Comments Add Comment

काठमाडौंमा भेटिए कोरोना संक्रमित बिरामी

१० चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित एकजना विरामी भेटिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका हुन् ।

१९ वर्षकी उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

उनी फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी थिइन् । त्यसबेला उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन । यद्यपि उनी होम क्वारेन्टाइनमा बसेकी थिइन् ।

तर आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा  परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको छ । अब उनीसँगै आएका र परिवारका सदस्यहरु पहिचान गरी आइसोलेसनमा राख्ने र परीक्षण गर्ने तयारी भइरहेको छ ।

कोरोना संक्रमित नेपाली नागरिक फेला परेको सूचना प्रवक्ता देवकोटाले यसरी सुनाए-

‘एउटा खबर भन्न चाहन्छौं, हालसम्म शंकास्पद लक्षण देखिएका र क्वारेन्टाइनमा राखिएका करिब ६ सय नमूनाको परीक्षण गरिएकोमा सबै नतिजा नेगेटिभ भेटिएको अवस्थामा गत मंगलबार चैत्र ४ गते फ्रान्स र कतारको दोहा हुँदै काठमाडौं आएर लक्षणविहीन अवस्थामा होम क्वारेन्टाइनमा बसेका नेपाली नागरिकको हिजो -आइतबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दाखेरि कोभिड १९ पोजेटिभ देखिएको छ ।

हाल निज शुक्रराज सरुवा रोग अस्पतालमा आइसोलेसनमा भएर उपचारको क्रममा हुनुहुन्छ । उहाँसँग सम्पर्क भएका सबै व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको छ र अब उहाँको उपचार र यससम्बन्धी सबै व्यवस्थापनहरु हामीले तोकिएको मापदण्ड बमोजिम मन्त्रालयबाट भइरहेको छ । र, आगामी दिनमा पनि हामीले अझै सक्रिय निगरानी गरेर नेपाललाई संक्रमणमुक्त गर्नलाई यदि संक्रमण भेटिएको खण्डमा उहाँहरुलाई उपचार गर्नलाई हाम्रो मन्त्रालय तदरुकताका साथ लाग्ने छ, यसमा सबैको सहयोग चाहिन्छ ।

प्रवक्ता देवकोटापछि स्वास्थ्यमन्त्री ढकालले संक्षिप्त सम्वोधन गरे । उनले धैर्यता नगुमाउन र सावधानी अपनाएर विस्तारित हुन नदिन सबैलाई अपील गरेका छन् ।

त्यसक्रममा पत्रकारसँग भएको प्रश्नोत्तरको सम्पादित अंश यस्तो छ-

प्रश्न- बिरामी कुन एयरलाइन्सबाट आएको…. ?

त्यो कुरा वक्तव्यमा पनि आएको छ , तपाईको जिज्ञासामा उमेर कति हो, के हो भन्ने मैले यहाँहरुलाई बताएँ ।

फेरि प्रश्न- कुन एयरलाइन्सबाट आएको हो, त्यो बताइदिनुपर्‍यो …

यो सप्पै कुरा हामी तपाईहरुलाई बताइहाल्छौं । अहिले तपाईहरुलाई ताजै दिइहालौं भन्ने हिसाबले हामीले यति सूचना ल्याएका छौं । अरु कुरामा पनि हामी जान्छौं । उहाँसँगको सम्पर्कमा रहेका साथीहरु, प्लेनमा आउँदाखेरि कति मान्छेहरु कहाँ कहाँको आउनुभएको थियो, त्यसलाई पनि हामीले खोजेर नै व्यवस्थित गर्छौं ।

हिजोसम्म हामीले एउटा ग्रीन जोनको कुरा गरेका थियौं र प्रदेश निशेधको कुरा गरेका थियौं । अहिले यो प्रकट हुने कुराबाट पनि म पत्रकार साथीहरुमार्फत आम नेपाली जनतासँग के आग्रह गर्न चाहन्छु भने सबैले धैर्य नगुमाउने कुरा, यस्तो कुराबाट पाठ सिक्ने र थप सावधानी अपनाएर यसलाई विस्तारित हुन नदिने कुरामा सबैको योगदान हुन्छ ।

स्वास्थ्य मन्त्रालय र हाम्रा मिडियाका साथीहरुदेखि राज्यका सबै संयन्त्रहरुले अलग रहेर यो कोरोना भाइसरलाई परास्त गर्नका लागि जुनखालको अभियान चलेको छ, त्यसलाई अझ सावधानीपूर्वक हामीले पालना गरौं । विगतमा पनि एउटा पोजेटिभ देखिएको थियो, १० दिनपछि त्यो नेगेटिभमा परिणत भयो । म अहिले पनि व्यक्तिगतरुपमा यो विश्वास गर्छु कि यसलाई पनि हामी सहज ढंगले नै सामना गर्न सक्छौं भन्ने लाग्छ ।

यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment