२० मंसिर, काठमाडौं । अफगानिस्तानले पाकिस्तानी सेनाको आक्रमणमा परी चार अफगान नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।
सीमा क्षेत्रमा पर्ने अफगान शहर स्पिन बोल्दकका चार नागरिकको पाकिस्तानी सेनाको आक्रमणमा परी मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका हुन् ।
यसअघि कन्धार शहरको एक अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले स्थानीय अस्पतालमा चार जनाको शव ल्याइएको समाचारमा उल्लेख गरेको थियो ।
अफगान र पाकिस्तान दुवैले शुक्रबार राति गोलीबारी भएको पुष्टि गरेका थिए । चार घण्टासम्म चलेको संघर्षको सुरूवातका लागि दुवै मुलुकले एक–अर्कामाथि दोष लगाएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मुशर्रफ जैदीले तालिबानले बिना कुनै कारण गोलीबारी गरेको आरोप लएका छन् ।
तालिबानका एक प्रवक्ताले पनि पाकिस्तानले आक्रमण गरेपछि आफूहरू जवाफ दिन बाध्य भएको प्रतिक्रिया दिएका छन् ।
पछिल्लो झडपका कारण पाकिस्तानका तर्फ भएको क्षतिको कुनै विवरण प्राप्त हुन सकेको छैन । विगत केही महिनायता दुवै देशबीच पटक–पटक छिटपुट लडाईं हुँदै आएको छ ।
यसबीचमा अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानमाथि देशभित्र प्रवेश गरेर हवाई आक्रमण गरेको पनि आरोप लगाएका थियो ।
प्रतिक्रिया 4