+
+
Shares
हरिनारायण महतोसँग वार्ता :

‘१५ बुँदे सहमति कार्यान्वयन भएन, मधेशमा कांग्रेस बाहेकको मिलिजुली सरकार बनाउँछौं’

'एमाले अन्य दलको नेतृत्वमा पनि खुला छ'

नयाँ गठबन्धन बन्न सक्छ। संवैधानिक र कानुनी हिसाबले मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत जुटाउने अधिकार हुन्छ। त्यसपछिको प्रक्रिया अनुसार प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुनेछ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १५ बुँदे सहमति पालना नभएको भन्दै एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ र मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता लिएका छन्।
  • एमाले प्रमुख सचेतक हरिनारायण महतोले जनमत, जसपा लगायतसँग मिलेर नयाँ गठबन्धन बनाउन सकिने र अन्य दलको नेतृत्व पनि स्वीकार्य हुन सक्ने बताए।
  • उनले केन्द्रमा एमाले र नेकपा (माओवादी केन्द्र) बीच सहकार्यको सहमति भइसकेकाले दसैँपछि मधेशमा नयाँ सरकारका लागि औपचारिक छलफल सुरु हुने बताए।

१५ बुँदे सहमति पालना नभएको जनाउँदै नेकपा (एमाले) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेका मन्त्रीहरूले राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन्। मुख्यमन्त्रीले सहमति अनुसार काम नगरेकाले सरकारमा रहिरहनुको औचित्य समाप्त भएको एमालेको निष्कर्ष छ। केन्द्रमा एमाले र नेकपा (माओवादी केन्द्र) बीच चुनावी सहकार्यसहितको सहमति भइसकेकाले अब प्रदेशमा पनि नयाँ गठबन्धन निर्माणको कसरत सुरु हुनेछ। जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) लगायतका दलहरूसँग मिलेर नयाँ सरकार बनाउन सकिने र त्यसमा एमालेबाहेक अन्य दलको नेतृत्व पनि स्वीकार्य हुन सक्ने संकेत एमाले प्रमुख सचेतक हरिनारायण महतोले गरेका छन् । प्रस्तुत छ उनीसँगको संक्षिप्त कुराकानी :

आज एमालेका मन्त्रीहरूले किन एक्कासी राजीनामा दिए ?

एमालेका मन्त्रीहरूले राजीनामा दिनुभयो । पार्टीले समर्थन पनि फिर्ता लिएको छ । सरकार गठन हुँदा १५ बुँदे सहमति भएको थियो। तर, त्यो सहमति अनुसार काम भएन। सहमति पालना नभएपछि एमालेले अब यस सरकारमा रहिरहनुको कुनै औचित्य देखेन। त्यसैले समर्थन फिर्ता लिने निर्णय भएको हो।

१५ बुँदे सहमतिमध्ये कुन-कुन मुख्य कुराहरू कार्यान्वयन भएनन् ?

त्यो त हामीले लिखित रूपमै बुझाएका छौँ। प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्ति र हाम्रा औपचारिक पत्रहरूबाट पनि ती विषयहरू स्पष्ट हुन्छन्।

अब एमालेको आगामी कदम के हुन्छ ? विपक्षीमा बस्नुहुन्छ कि नयाँ सरकार बनाउने तयारीमा लाग्नुहुन्छ ?

नयाँ गठबन्धन बन्न सक्छ। संवैधानिक र कानुनी हिसाबले मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत जुटाउने अधिकार हुन्छ। त्यसपछिको प्रक्रिया अनुसार प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुनेछ।

केन्द्रमा एमाले र नेकपाबीच सहकार्यको सहमति बनेको छ। त्यसै अन्तर्गत प्रदेशमा पनि नयाँ गठबन्धन बनाउन लाग्नुभएको हो ?

केन्द्रमा एमाले र नेकपाबीच सहकार्य गर्ने र चुनावमा पनि सँगै जाने सहमति बनिसकेको छ । प्रदेशमा पनि त्यही अनुसार हुन सक्छ। ठ्याक्कै यही हुन्छ भन्न नसकिए पनि अब मिलिजुली गठबन्धनबाटै फेरि सरकार बन्ने हो।

यसको अर्थ नयाँ समीकरणमा नेपाली कांग्रेससँग गठबन्धन हुने सम्भावना छैन ?

छैन। कांग्रेससँगै गठबन्धन गर्ने भए त सरकारबाट किन निस्कनु पर्थ्यो र?

जनमत पार्टी वा जसपालगायत अन्य दलहरूसँग केही कुराकानी भइरहेको छ ?

कुराकानी भइरहेको छ र सम्भावना छ। अब अन्य दलहरूसँग मिलेर नै सरकार बनाउने हो।

नयाँ सरकार बनाउँदा एमालेको नेतृत्वमा बनाउने अडान हुन्छ कि अन्य दलको नेतृत्व पनि स्वीकार गर्नुहुन्छ ?

अन्य दलको नेतृत्व पनि स्वीकार्य हुन सक्छ, त्यसमा खुला छौँ।

सरकार छाड्ने र नयाँ समीकरण बनाउने यो निर्णय केन्द्रीय नेताहरूसँगको परामर्शमा भएको हो कि प्रदेश स्तरबाट मात्र ?

पार्टीका अध्यक्ष केपी शर्मा ओली, प्रचण्ड लगायतका केन्द्रीय शीर्ष नेताहरूसँग छलफल र सल्लाह गरेर नै यो निर्णय भएको हो।

मधेश प्रदेशमा एक वर्षभित्रै पटक-पटक सरकार फेरिँदा प्रदेश अस्थिर देखियो नि ?

जनताले म्यान्डेट नै त्यसरी दिनुभएको छ। कुनै पनि एक दलको बहुमत छैन, सबै मिलिजुली सरकार हो। जहाँ चित्त बुझ्दैन, त्यहाँ सरकार हेरफेर भइरहन्छ। बहुमत कसैको नभएकाले नै यस्तो स्थिति आएको हो।

नयाँ गठबन्धन निर्माणका लागि औपचारिक छलफल कहिलेदेखि सुरु हुन्छ ?

अहिल्यै सुरु भइसकेको छैन। बीचमा चाडपर्व परेकाले अब दसैँ पछाडि नै औपचारिक छलफल अघि बढ्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?