+
+
Shares

मधेश सरकारको सकस : विश्वास जोगाउन कांग्रेसलाई हम्मे, नयाँ सरकार गठनको गृहकार्य

नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री यादव आफू नेतृत्वको सरकार जोगाउने कसरतमा छन् । जसपा नेपाल, नेकपा एमालेलगायत दलहरू भने नयाँ समीकरण बनाउने गृहकार्यमा छन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८३ कात्तिक ९ गते २०:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकार अल्पमतमा परेको छ र उनलाई २० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ।
  • विश्वासको मतका लागि यादवसँग अहिले कांग्रेसका २२ र नेकपाका १५ गरी ३७ सांसदको मात्र समर्थन छ, जबकि ५४ सांसदको समर्थन आवश्यक पर्छ।
  • जसपा नेपाल, एमाले र अन्य दलहरू नयाँ समीकरणबारे छलफल गरिरहेका छन्, तर सरकार गठनबारे पार्टीहरूबीच औपचारिक निर्णय भइसकेको छैन।

९ कात्तिक, जनकपुरधाम । गत ३० असोजमा नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरियो । त्यसयता मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री यादव आफू नेतृत्वको सरकार जोगाउने कसरतमा छन् । एमालेले समर्थन फिर्ता लिएको १९ दिन पूरा भएकाले अबको २० दिनभित्र उनले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता छ ।

मुख्यमन्त्री यादवलाई अहिलेसम्म आफ्नै दल कांग्रेसका २२ र नेकपाका १५ गरी ३७ सांसदको मात्र समर्थन छ । जबकि, मधेश प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेशसभाको अंकगणितअनुसार मुख्यमन्त्री यादवलाई विश्वासको मत जुटाउन जसपा नेपाललाई साथमा लिनुपर्ने वा एमालेको समर्थन प्राप्त गर्नुपर्ने अवस्था छ ।

उता, जसपा नेपाल, नेकपा एमालेलगायत दलहरू नयाँ समीकरण बनाउने गृहकार्यमा छन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा २७ सिटसहित जसपा नेपाल सबैभन्दा ठूलो दल हो भने २३ सिटसहित एमाले दोस्रो ठूलो दल हो ।

कांग्रेस २२ सिटसहित तेस्रो र नेकपा १५ सिटसहित चौथो ठूलो दल हुन् । जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद छन् ।

मुख्यमन्त्री यादव आफ्नो सरकार जोगाउन प्रयासरत रहँदा एमाले र ठूलो दलको हैसियतमा रहेको जसपा नेपालबीच सरकार गठनबारे छलफल भइरहेको हो । १५ बुँदे तीनदलीय सहमति कार्यान्वयन नभएको भन्दै एमालेले सरकारबाट समर्थन फिर्ता लिएको थियो ।

एमालेले ठूलो दलको हैसियतमा जसपा नेपाललाई सरकार गठनका लागि समर्थन गर्ने विषय सार्वजनिक भइसकेको छ । यद्यपि, एमाले संसदीय दलका नेता सरोजकुमार यादव आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कसरतमा रहेको स्रोतको दाबी छ ।

संविधानको धारा १६८ को उपधारा (३) बमोजिम दोस्रो ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमालेका सरोजकुमार यादव २०८२ कात्तिक २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले भोलिपल्ट बिहान बर्दिबासको कालापानीस्थित पानस कटेजमा शपथ लिएका थिए ।

त्यसबेला एमालेले आफ्नो पार्टीको कोटामा प्रदेश प्रमुख बनेकी सुमित्रा सुवेदी भण्डारी र सभामुख रामचन्द्र मण्डलको दुरुपयोग गरेको भन्दै आलोचना भएको थियो । एमाले, राप्रपा र संघीय समाजवादी पार्टी बाहेकका दल एकजुट भएर सडकबाट त्यसको चर्को विरोध गरेका थिए । उक्त नियुक्तिको विषय सर्वोच्च अदालतसम्म पुगेको थियो ।

त्यस घटनापछि एमालेले प्रदेश प्रमुख र सभामुख पदसमेत गुमाउनुपरेको थियो । सर्वोच्च अदालतको आदेशअनुसार विश्वासको मत प्राप्त गर्ने सम्भावना नदेखेपछि तत्कालीन मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका थिए ।

एमालेका एक सांसदका अनुसार संसदीय दलका नेता यादव एक पटक भए पनि आफ्नै नेतृत्वमा बहुमतीय सरकार गठन गरेर मुख्यमन्त्री बन्न चाहन्छन् । ‘आफ्नो नेतृत्वमा सरकार बनोस् भन्ने को चाहँदैन ? हाम्रो दलका नेताले प्रयास गर्दै हुनुहुन्छ । तर यो त्यति सहज भने छैन,’ ती सांसदले भने ।

गत ३० असोजमा एमालेले मधेश प्रदेश सरकारबाट आफ्ना चार मन्त्रीलाई राजीनामा गराउँदै समर्थन फिर्ता लिएकै दिन काठमाडौंको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग चार घण्टा छलफल भएको थियो । छलफलमा जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादवसमेत सहभागी थिए ।

त्यस दिनका तस्वीर र खबर सार्वजनिक हुँदा जसपा नेपालको आलोचनासमेत भएको थियो । जसपा नेपालका अध्यक्ष यादवले सामाजिक सञ्जालमा लेखेर आफू सरकार निर्माणको लागि गुण्डु नपुगेको र अर्कै प्रसंगमा गएको बताएका थिए ।

‘जसपा नेपालले वर्तमान अवस्थामा नेकपा एमालेसँग सहकार्य गरी सरकारमा सहभागी हुने सम्बन्धमा कुनै निर्णय गरेको छैन । न कुनै नीति नै लिएको छ न त कसैसँग कुनै सामझदारी नै गरेको छ । तत्काल नयाँ सरकार गठन सम्भव नरहेको अवस्था छ,’ अध्यक्ष यादवले लेखेका थिए, ‘बेग्लै प्रसंगमा खिचिएको फोटो राखी फेसबुक तथा सामजिक सञ्जाललाई केही व्यक्तिहरूले दुरुपयोग गरी गलत, भ्रमात्मक दुष्प्रचार गरेको देख्दा आश्चर्य र दु:ख लगेको छ ।’

यादवले यस्तो दाबी गरे पनि गुण्डुको त्यो लामो छलफलमा नयाँ समीकरण बनाएर मधेश सरकार निर्माण गर्ने विषयमा छलफल भएको स्रोतको दाबी छ ।

एमाले स्रोतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने प्रस्तावसहित छलफलमा आएको दाबी गरेको छ । तर जसपा नेपालले भने एमालेकै निमन्त्रणामा छलफलमा सहभागी भएको बताउँदै आएको छ ।

उक्त छलफलपछि जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्न एमाले सहमत भएको समाचारसमेत सार्वजनिक भएको थियो । एमालेका एक सांसदका अनुसार अहिले जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्ने गरी गृहकार्य भइरहेको छ ।

‘नेकपालाई साथमा लिएर जसपा नेपालको नेतृत्वमा सरकार बनाउने गरी गृहकार्य भइरहेको छ,’ ती सांसदले भने ।

यता, जनमत पार्टी पनि मधेशमा जसपा नेपालको नेतृत्वमा सरकार बनेमा त्यतै समर्थन गर्ने तयारीमा रहेको बताइन्छ । तर सरकार गठनबारे अहिलेसम्म पार्टीभित्र कुनै छलफल नभएको जनमत पार्टीका प्रदेश सांसद चन्दन सिंहले बताए ।

नेकपाले पनि सरकार गठनबारे आफ्नो धारणा स्पष्ट गरिसकेको छैन । उक्त दल अहिले सरकारमै छ । सरकार गठनको विषयमा पार्टीले कुनै निर्णय नगरेको नेकपा संसदीय दलका नेता युवराज भट्टराईले बताए ।

‘अहिलेसम्म सरकारबारे नेकपाले कुनै छलफल र निर्णय गरेको छैन । परिस्थितिअनुसार नेकपाले निर्णय लिन्छ,’ उनले भने ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल महन्थ ठाकुरको नेतृत्वमा रहँदा जसपा नेपालभन्दा अलग थियो । लोसपा नेपाल जसपा नेपालमा समाहित भएपछि जसपा नेपाल मधेश प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको छ । अहिले मधेश प्रदेशसभाका सभामुख रामअशिष यादव पनि जसपा नेपालबाटै निर्वाचित भएका हुन् ।

यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सरकार गठनका क्रममा राजनीतिक चलखेल गरेपछि कांग्रेसले सरकारको नेतृत्व लिएको थियो भने जसपा नेपालले सभामुख पद पाएको थियो ।

अहिले जसपा नेपाल ठूलो दलको हैसियतमा रहे पनि धारा १६८ को उपधारा (३) बमोजिम सरकार गठन गर्ने बाटोभन्दा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयासमा रहेको देखिन्छ ।

यद्यपि, जसपा नेपालका सांसदसमेत रहेका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले सरकार गठनबारे अहिलेसम्म कुनै औपचारिक छलफल नभएको बताए ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?