Comments Add Comment

नेपालमा तेस्रो व्यक्तिमा कोरोना संक्रमण भेटियो

१२ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष हुन् । उनी चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए ।

त्यसयता काठमाडौंकै होटलमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए । मंगलबार नै उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

बुधबार पोजेटिभ रिपोर्ट आयो । उनी बसेको होटल र सवार विमानमा यात्रा गरेकाहरुको ट्रेसिङ गर्ने काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पहिलो संक्रमण चीनबाट आएका एक विद्यार्थीमा माघ ९ गते देखिएको थियो भने दोस्रो संक्रमण फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीमा १० चैतमा देखियो । लगतै सरकारले लकउडानको घोषणा गरेको छ ।

तर संक्रमण देखिएकी युवतीसँगै विमानमा रहेकाहरुको ट्रेसिङ सक्दा नसक्दै विदेशबाटै आएका अर्को व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment