदभाव सहनु पर्दैनथ्यो ।’
त्यही बेला आकस्मिक कक्ष अगाडि तीनवटा एम्बुलेन्स आएर रोकिए । त्यहाँ रहेका चिकित्सकले एकपछि अर्को एम्बुलेन्समा आएका व्यक्तिसँग कुरा गरे । कुराकानीपछि बिरामी नझारी एम्बुलेन्स फर्कियो ।
त्यसपछि सोधपुछ गर्ने चिकित्सकले भने, ‘यस्तो गर्नुभन्दा त बरु अस्पताल बन्द गरेर बस्नु नि । ट्राभल हिस्ट्री नमिलेका सामान्य बिरामीलाई पनि यहीँ पठाएका छन् । यस्तो मनपरी गर्ने निजी अस्पताललाई सरकारले किन कारबाही गर्दैन ?’
यसो भनिरहँदा उनको अनुहारमा दिक्दारी र आक्रोश दुबै झल्किएको थियो । दिनहुँ यस्तो केसको सामना गर्दा सबै चिकित्सक आजित भइसकेका थिए ।
उनीहरूको साझा निश्कर्ष थियो, ‘निजी अस्पतालको मनोमानी नरोके ढिलो चाँडो दुर्घटना निम्तिनेछ ।’
चिकित्सकका अनुसार निजी अस्पतालले भर्ना नलिएका रुघाखोकीका बिरामी एकै दिनमा दर्जन बढी टेकु अस्पतालमा पुग्ने गर्छन् । तर, कोरोनाको मात्र उपचार हुने भएकाले त्यहाँ पनि भर्ना लिइँदैन र बिरामीले समयमै उपचार नपाउने सम्भावना रहन्छ ।
एक चिकित्सक भन्छन्, ‘कोरोना, कोरोनाभन्दा भन्दै अरु रोगले बिरामीहरू मर्ने खतरा बढ्यो । सरकारले केही गरेन भने गम्भीर दुर्घटना हुनसक्छ ।’

उनले केही क्षण अगाडिको घटना सुनाए—
बिहान १० बजेतिर एकजना बिरामी टेकु अस्पतालको प्राङ्गणमा पुगे ।
उनलाई सामान्य रुघा लागेको थियो, ज्वरो थिएन । तर, खोकी पनि लागिरहेको थियो । उनको नियमित डायलासिस गर्ने पालो आजै थियो । त्यसैले अस्पताल पुगे । तर, अस्पतालले डायलासिस गराउन मानेन ।
कारण सोध्दा भन्यो, ‘टेकु अस्पताल गएर कोरोना नभएको रिपोर्ट लिएर आउनू ।’
त्यसैले उनी टेकु आएका रहेछन् ।
संक्रमण फैलिएको देशबाट आएकाहरूसँग प्रत्यक्ष सम्पर्क पनि छैन । कोरोना भाइरसको लक्षण पनि छैन । तर, अस्पतालले डायलासिस गराएन ।
उनको समस्या बुझेपछि चिकित्सकले र्यालको नमुना (थ्रोट स्वाब) निकालेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाए ।
डायलासिस गर्न नमान्ने अस्पतालको नाम सोध्दा त्यहाँ रहेका चिकित्सकहरु भन्छन्, ‘कुनकुन अस्पतालको नाम मात्रै भन्नु ? तपाईंहरू दिनभर यहीँ बसिराख्नुस् । कस्ता कस्ता बिरामीलाई अस्पतालले कसरी फर्काइदिन्छ भन्ने थाहा पाउनुहुन्छ ।’
त्यसमा थप्दै अर्का चिकित्सक बोले, ‘अमानवीयताको हद पार हुन लागिसक्यो । कोरोना कोरोना भन्दाभन्दै अरु कारणले बिरामी मर्ने भए । यस्तो अमानवीय व्यवहारविरुद्ध को बोल्ने ?’
चिकित्सकका अनुसार अहिले मौसमी फ्लूको समय हो । रुघाखोकी लागेका, ज्वरो आएका बिरामीहरू हरेक वर्ष यो सिजनमा देखिने गर्छन् । सबै ज्वरो आएका बिरामीहरू कोरोना हुँदैन । त्यसैले ट्राभल हिस्ट्री बुझेर सामान्य केस निजी अस्पतालले उपचार गर्न सक्छन् ।
ल्याब भएका अस्पतालले बिरामीलाई भर्ना लिएर नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा पठाउन सक्छन् । त्यसो गर्दा कोरोनाको उपचार गर्ने टेकु अस्पतालमा बिरामीको चाप कम हुन्छ ।
एक चिकित्सक भन्छन्, ‘रुघा र ज्वरो आएको भन्नासाथ सबै बिरामी यता पठाएपछि कसरी सक्नु ?’
अर्का चिकित्सकले थपे, ‘सबै यहीँ आउन थाले भने त यहीँबाटै अरुलाई कोरोना सर्न सक्छ, यहाँ त जस्ता किसिमका बिरामी पनि आउजाउ गरिरहेका हुन्छन् ।’
०००
त्यही बेला आकस्मिक कक्षबाट अस्पतालका ट्रपिकल मेडिसिनका प्रमुख कन्सल्ट्यान्ट तथा प्रवक्ता डा. अनुप बास्तोला बाहिरिए ।
उनले अस्पतालको आइसोलेसनमा चार जना र क्वारेन्टाइनमा पाँच जना बिरामी रहेको उनले बताए । उनका अनुसार अस्पतालमा तीन वटा आईसीयु बेड खाली छ भने १०५ जना चिकित्सक उपचारका लागि तयारी अवस्थामा छन् ।

हामीले उनलाई सोध्यौं, ‘कोरोना भाइरसको संक्रमण देखिएका दुई जनाको अवस्था कस्तो छ ?’
बास्तोलाले भने, ‘ठीक छ । अहिले भर्खरै भेटेर आएँ । औषधि दिइएको छ र केही दिनमा डिस्चार्ज दिन सकिन्छ ।’
हामीले फेरि सोध्यौं, ‘नेपालमा कोरोनाको फैलावटबारे चिकित्सकको कस्तो अनुमान छ त ?’
डा. बास्तोला भन्छन्, ‘काठमाडौं भन्दा गाउँ र विशेष गरी तराईका जिल्लाहरूको अवस्था थाहा भएको भए अनुमान गर्न सकिन्थ्यो । अहिलेको मुख्य डर भारत र त्यसमा पनि बिहारबाट फर्किएकाहरूको हो । उनीहरू ठीक भए भने अरु त्यति धेरै डर हुन्न ।’
उनकाअनुसार पछिल्लो पटक नेपाल प्रवेश गर्नेहरूको गतिविधिले महामारी फैलने वा नफैलने निर्धारण हुन्छ । नेपाल आएकाहरूमध्ये कोही संक्रमित भएको भए डर मान्नुपर्ने उनको कथन छ । उनीहरूको पहिचान गरेर क्वारेन्टाइनमा राख्न सके महामारीलाई टार्न सकिने भन्दै उनले भने, ‘मुख्य डर बिहारबाट फर्केकाहरूको हो ।’
त्यसपछि हामीले अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीलाई भेट्यौं । निर्देशक राजभण्डारीले अस्पतालले गरिरहेको काम बताए ।
बिरामीहरूको अवस्था र स्वास्थ्यकर्मीको व्यवस्थापनबारे छलफल चलिरहेको भन्दै उनले भने, ‘यही अवस्था रहिरह्यो भने हाम्रो जनशक्ति र उपकरणहरूले धान्न सक्छ, बिरामीको चाप बढ्दै गयो भने त्यसको लागि विकल्पमा अरु अस्पतालहरू पनि छन् ।’
हामी राजभण्डारीको कार्यकक्षबाट निस्किँदा आकस्मिक कक्ष अगाडि चिकित्सकहरू पहिलेकै अवस्थामा थिए । कुराकानी व्यवस्थापनकै चलिरहेको थियो । हामीले बिदा लिँदै गर्दा एक चिकित्सकले भने, ‘’हाम्रो अहिलेको मुख्य चिन्ता र चासो भनेकै तीन वटा विषयमा छन् । त्यसका लागि सरकारले चाँडोभन्दा चाँडो एक्सन लिइयोस् ।’
ती मुख्य चिन्ता अर्थात् स्वास्थ्यकर्मीहरूको अस्पतालमै व्यवस्थापन, निजी अस्पतालको मनोमानीविरुद्ध कारवाही र पछिल्लो दिनमा हवाई तथा सीमा नाका भएर भित्रिएकाहरूको पहिचान गरेर क्वारेन्टाइनमा राख्नु हो ।
यति गर्न सके सम्भावित महामारीको खतरा कम हुने उनीहरूको तर्क छ ।
तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4