+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

५० वर्षपछि येँगा हिटीमा खस्यो पानी, अमेरिकाको एएफसीपी कोषद्वारा जीर्णोद्वार

‘सांस्कृतिक सुरक्षा र उत्थानशिलताले दुवै मुलुकको साझा भविष्यलाई बलियो बनाउनेछ’ कार्यवाहक राजदूत मिक्सले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २० गते २२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरको वडा नम्बर २१ यंगालको येँगा हिटीमा ५० वर्षपछि पहिलोपटक पानी खसेको छ।
  • अमेरिकी दूतावासले वर्ल्ड मोनुमेन्ट्स फन्ड र चिभा चैत्य अर्गनाइजेसनसँगको साझेदारीमा येँगा हिटीको जीर्णोद्धार गरेको छ।
  • कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्सले सांस्कृतिक संरक्षण र आर्थिक वृद्धिका लागि अमेरिकी सहयोग निरन्तर रहने बताए।

काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल शनिबार खुसी थिइन् । उनको जन्मथलो पर्ने महानगरको वडा नम्बर २१ स्थित यंगालको येँगा हिटी (ढुंगेधारा) मा पहिलोपटक कलकल पानी आएको थियो ।

पानी लिन ग्यालिन बोकेर जानुपर्ने बाल्यकाल उनले सम्झिइन् । उनलाई अहिले पनि याद छ, सानो हुँदा यंगालले पानीको समस्या निकै झेलेको थियो । बाटो हिँड्दा पनि उनले येँगा हिटी सँधै बन्द रहेको र बेवास्ता गरिएको स्थान जस्तो देखेकी थिइन् ।

शनिबार पहिलोपटक घर नजिकैको हिटीमा खसेको पानी देख्दा उनले फोटो खिचाइन् र बाल्यकाल स्मरण गरिन् । उनीजस्तै, यंगालका स्थानीय बासिन्दा हिटीमा पानी आउन थालेपछि औधी खुसी छन् ।

लिच्छविकालिन उक्त हिटीमा ५० वर्षपछि पहिलोपटक पानी खसेको छ । वरपरका अग्ला कंक्रिटको घरले घेरिएको हिटीका ३ वटा धारामा अहिले पानी आइरहेको छ । लामो समयपछि पुनर्जीवन पाएको उक्त हिटीको पुननिर्माण सम्पन्न खुसी भएको खुसीमा शनिबार यंगालमा उत्सवको माहोल थियो ।

काठमाडौँस्थित अमेरिकी दूतावासले वर्ल्ड मोनुमेन्ट्स फन्ड र चिभा चैत्य अर्गनाइजेसनसँगको साझेदारीमा उक्त हिटीको जिर्णोद्धार गरेको थियो । अमेरिकाको राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी) को अनुदानमार्फत गरिएको सहयोगमा यो परियोजना सफल भएको हो ।

उपमेयर डंगोलसहित स्थानीय अगुवा र सरकारी अधिकारीसँग सहभागी हुँदै कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्सले ५० वर्षमा पहिलोपटक हिटीमा पानी खस्नु सार्थक उपलब्धि रहेको बताए ।

सो अवसरमा बोल्दै मिक्सले नेपालको सांस्कृतिक सम्पदाको सुरक्षा गर्न, पर्यटन क्षेत्रमा नेपाली तथा अमेरिकी आगन्तुक तथा व्यवसायलाई लाभ पुर्‍याउने आर्थिक वृद्धिलाई बढवा दिन अमेरिकी सहयोग निरन्तर रहने बताए ।

‘सांस्कृतिक सुरक्षा र उत्थानशिलताले दुवै मुलुकको साझा भविष्यलाई बलियो बनाउनेछ’ कार्यवाहक राजदूत मिक्सले भने । उनले जीर्णोद्धार गरिएको उक्त परियोजनालाई सम्भव बनाएका साझेदारलाई धन्यवाद ज्ञापन गरे ।

“येँगा हिटीको जीर्णोद्धार केवल एउटा सम्पदा स्थलको मर्मत कार्य मात्र नभई १५ सय वर्षभन्दा अघिदेखि यो समुदाय र नेपाल राष्ट्रकै सेवा गर्दै आएको एउटा जीवन्त जलस्रोत प्रणालीको नवीकरण पनि हो’ उनले भने, ‘अमेरिका र नेपालबिचको मजबुत र चिरस्थायी साझेदारीप्रति अमेरिकी दूतावास प्रतिबद्ध रहेको छ । हामी सांस्कृतिक संरक्षण, सामुदायिक उत्थानशीलता र दुवै देशको समृद्ध भविष्यलाई सहयोग पुर्‍याउन जारी राख्नेछौं ।’

सो जीर्णोद्धार कार्य काठमाडौँ उपत्यकाका हिटी र जलसम्पदा पुनस्र्थापना परियोजना” को एक हिस्सा रहेको दूतावासले जनाएको छ । यो प्रोजेक्टको लागि २ लाख ७५ हजार अमेरिकी डलर बराबरको एएफसीपी अनुदान सहयोग प्रदान गरिएको थियो ।

उक्त परियोजनाले काठमाडौँ उपत्यकामा कम्तीमा ३ वटा परम्परागत हिटीहरूको जीर्णोद्धार गर्ने, विद्यार्थी र सम्पदा पेसाकर्मीलाई व्यावहारिक तालिमका अवसर प्रदान गर्ने र दीर्घकालीन संरक्षण योजना निर्माणमा मद्दत गर्ने लक्ष्य लिएको जनाइएको छ ।

येँगा हिटी एक वर्ष लामो मिहिन अध्ययन, अभिलेखीकरण र जीर्णोद्धारपश्चात् सम्पन्न गरिएको पहिलो स्थल हो । हिटीको जीर्णोद्धार येँगा क्लब, चिभा चैत्य अर्गनाइजेसन, पुरातत्व विभाग र स्थानीय तथा प्रदेश सरकारहरूसँगको बलियो सहकार्यमार्फत भएको हो ।

सन् २००३ यता, एएफसीपीमार्फत अमेरिकी सरकारले नेपालमा २८ वटा सांस्कृतिक संरक्षण परियोजनामा झन्डै ४६ लाख अमेरिकी डलरको सहयोग गरेको छ, जसले नेपाललाई एएफसीपी कार्यक्रमको सबैभन्दा सक्रिय र महत्ववपूर्ण साझेदार मध्ये एक बनाएको पनि छ ।

उक्त कार्यक्रममा काठमाडौं महानगर उपप्रमुख डंगोलले काठमाडौंमा रहेका यस्ता धेरै हिटीको पुनस्र्थापना जरुरी रहेको बताइन् । नयाँ पुस्तामा हिटी पुनस्र्थापनाको चेतना जरुरी रहेको बताउँदै उनले महानगरले मूर्त र अमूर्त सम्पदालाई संरक्षण गर्ने कार्यको थालनी गरेको बताइन् ।

‘सम्पदालाई जीवित तुल्याउन स्थानीय समुदाय जागरुक हुनु जरुरी छ । त्यसपछि दिगो विकास हुनसक्छ’ उनले भनिन् ।

पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले सम्पदामैत्री संरचना बनाउन जरुरी रहेको बताइन् । येंगा हिटीको उत्खनन गर्दा त्यहाँ लिच्छविकालिन र विभिन्न समय दर्शाउने शिलालेख, पौवाका भित्ता, भूमिगत पानी र पाइप भेटिएको उनले बताइन् ।

‘सम्पदा संरक्षण सबैको दायित्व हो । संरचना बनाउँदा पनि इकोलोजी, भौगर्भिक स्थिती र परम्परागत सीपलाई मिलाएर गर्नुपर्छ’ उनले भनिन् । लिच्छविकालिन उक्त हिटीलाई अझै पुननिर्माण गर्न बाँकी रहेको बताउँदै यसको लागि आफूहरूले काम गरिरहेको बताइन् ।

सो अवसरमा हिटी सम्बन्धी पुस्तक सार्वजनिक गरियो । साथै, २० जना कलाकारले तयार पारेका हिटी, पानीसँगको सम्बन्ध र कला दर्शाउने पेन्टिङ कला प्रदर्शनीमा राखिएको थियो, जसलाई अतिथिले अवलोकन पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?