+

आईएसएफ फुटबल विश्वकप : लगातार जितसहित नेपालको सुखद अन्त्य

२०८३ कात्तिक  ९ गते २२:१४ २०८३ कात्तिक ९ गते २२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुजोउमा आयोजित आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल यू–१८ छात्र टोलीले अन्तिम दुई खेलमा भारत र हाइटीलाई हराउँदै सुखद अन्त्य गर्‍यो ।
  • अक्टोबर १७ देखि २६ सम्म चलेको प्रतियोगिता कूल ३८ राष्ट्रका टिम सहभागि थिए । जसमा नेपाल २९औँ स्थानमा रह्यो ।
  • नेपालका लागि तेन्जिङ शेर्पाले भारतविरुद्ध चार गोल गरेका थिए ।

९ कात्तिक, काठमाडौं । चीनको सुजोउमा आयोजित आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपालको यू–१८ छात्र फुटबल टोलीले अन्तिम दुई खेलमा लगातार जित निकाल्दै सुखद सुरुमा प्रतियोगिता टुंग्याएको छ । नेपालले भारतको दोस्रो टोलीलाई ६–३ गोलले तथा हाइटीलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गरेको हो।

अक्टोबर १७ देखि २६ सम्म सञ्चालन भएको प्रतियोगितामा विश्वभरबाट ३८ राष्ट्रको सहभागिता थियो जसमा नेपाल  २९औँ स्थानमा रह्यो । सुरुवाती पाँच खेलमा लगातार हार बेहोरेको नेपालले अन्तिम दुई खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको हो ।

नेपालले समूह चरणमा टर्की, हङकङ चाइना र चिलीसँग प्रतिस्पर्धा गरेको थियो । अक्टोबर १९ मा भएको पहिलो खेलमा नेपाल टर्कीसँग १२–० ले पराजित भयो । दोस्रो खेलमा हङकङ चाइनासँग ६–३ र तेस्रो खेलमा चिलीसँग ७–१ गोलअन्तरले हार बेहोर्‍यो ।

समूह चरणपछि वर्गीकरण चरणमा नेपाल आयरल्यान्डसँग ८–० र क्युबेकसँग पनि ८–० गोलअन्तरले पराजित भएको थियो ।

लगातार पाँच हारपछि नेपालले अक्टोबर २४ मा भएको खेलमा भारतको दोस्रो टोलीलाई ६–३ गोलले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गर्‍यो । नेपालको जितमा तेन्जिङ शेर्पा एक्लैले चार गोल गरे । प्रशान्त मेन्याङ्बो र क्रिस्चल थापाले एक–एक गोल गरे ।

नेपालले अक्टोबर २५ मा हाइटीलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्‍यो । पेनाल्टीमा तेन्जिङ शेर्पा, भविष्य शाह, संयुग राई, इज्याक शाही र इभान रत्न तुलाधरले गोल गरे।

प्रतियोगिताको छात्रतर्फको फाइनलमा क्रोएसियाले  गिनीलाई पेनाल्टी सुटआउटमा ४–० ले पराजित गर्दै उपाधि जित्यो । छात्रातर्फ चीनको टोली ‘चाइना १’ ले जर्मनीलाई ५–१ गोलले हराउँदै च्याम्पियन बन्यो ।

नेपाल स्कुल स्पोर्ट्स फेडेरेसनको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी नेपाली टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दै ठूलो अनुभव हासिल गरेको छ ।

नेपाली टोलीको नेतृत्व गर्दै चीन पुगेका अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी समितिका सदस्य समेत रहेका विद्यालय खेलकुद महासंघ (आईएसएसएफ) का महासचिव राजकुमार कार्कीले सुरुवाती खेलमा हार बेहोरे पनि अन्तिम दुई खेलमा जित निकाल्नु टोलीका लागि सकारात्मक उपलब्धि बनेको बताए ।

आईएसएफ फुटबल विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय