+
एनपीएल २०२६ :

नेपाली क्रिकेटमा डीआरएसको इन्ट्री, सुदूरमाथि लुम्बिनी लायन्सको गर्जन

२०८३ कात्तिक  ९ गते २२:१३ २०८३ कात्तिक ९ गते २२:१३

बलरहरू चम्किएपछि साविक विजेता लुम्बिनी लायन्सले दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्समाथि ७ विकेटको शानदार जितसहित उपाधि रक्षा अभियानमा पनि खरो उत्रियो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको तेस्रो सिजन सोमबार डीआरएस प्रविधिसहित सुरु हुँदा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो।
  • उद्घाटन खेलमा डीआरएस पहिलो पटक दोस्रो ओभरमै प्रयोग भयो र रिभ्युपछि दुई निर्णय बदलिएका थिए।
  • लुम्बिनी ८७ रनको लक्ष्य १० ओभरमै भेट्यो, जसमा डार्सी शर्टले ४० र आसिफ शेखले ३२ रन बनाए।

९ कात्तिक, काठमाडौं । नेपाली क्रिकेटमा सोमबार एउटा नयाँ प्रविधि आधिकारिक रूपमा भित्रियो । आईसीसी विश्वकप देखि अन्तर्राष्ट्रिय क्रिकेटमा बारम्बार प्रयोग हुँदै आएको डिसिजन रिभ्यु सिस्टम अर्थात डीआरएस प्रविधिको प्रयोगसँगै नेपाली खेलकुदको ‘बिगेस्ट इभेन्ट’ को रूपमा रहेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको पनि भव्यताका साथ सुरुवात भयो ।

बलरहरू चम्किएपछि साविक विजेता लुम्बिनी लायन्सले दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्समाथि ७ विकेटको शानदार जितसहित उपाधि रक्षा अभियानमा पनि खरो उत्रियो ।

प्रधानमन्त्री बालेन्द्र शाहले म्याच रेफ्रीलाई क्रिकेट बल दिएर सुरु भएको एनपीएलको पहिलो खेल सकिँदा लुम्बिनीको जितसँगै मैदानमा आतिसबाजी पनि गरियो ।

उद्घाटन खेलमा लुम्बिनी जितसहित एनपीएलको सुरुवात नतिजाका हिसाबले मुख्य रहेपनि आजको आकर्षणको रूपमा प्रधानमन्त्रीको उपस्थिति र डीआरएसको प्रयोगदेखि नेपाली क्रिकेट फ्यानहरूको बाक्लो उपस्थिति थियो ।

साथै विश्वकपका चर्चित खेलाडी शेरफान रदरफोर्ड, निरोशन डिक्वेला, डार्शी शर्ट जस्ता खेलाडीको प्रदर्शन आफ्नै मैदानअघि प्रत्यक्ष हेर्न पाउनु नेपाली क्रिकेट र यसका समर्थकहरूका लागि पनि विशेष रह्यो ।

नेपालीहरूको महान चाड दशैँको समापनसँगै अर्को चाडको रूपमा एनपीएल अर्थात ‘फेस्टिभल अफ हिमालयज’ को रूपमा क्रिकेटको महाउत्सव सुरु भएको छ ।

डीआरएसको इन्ट्री

२०८३ कात्तिक ९ गते नेपाली क्रिकेटका लागि सधैं सम्झनलायक इतिहासको रूपमा रहनेछ ।

एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को आधिकारिक मान्यता पाएपछि पहिलो पटक डीआरएस प्रविधिको प्रयोग पनि यसै एनपीएलबाट सुरु भयो । त्यसमा पनि उद्घाटन खेलको पहिलो इनिङ्सको दोस्रो ओभरमै पहिलो पटक डीआरएसको प्रयोग भयो ।

दोस्रो ओभरको छैटौं बलमा लुम्बिनीका बलर शेर मल्लले सूदूरपश्चिमका अलराउण्डर सैफ जैबलाई बलिङ गर्दा पहिलो पटक लुम्बिनीले यो प्रतिविधको प्रयोग गर्‍यो ।

शेरले आउटको अपिल गर्दा पनि अम्पायरले नदिएपछि उनले रिभ्यु मागे । त्यसमा कप्तान रोहित पौडेलले पनि साथ दिए र पहिलो पटक डीआरएसको प्रयोग भयो । रिभ्युपछि सैफ जैब नटआउट नै रहेको फैसला भयो । लुम्बिनीले रिभ्यु पनि गुमायो ।

त्यसपछि पनि लुम्बिनी र सुदूरपश्चिम दुवै टिमले डीआरएसको प्रयोग गरेका थिए । तर दुई पटक अम्पायरले गरेको सुरुवाती निर्णय रिभ्युपछि परिवर्तन भयो ।

चौथो ओभरको चौथो बलमा शेर मल्लले नै बलिङ गर्दा सुदूरपश्चिमका आरिफ शेखलाई अम्पयारले आउट इशारा गरे । आरिफले तत्काले रिभ्युको माग गरे । त्यसमा भने रिभ्युपछि उनी नटआउट रहेको देखियो र मैदानको अम्पायरले आफ्नो निर्णय परिवर्तन गर्नुपर्‍यो ।

दशौं ओभरमा पनि शेर मल्लकै बलमा सुदूरपश्चिमका स्कट कुगेलेइन एलबीडब्लु आउट भए । यसमा पनि अम्पायरले सुरुमा आउट दिएका थिएनन् । तर लुम्बिनीका कप्तान रोहितले रिभ्युले लिए र रिभ्युपछि स्कट आउट भए ।

यसैगरी दोस्रो इनिङ्समा पनि अम्पायरले लुम्बिनीका निरोशन डिकवेलालाई सुरुमा आउट दिएका थिए । आठौं ओभरको तेस्रो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रको बलमा डिक्वेलालाई एलबीडब्लु आउट दिइएको थियो । तर रिभ्युपछि बल ग्लभ्समा लागेको देखियो र उनी नटआउट रहे ।

पहिलो पटक नेपाली क्रिकेटमा भित्रिएको यस नयाँ प्रविधिले गर्दा यदि अम्पायरको निर्णय चित्त नबुझेमा वा कुनै विवादास्पद निर्णय भएमा त्यसमा डीआरएसको प्रयोगबाट त्यसलाई एकपटक परीक्षण गरेर निर्णय बदलाउन सकिन्छ ।

सोमबारको खेलमा ब्याटको एज र एलबीडब्लुको बल ट्र्याकिङ हेर्ने प्रविधि देखिएको थियो जहाँ सुरुमा बलले ब्याट वा ग्लभ्समा लागेको हेरिएको थियो भने त्यसपछि बल ट्र्याकिङको प्रयोग गरेर बलको दिशा अनि उक्त बलको प्रभाव हेरिएको थियो ।

यसले नेपाली क्रिकेटमा पनि नयाँ प्रविधिको प्रयोगको सुरुवात भएको छ र आगामी खेलहरूमा पनि यस्तै यो प्रविधिको प्रयोग देख्न सकिनेछ ।

किशोर र शेरको धारिलो बलिङ

लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेपछि सुरुवात देखि नै बलरहरू हावी बनेका थिए ।

सुदूरपश्चिमका ओपनरद्वय सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि २४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाउने प्रयास गरेका थिए ।

तर लुम्बिनीका मिस्ट्री स्पीनर शेर मल्ले चौथो ओभरमा विनोद भण्डारीलाई एलबीडब्लु आउट गरेपछि लुम्बिनीले खेलमा पकड बनाउँदै रोयल्सलाई दबाबमा राख्यो । त्यसपछि सुदूरपश्चिमले नियमित जसो विकेट गुमाउँदा राम्रो स्कोर बनाउन सकेन र १७.२ ओभरमै ८७ रनमा अलआउट भयो ।

त्यसमा लुम्बिनीका लागि नायक रहे मिडियम पेसर किशोर महतो र स्पीनर शेर मल्ल । किशवरले पाँचौ ओभरमा आरिफ शेख र ब्रान्डन म्याकमुलेनलाई आउट गरेपछि लुम्बिनी हावी बन्यो ।

त्यसपछि अर्का ओपनर जैबलाई शाड्लीले छैटौं ओभरमा आउट गर्दा सुदूरपश्चिमले पावरप्लेमै महत्वपूर्ण ४ विकेट गुमाइसकेको थियो र त्यसपछि खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन ।

वेस्ट इन्डिजका आक्रमक ब्याटर शेरफन रदरफोर्ड एनपीएल डेब्यूमा मात्र १ रन बनाएर बउट भए । उनलाई शेर मल्लले नै आउट गरे ।

किशोरले ४ ओभर स्पेलमा २३ रन खर्चेर ४ विकेट लिए । यस्तै शेरले ४ ओभरमा ११ रन मात्र खर्चेर ३ विकेट लिए । कप्तान रोहित पौडेल, तिलक राज भण्डारी र शाड्ली भान साइलवाकले समान १ विकेट लिए ।

सुदूरपश्चिका लागि कप्तान दीपेन्द्र सिंह भरीले सर्वाधिक २३ रन बनाउँदा बलर अनिल खरेलले अविजित १५ रन योगदान गरे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न पनि सकेनन् ।

एनपीएलमा लुम्बिनीका लागि डेब्यू खेलमै मिडियम पेसर किशोर महतोले ४ विकेट लिँदै सुखद सुरुवात गरेपछि उनले लुम्बिनीको यो जितलाई ड्रिम स्टार्ट्स भन्न मिल्ने पनि बताए ।

‘यो ड्रिम स्टार्ट भन्न मिल्छ । हामीले कन्डिशनको पनि राम्रोसँग उपयोग गर्‍यौं । विकेट स्किडिङ थियो अनि एकपट्टि अलि लामो बाउन्ड्री थियो । त्यही अनुसार योजना बनाएका थियौं’ उनले खेलपछि भने ।

स्टार विदेशी खेलाडीहरू नभएपनि टिममा भएका सबै विदेशी खेलाडीहरू राम्रो रहेको र घुलमिल भएको किशोरले बताए । नेपालमा खेल्दा सिमिङ कन्डिसनले गर्दा आफूलाई फाइदा भएको उनले बताए ।

सुदूरपश्चिम रोयल्समा मुख्य प्रशिक्षक मिसबाह उल हकले राम्रो सुरुवात नभएको र आगामी खेलमा राम्रो गर्ने बताए । यस्तो किसिमको खेलमा पार्टनरसिप आवश्यक पर्ने र त्यो नहुँदा स्कोर कम भएको उनले बताए । ‘प्रदर्शन निराशाजनक रह्यो। हामीले साझेदारी बनाउन सकेनौँ। पिच सुस्त थियो र यस्तो पिचमा यस्तो हुन सक्छ । सुस्त पिचमा साझेदारी बनाउनु आवश्यक थियो, जहाँ हामी चुक्यौँ। आगामी खेलमा यसलाई ध्यानमा राख्नेछौँ,’ उनले भने ।

आसिफ र शर्टको ब्याटिङमा सहज जित

बलरको धारिलो बलिङमा सुदूरपश्चिमलाई ८७ रनमै अलआउट लुम्बिनीले लक्ष्य पछ्याउँदा आक्रमक ब्याटिङ सुरुवात गरेको थियो । सुरुवाती दुई सिजन जनकपुर बोल्ट्सको मार्की रहेका आसिफ शेख तेस्रो सिजनअघि रिलिज भएपछि तेस्रो सिजनका लागि अक्सनबाट लुम्बिनीमा अनुबन्ध भएका थिए ।

उनले अस्ट्रेलियन आक्रमक ब्याटर डार्सी शर्टसँग मिलेर लुम्बिनीलाई गतिलो सुरुवात दिलाए । यो जोडीले पहिलो विकेटका लागि ६ ओभरको पावर प्लेमै ७० रनको साझेदारी गरेका थिए ।

सातौं ओभरमा ७१ रनको साझेदारीपछि यी दुवै खेलाडी आउट भए । दुवैले आक्रमक ब्याटिङ गरेका थिए । शर्टले १८ बलमा ४ चौका र ३ छक्का मदतमा सर्वाधिक ४० रन बनाए । आसिफले २५ बल खेल्दै समान २ चौका र छक्का मदतमा ३२ रन जोडे । दुवैलाई सुदूरपश्चिमका अनिल खरेलले आउट गरे ।

यस्तै वान डाउनमा आएका निरोशन डिकवेलाले १० बलमा ७ रन जोडे । उनलाई दीपेन्द्रले बोल्ड गरे । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेलले दशौं ओभरको पाँचौ बलमा चौका प्रहार गर्दै जित पक्का गरे । उनी ३ बल खेल्दै ५ रनमा अविजित रहे । शमिम हुसेन १ रनमा अविजित रहे ।

यसरी लुम्बिनीले गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई नै हराउँदै उपाधि जित्दा गरेको प्रदर्शनलाई यस संस्करणको पहिलो खेलमा पनि झल्काएको छ ।

एनपीएल २०२६ डीआरएस प्रविधि लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्स

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय