१२ चैत, काठमाडौं । बुधबार दिउँसो साढे १२ बजे नेपालमा तेस्रो व्यक्तिलाई कोरोना संक्रमण भएको प्रारम्भिक खबर बाहिरियो ।
‘ती व्यक्ति विदेशबाट यात्रा गरेका थिए या थिएनन्, कहिले अस्पताल भर्ना भएका थिए ? या नेपालकै थिए ? खबरमा विस्तृत जानकारी थिएन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको सुचना अधिकारी राजेश कुमार गुप्ताले ‘थप एक व्यक्तिमा कोरोना संक्रमण भएको’ जानकारी दिएका आधारमा खबर बाहिरिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेवसाइटमा पनि संक्रमितको सङ्ख्या २ बाट ३ बनाइएको थियो । तर थप विवरण दिइएको थिएन ।
तेस्रो व्यक्तिमा कोरोना देखिएको खबर बाहिरिनासाथ हामीले ती व्यक्ति उपचाररत रहेको शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालका निर्देशक सागरकुमार भण्डारीलाई फोन गरेर सोध्यौं, ‘संक्रमण पुष्टि भएका बिरामी विदेश यात्रा गरेर आएका थिए या नेपालमै बसेका थिए ?’
उनले उल्टै सोधे— ‘…तेस्रो संक्रमित भेटिइसके र ?’
हामीले उनलाई हामीसँग भएको सूचना ब्रिफिङ गर्यौं । ब्रिफिङ सुनेपछि उनले भने, ‘मलाई केही जानकारी आएको छैन, बुझेर खबर गर्छु ।’
त्यसपछि स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटालाई टेकु अस्पतालका निर्देशकलाई सोधेकै प्रश्न सोध्यौं । प्रवक्ता देवकोटाले भने, ‘जानकारी नै छैन, बुझेर खबर गर्छु।’
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तेस्रो व्यक्तिमा संक्रमण पुष्टि भएको बताए पनि संक्रमित व्यक्ति कहाँबाट आएका थिए भन्ने बताएको थिएन । टेकु अस्पतालमा उपचाररत भएकाले यो प्रश्नको जवाफ टेकु अस्पतालले दिनुपर्ने थियो । तर, अस्पतालका निर्देशकलाई नै कुनै जानकारी नै थिएन।
त्यसपछि हामी सिधै टेकु अस्पताल पुग्यौं ।
टेकु अस्पतालमा पुग्दा इमर्जेन्सी कक्ष अगाडि केही चिकित्सकहरु कुरा गरिरहेका थिए । साधारण व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) मा देखिएका उनीहरु तनावमा देखिन्थे । हामीलाई देख्नासाथ एक चिकित्सकले सुनाए, ‘यो अस्पतालमा काम गर्नु कि नगर्नुजस्तो भइसक्यो । ’
अस्पतालमा भएको सीमित स्रोत र साधनमा ज्यान जोखिममा राखेर काम गरिरहेका चिकित्सकहरु एकाएक भड्किएको सुनेपछि अनौठो लाग्यो ।
सोध्यौं, ‘किन, के भयो ?’
एक चिकित्सकले सुनाए, ‘संक्रमणको आशंकामा आएकाहरुलाई हामी जाँच गर्छौं । हामी नै स्याम्पल कलेक्सन गर्छौं । अनि हामी नै उपचार गर्छौं । तर, उनीहरुमा संक्रमण भए नभएको मिडियाबाट थाहा पाउँछौं । यसो हुँदा त हामी असुरक्षित भयौं नि ।’
चिकित्सकले थपे, ‘हामी संक्रमितका आफन्तसँग कुरा गरिरहेका हुन्छौं । भेटिरहेका हुन्छौं । तर, संक्रमित को हो भन्ने थाहा नपाउँदा हामी जुनसुकै बेला संक्रमित हुन सक्छौं नि ।’
ती चिकित्सकको माग थियो, ‘ल्याबको रिपोर्ट तुरुन्त उपचार गर्ने चिकित्सकलाई थाहा भयो भने धेरै कुरामा सतर्कता अपनाउन सकिन्छ । बिरामीको उपचार र केयरमा राम्रो हुनुका साथै चिकित्सकहरु पनि सचेत हुन सक्छन् ।’
अर्का चिकित्सक बम्किए, ‘रिपोर्ट आएको २४ घण्टाभन्दा बढी बितिसक्दा पनि हामीले मिडियाबाट खबर थाहा पाउनुपर्छ, त्यही पनि अझैसम्म कुन बिरामी संक्रमित हो, थाहा छैन, कसरी उपचार गर्ने ? हामीलाई रिपोर्ट नदिनेहरुले आशंकामा राखेका बिरामी र संक्रमित भइसकेका बिरामीको उपचार नै फरक हुन्छ भन्ने थाहा पाउनुपर्छ कि पर्दैन ?’
ती चिकित्सकका अनुसार संक्रमण भएको जति छिटो थाहा पायो, त्यति नै बचाउन सक्ने सम्भावना धेरै हुन्छ । आशंकित बिरामी र संक्रमित बिरामीको उपचार प्रकिया छुट्टै हुने भएकाले उपचार गर्ने चिकित्सकले छिटोभन्दा छिटो बिरामीको रिपोर्ट थाहा पाउनुपर्छ ।
ती चिकित्सकका अनुसार पछिल्ला २ वटै केसमा संक्रमितको रिपोर्ट उनीहरुले २४ घण्टाभन्दा ढिलो थाहा पाए । यस्तो हुँदा उपचारमा गम्भीर समस्या आउन सक्छ ।
अर्का चिकित्सकले सुनाए, ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको लापरवाहीले गर्दा हामीलाई डर बढ्ने भो, रिपोर्ट आएको २४ घण्टा बितिसक्दा पनि आफूले उपचार गरेको बिरामी को हो भन्ने थाहा पाएनौं भने त कसरी उपचारमा खटिनु ?’
अर्का चिकित्सकले थपे, ‘रिपोर्ट त आयो, तर संक्रमित व्यक्तिलाई आफू संक्रमित भएको अझै थाहा छैन ।’
उनको कुरामा सही थाप्दै अर्का चिकित्सकले भने, ‘यही अवस्था हो भने यहाँ काम गर्न सक्ने अवस्था रहन्न ।’
चिकित्सकहरु एकपछि अर्को गर्दै पीडा पोखिरहेका थिए ।
आकस्मिक कक्षको उपचारमा खटिएका चिकित्सकहरुको कुरा सुन्दा लाग्थ्यो, उनीहरु डेञ्जर जोनमा बसेर काम गरिरहेका छन् । सानो सूचना समयमा नपाउँदा संक्रमित हुने खतरा व्यापक छ । त्यसैगरी बिरामीको राम्रो उपचार नपाएर मृत्यु हुने सम्भावना पनि उत्तिकै छ । तर, सहज रुपमा पाउनुपर्ने सूचना उनीहरुले पाएका छैनन् ।
‘किन त ?’
यही प्रश्न सोध्न हामी अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीको कार्यकक्षमा पुग्यौं ।
हामी पुग्दा भण्डारीको फोनको रिङटोन बारम्बार बजिरहेको थियो । एकपछि अर्को फोन उठाउँदै उनी भन्दै थिए, ‘संक्रमित व्यक्ति कहाँबाट आयो, को हो, कहिले भर्ना भयो ? केही जानकारी छैन, हाम्रै अस्पतालमा उपचाररत छ । तर, उपचाररतमध्ये को हो, अहिलेसम्म थाहा छैन, त्यही भएर चिकित्सकहरु काम गर्न सक्दैनौं भन्ने अवस्थामा पुगिसके ।’
फोन राख्नसाथ उनले दिक्क मान्दै सुनाए, ‘मलाई अस्पतालका कर्मचारीहरुले मार्न लागिसके । एकछिन अघि त सबै कर्मचारी आएर मेरो कार्यकक्ष नै घेरे नि । मिडियामा समाचार बाहिरिँदासम्म हामीलाई संक्रमित को हो भन्ने थाहा छैन, कसैले केही समन्वय नै गरेनन् ।’
हामीले सोध्यौं, ‘किन यस्तो भयो, यो त गम्भीर लापरवाही भएन र ?’
उनी जंगिए, ‘किन यस्तो गरे, प्रयोगशालामै गएर बुझ्नुस् । ल्याबको मान्छेले फलानोलाई यस्तो भयो, तिलानोलाई यस्तो भयो भनेर भन्छन् । तर, त्यो उनीहरुको क्षेत्राधिकारभित्र पर्दैन । बिरामीका बारेमा सबै जानकारी उपचार गर्नेले भन्ने हो, ल्याबकाले होइन । ल्याबको काम हामीलाई रिपोर्ट दिने हो तर, दिएनन्, जसका कारण हाम्रो अस्पतालमा काम गर्ने साथीहरुको मनोबल गिरेको छ । संक्रमण हुने त्रास बढेको छ । बिरामीले राम्रो उपचार पाउने सम्भावना टर्दै गएको छ ।’
‘तपाईंहरुसँग समन्वय नगर्नुको पनि कारण त होला नि ?’
‘होलान्, उनीहरुका आफ्नै बनावटी कारण । मन्त्रालयले यता नभन्न निर्देशन दिएको हुन पनि सक्छ । उनीहरुले आफैं जस लिनका लागि पनि मिडियाबाजी गरेका हुन सक्छन् । अब उनीहरुलाई आफैं नमूना संकलन गर, आफैं उपचार गर, आफैं बिरामीलाई आइसोलेसनमा राख’ भन्नुपर्ने अवस्था आइसक्यो । यस्तै तरिकाले त हाम्रो अस्पतालका चिकित्सकले काम गर्न सक्दै सक्दैनन् नि । हेप्नुको पनि सीमा हुन्छ नि..।’
उनी चुप हुने पक्षमा देखिएनन्, भने– ‘अस्तिको केसमा पनि बिरामी हाम्रो अस्पतालमा हुदाँहुदै रिपोर्ट हामीलाई दिइएन । अहिले पनि रिपोर्ट हामीसँग आएन । हामीलाई रिस्क त छ नै, सूचना नहुँदा झन् धेरै रिस्क हुने भो । यही तरिका हो भने हाम्रो अस्पतालका चिकित्सकले काम गर्न सक्दैनन् ।’
यति भनेर उनले आफ्नो कुरा सके । र, मिटिङ छ भन्दै हामीलाई बिदा दिए ।
करिब पौने ५ बजे अस्पतालका निर्देशक भण्डारीलाई हामीले फोन गर्यौं । त्यतिबेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले पनि संक्रमित व्यक्तिका बारेमा बताइसकेका थिए । फोन गर्दा टेकु अस्पतालका निर्देशक भण्डारीले भने, ‘स्वास्थ्यमन्त्रीको प्रेस ब्रिफिङबाट बल्ल संक्रमितको को हो, थाहा भयो । अब चिकित्सकहरु ‘हाई अलर्ट’मा बस्नुहुन्छ । संक्रमितको उपचार हुन्छ ।’
प्रवक्ता नबन्न स्वास्थ्यमन्त्रीको चेतावनी
मन्त्रालयले सूचना लुकाएको टेकु अस्पतालका चिकित्सकहरुले आरोप लगाइरहँदा बुधबार अपरान्ह प्रेस ब्रिफिङमा उपस्थित स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने ‘युद्धमा चेन अफ कमाण्ड अनुसार चल्नुपर्ने’ बताए ।
मन्त्री ढकालले भने, ‘यो महामारीको विरुद्ध हामी एउटा युद्धमा उभिएका छौं र यो युद्धमा चेन अफ कमाण्ड होस् ।’
स्वास्थ्य मन्त्री ढकालले कसैको नाम नलिई प्रवक्ता नबन्न चेतावनीसमेत दिए । उनले भने, ‘सर्वत्र प्रवक्ताहरु नभेटिउन् ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4