११ चैत, काठमाडौं । मंगलबार दिउँसो साढे १२ बजे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको आकस्मिक कक्ष अगाडि एउटा एम्बुलेन्स रोकियो । एम्बुलेन्सबाट ओर्लिएर २ जना नागरिक अत्तालिदै सोधपुछ कक्षमा पुगे ।
सोधपुछ कक्ष खाली देखेपछि उनीहरु सिधै इमर्जेन्सी कक्षभित्र प्रवेश गरे । अलिकति भित्र पस्नासाथ नेपथ्यबाट आवाज आयो–…एकछिन, एकछिन…. बाहिरै बस्नुस् त, कहाँ भित्र आको, नसोधी..।’
भित्र छिरिसकेका उनीहरु डराउँदै बाहिर आए ।
आकस्मिक कक्ष बाहिर कोही स्वास्थ्यकर्मी नदेखेपछि उनीहरुमध्ये एकजनाले हामीलाई सुनाए– ‘भाञ्जालाई बुखार (ज्वरो) आएका कारणले ल्याएको ।’
उनको कुरा नसकिँदै सँगै रहेका अर्का व्यक्ति बोले, ‘ज्वरो आको भन्नासाथ किस्ट मेडिकल कलेजले गेट बाहिरबाटै फर्काइदियो, अनि यता ल्याको ।’
उनी बोल्दाबोल्दै इमर्जेन्सी कक्षबाट एकजना चिकित्सक त्यहाँ आए ।
ती चिकित्सकले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नाम मात्रको लगाएका थिए । अर्थात, सर्जिकल मास्क बन्ने कच्चा पदार्थको गाउन, हातमा पञ्जा र सामान्य बुटमात्र । टाउकोमा हेलमेट पनि थिएन । पीपीई किन नलगाएको भनेर सोधेको भए उनले पक्का भन्थे– ‘भए पो लगाउनु ।’
ती चिकित्सकले एम्बुलेन्सभित्रका बिरामीलाई हेर्दै नहेरी सोधे– ‘बिरामीलाई के भएको छ, ट्राभल हिस्ट्री बताउनुस्।’
बिरामीका आफन्तले सायद अंग्रेजी शब्द बुझेनन्, सोधे– ‘हजुर, डाक्टर साब ?’
चिकित्सकले नेपालीमा भने, ‘बिरामीलाई कहाँबाट ल्याएको, के भएको छ ?’
‘इण्डियाबाट आएको ५ दिन भयो, आजै तराईबाट ल्याएको । हनहनी ज्वरो आएको छ ।’
दुईमध्ये एक व्यक्तिले यसो भन्दै गर्दा ती चिकित्सकले उनलाई भित्र लिएर गए ।
उनीहरु भित्र छिरेको आधा घण्टा नाघिसकेको थियो । बिरामी बाहिरै थिए । एम्बुलेन्स चालक पनि बाहिरै कुरिरहेका ।
लामो समय कुर्दा पनि चिकित्सक र बिरामीका आफन्त बाहिर नआएपछि एम्बुलेन्स चालक जंगिए– ‘यस्तो बेलामा एउटा बिरामीका लागि यसरी कुर्नुपर्यो भने कसरी अरु बिरामी ओसार्नु ?’
उनको प्रश्न जायज थियो । तर, जवाफ कसले दिने ?
हामीले उनलाई नै प्रश्न गर्यौं— ‘तपाईंसँग पीपीई थियो त ?’
‘कहाँबाट पाउनु ?’ एम्बुलेन्स चालकले प्रश्नसहित सुनाए, ‘बाटोमा आउँदै गर्दा प्रहरीले रोकेको भएर मात्र बिरामी चढाएको, नत्र यस्तो केसका लागि सुरक्षा सामाग्रीबिना कसले बोक्छ ? हातमा लगाउने स्यानिटाइजर त छैन ।’
उनले व्यक्तिगत सुरक्षा सामाग्री नहुँदा लागेको डर सुनाए । आफ्नो कर्तव्यका बारेमा बताए । अनि पछिल्ला दिनमा घटेका १/२ वटा घटना सुनाइसकेपछि निराश हुँदै भने, ‘अब एम्बुलेन्स थन्काएर बस्नुपर्ला, हामीले मात्र सेवा सोचेर नहुने रै’छ, जुन प्राइभेट अस्पताल लगे पनि ज्वरो आएको बिरामी भन्नासाथ गेटबाटै फर्काउँदो रहेछ ।’
एम्बुलेन्स चालक हामीसँग गफिँदै गर्दा आकस्मिक कक्षबाट चिकित्सक र बिरामीका आफन्त बाहिर निस्किए ।
चिकित्सकले एम्बुलेन्स चालकलाई भने, ‘उहाँलाई राख्न यहाँ बेड खाली छैन, एपीएफ (सशस्त्र प्रहरी) अस्पताल बलम्बु लैजानू ।’
चालकले सोधे– ‘त्यहाँ बेड खाली छ त ?’
चिकित्सकले भने– ‘लैजानुस् न । त्यहाँ हुन सक्छ ।’
चिकित्सकको कुरा सुन्नासाथ ती चालक जंगिए– ‘बेड खाली छ र भर्ना गर्छ भने लान्छु, नत्र लान्न, पहिला फोन गरेर भन्दिनुस् ।’
‘लैजानुस् न, खाली हुन सक्छ ।’
चिकित्सकको कुरा सकिन नपाउँदै एम्बुलेन्स चालकले फेरि सोधे– ‘उताबाट पनि फर्काइदियो भने कता लानु ?’
एकपछि अर्को अस्पताल चाहार्दै फर्कंदै गरेका एम्बुलेन्स चालकको प्रश्न जायज थियो । बेड नभएका कारण त्यहाँबाट फर्काउन खोज्नु डाक्टरहरुको बाध्यता पनि वास्तविक नै थियो । कोरोनाको आशंकामा अस्पताल पुगेका बिरामी र उनका आफन्तको पीडा पनि यथार्थ थियो ।
अब के गर्ने त ?
उनै डाक्टरले उपाए फुराए– ‘अहिले हामी क्वारेण्टाइनमा राख्छौं, पछि यता वा अन्य अस्पतालमा आइसोलेसन खाली हुनासाथ त्यहीँ भर्ना गर्छौं ।’
एम्बुलेन्स चालक बिरामीलाई छाडेर त्यहाँबाट निस्किए । बिरामीका आफन्त घर फर्के ।

००००
उनीहरु गइसकेपछि एक चिकित्सकले मनको बह पोखे, ‘डिप्रेसनमा जाने बेला भइसक्यो, बिरामीहरु आउँछन् बेड छैन । भर्ना गर्नु नपर्ने बिरामीलाई फर्काउँदा थर्काउँछन्, भर्ना गर्नुपर्नेलाई राख्ने ठाउँ छैन ।’
बोलिरहँदा उनको मुहारमा दिक्कारीको भाव प्रष्ट देखिन्थ्यो । उनी सरकारसँग आक्रोशित त थिए नै, निजी अस्पतालसँग पनि उस्तै रुष्ट।
केही निजी अस्पतालको नाम लिँदै उनले भने– ‘हाच्छियुँ आएको मान्छे अस्पताल पुग्दा पनि कुनै चेकजाँच नै नगरी यहाँ पठाउँछन् ।’
उनले गुनासो गर्दागर्दै त्यहाँ गुनासो गर्ने अर्का चिकित्सक थपिए ।
उनी झन रुष्ट रहेछन् । हामीलाई देख्नासाथ भने– ‘यी निजी अस्पतालहरुले जहिले पनि मनपरी गर्न पाइने हो ? ज्वरो मात्रै आएर र ट्राभल हिस्ट्री नभएका बिरामीलाई त त्यहीँबाट काउन्सिलिङ गरेर पठाउनुपर्दैन ? ट्राभल हिस्ट्री मिलेका केसहरुको पनि त्यहीँको आइसोलेसनमा राखेर नमुना मात्र ल्याबमा पठाउँदा हुन्छ त ।’
अर्का चिकित्सक जंगिए, ‘देशभरका बिरामीहरुलाई टेकु अस्पतालले मात्रै हेर्न सक्छ र ? आइसोलेसन बेड भएका अस्पतालले बिरामी भर्ना लिएर नमूना पठाए हुन्न ?’
चिकित्सकहरु एकअर्कामा दिक्दारी पोखिरहेका थिए ।
उनीहरुको कुरा सुन्दा लाग्थ्यो, अस्पतालमा मनोविश्लेषक राख्न तत्काल जरुरी छ । किनकि, कोरोनाको उपचार गर्न बसेका उनीहरु कोरोनाको डरको उपचार गर्न सक्ने अवस्थामा थिएनन् । त्यहाँ पुग्ने ४० प्रतिशत केस त डरको थियो ।
००००
केही छिनअघिको एउटा घटना—
एम्बुलेन्स पुग्नुअघि तीनजना नागरिक कोरोनाको आशंकाले हस्याङ–फस्याङ गर्दै त्यहाँ आए । चिकित्सकहरुले उनीहरुको कुरा ध्यानपूर्वक सुने । ज्वरो जाचेँ । ट्राभल हिस्ट्री र अन्य लक्षणहरु हेरे । कोरोना हुने कुनै सम्भावना देखेनन् ।
अनि भने, ‘कोरोना हुने कुनै सम्भावना छैन, घर जानुस् ।’
चिकित्सकको कुरा सुनिसकेपछि उनीहरुले अड्डी कसे–‘होइन, हाम्रो नमूना परीक्षण गर्नुस्, हामी अस्पतालमै बस्छौँ ।’
डरका कारण अस्पताल पुग्ने जो कोहीलाई भर्ना गर्दा वास्तविक बिरामीलाई बेड अभाव हुने समस्या बुझेका चिकित्सकहरुले उनीहरुलाई शान्त भएर सम्झाए,‘तपाईंहरु नअत्तालिनुस्, केही भएको छैन । अहिले भर्ना गर्न मिल्दैन।’
तिनिहरुमध्ये एक युवकले जंगिँदै भने, ‘तिमीहरुको अस्पताल कुखुराको खोर जस्तो छ, तिमीहरुलाई पनि चारो ल्याएर हाल्नुपर्ने।’
ती युवा त्यतिमै रोकिएनन्, आक्रोशित हुदैँ थपे, ‘सर्टिफिकेट किनेर डाक्टर बनेको होला अनि कसरी थाहा हुन्छ त कसलाई भर्ना गर्ने र कसलाई नगर्ने ।’
घटनाले अर्कै मोड लिन लागिसकेको थियो । चिकित्सकहरु सम्हालिँदै आकस्मिक कक्षभित्र छिरे । तीन युवा घर फर्किए । सम्भावित दुर्घटना टर्यो ।
तर, त्यहाँ अरु अझै दुर्घटना हुन्न भने कसले ग्यारेण्टी गर्ने ?’
टेकु अस्पतालको आकस्मिक कक्ष अगाडि बसेर त्यहाँको परिदृश्य हेर्दा लाग्छ, ‘ढिलो चाँडो यहाँ दुर्घटना हुन्छ, राज्यको लापरबाहीका कारण चिकित्सक र बिरामीबीच हात हालाहालको अवस्था आउँछ ।’
यस्तो लाग्नुका कारणहरु धेरै देखिन्छन् ।
तीनवटा कारण त त्यहाँ रहेका एक चिकित्सकले सुनाए ।
पहिलो– विपतको घडीमा गतिलो व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बिना काम गरिरहेका चिकित्सकहरुलाई संक्रमण हुने खतरा उच्च छ । जसका कारण उनीहरु मनोवैज्ञानिक दबावमा काम गरिरहेका छन् । अनाआवश्यक आरोप लगाउँदा उनीहरु पनि रीस कन्ट्रोल गर्न सक्दैनन् ।
दोस्रो– चिकित्सकहरु सबै कुरा सहन सक्छन् । तर, वर्षौंसम्म आफ्नो ऊर्जाशील समय, पैसा र मेहनत खर्च गरेर पाएको उपलब्धीलाई किनबेचसँग तुलना गरेको सहन सक्दैनन् ।
तेस्रो— रिस र दबावका बेला अरु मानिसले जस्तै डाक्टरहरुले पनि वेद सम्झिँदैनन् ।

००००
डाक्टरहरु हामीसँग गफिँदा गफिँदै अस्पतालमा एकैछिनमा ५ वटा एम्बुलेन्स आए ।
तिनीहरुको ‘ट्राभल हिस्ट्री’ चेक गर्दा कोरोना शंकास्पद नदेखिएपछि चिकित्सकले अन्य अस्पतालमा रिफर गरे । अनि भने, ‘डरका बिरामीलाई पनि यहीँ भर्ना गर्ने हो भने वास्तविक कोरोनाको बिरामी आए के गर्ने ?’
करिब तीन घण्टाको अवधिमा १५ जना कोरोनाको आशंका लिएर अस्पताल पुगेका बिरामीलाई चिकित्सकले अर्को अस्पताल रिफर गरे । तर, तिनीहरुलाई काउन्सिलिङ गर्ने व्यवस्था भने सरकारले गरेको देखिएन । त्यहाँ रहेका चिकित्सक काउन्सिलिङ गर्न सक्ने फुर्सदमा थिएनन् ।
एकपछि अर्को बिरामीलाई ब्रिफिङ गर्दागर्दै हैरान भएका चिकित्सकहरु निरीह देखिन्थे । घरि–घरि हामीतिर हेर्दै भन्थे– ‘राज्यले छुट्याएको जनशक्ति नै कम छ, यति थोरै मान्छेले कता–कता मात्रै भ्याउनु ?’
हो, चिकित्सकहरुको समस्या जायज थियो । थोरै बेड, बिरामीको चाप, कम जनशक्ति अनि र पीपीईको अभावमा काम गरिरहेका उनीहरुमा मनोवैज्ञानिक त्रास बढी देख्न सकिन्थ्यो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलनमा ‘हामी परीक्षणको दायरा बढाउछौँ’ भन्दै दिएको अभिव्यक्ति फोस्रो गफमा सीमित भएको टेकु अस्पतालमा पुग्दा प्रष्ट देखियो ।
मन्त्री ढकालले भनेझै त्यहाँ परीक्षणको दायरा बढ्ने सम्भावना थिएन । किनकि, स्वास्थ्यमन्त्रीले भाषण गरे पनि अस्पतालको समस्या समाधान गरेका थिएनन् ।
चिकित्सकहरु सरकारले आफ्नो सुरक्षामा ध्यान नदिएको भन्दै भावुक सुनिन्थे । एक चिकित्सकले सुनाए, ‘घरबाट अस्पताल निस्कँदा सधैं आमा पिलपिल आँशु चुहाउनुहुन्छ ।’
अर्का चिकित्सकले थपे, ‘यस्तो भद्रगोलमा ज्यान जोखिममा राखेर काम गरिरहेका छौं, न सरकारले हाम्रो समस्या बुझ्छ, न बिरामीले ।’
अर्का चिकित्सक केही आशावादी सुनिए, ‘शुक्रबारसम्म सरकारले पीपीई ल्याउला कि..।’
००००
त्यहीबेला एउटा स्कुटर टेकु अस्पताल अगाडि रोकियो । ‘एन–९५’ मास्क लगाएका ती युवा एक्लै अस्पताल पुगेका थिए । आकस्मिक कक्षनिर पुग्नै लाग्दा चिकित्सकहरुले उनलाई सोधे– ‘के-का लागि आउनुभएको ?’
‘कोरोनाको आशंका भयो, जाँच गराउन ।’
चिकित्सकहरुले उही, पुरानै पारामा सोधे, ‘ट्राभल हिस्ट्री र लक्षण बताउनुस् त ।’
‘एक साता भयो कतारबाट आएको ।’
कुरा सकिन नपाउँदै ती चिकित्सक अलि पछि सरे ।
‘अनि लक्षण ?’
‘ज्वरो नदेखियोस् भनेर सिटामोल, एण्टी कोल्ड ट्याबलेट र कफ सिरफ खाएको छु, ज्वरो त आएको छैन् । तर खोकी लागेको छ । छाती अलिअलि दुःखेको छ र कफ जमेको छ ।’
‘एकछिन बस्दै गर्नू’ भन्दै ती चिकित्सक आकस्मिक कक्षभित्र छिरे ।
युवकले हामीतिर हेर्दै भने, ‘कुनै पनि निजी अस्पतालले रेस्पोन्स गरेनन् । मनपरी रहेछ । टिचिङ गएको, यता पठाइदिए।’
‘सरकारले पीपीई उपलब्ध नगराएर नहेरेको भन्छन्’, ती युवक बोल्दै गए, ‘यहाँका डाक्टरसँग पनि पीपीई छैन, तर, यहाँका डाक्टर भागेका छैनन् । निजी अस्पतालका डाक्टरचाँहि जिम्मेवारीबाट भाग्न मिल्छ ? यत्रो महामारी फैलिएको थाहा पाउँदा पाउँदै निजी अस्पतालले चाहिँ पीपीई जोहो गर्नुपर्दैन ? ’
यो प्रश्नको जवाफ निजी अस्पतालले पक्कै देलान नै ।
त्यहीबेला आकस्मिक कक्षबाट चिकित्सक आए । उनको ज्वरो नापे । अन्य लक्षणहरु हेरिसकेपछि भने, ‘आइसोलेसनमा बेड बस्नुपर्छ । तर, यहाँ बेड खाली छैन ।’
‘घरमै आइसोलेसनमा बस्छु नि ।’
उनले आग्रह गरेपछि चिकित्सकले भने, ‘अस्पतालमै बस्नुपर्छ ।’
ती चिकित्सकले आइसोलेसनका लागि केही अस्पतालमा फोन लगाए । सबैतिरबाट जवाफ आयो– ‘बेड खाली छैन ।’
अनि भने– ‘अहिले पाटन अस्पताल जानुस्, त्यहाँ बेड मिल्न सक्छ।’
त्यसपछि ती युवक आफैं स्कुटी चलाएर पाटन अस्पतालतिर लागे ।
हामीले चिकित्सकहरुलाई सोध्यौं– ‘सुरुवाती चरणमै बेडको यस्तो चरम हाहाकार छ, पछि महामारी फैलियो भने के होला ?’
चिकित्सकहरुको एकै स्वर थिया– ‘स्वास्थ्य मन्त्रालयलाई सोध्नुस् ।’
००००
केहीछिनमै अरु तीनजना युवा बाइक चढेरै ईमर्जेन्सी कक्ष अगाडि आए । अगाडि चिकित्सक देखिनासाथ तीनमध्ये एक जनाले समस्याको बेलिबिस्तार एकै सासमा लगाए–
‘म युएसबाट नेपाल आएको १५ दिन भयो । उताबाट कोरोना नभएको रिपोर्ट लिएर आएको थिएँ । केही लक्षण छैन । तर, कसले प्रहरीमा उजुरी गरिदिएछ, घरमा प्रहरी आएर तनाब दिए । छरछिमेकले कुट्लान् भन्ने डर भयो, मेरो नमूना परीक्षण गरेर रिपोर्ट दिनुपर्यो ।’
उनको लक्षण र ट्राभल हिस्ट्री हेरिसकेपछि चिकित्सकले भने– ‘जाँच गर्नुपर्दैन, ढुक्क हुनुस्।’
‘छरछिमेकले त रिपोर्ट माग्छन्, के गर्ने ?’
‘घरमै आइसोलेसनमा बस्नू’ भन्दै चिकित्सकले सम्झाएर पठाए ।
त्यहीबेला नेपाल प्रहरी अस्पतालको एम्बुलेन्स त्यहाँ रोकियो ।
एम्बुलेन्समा एक प्रहरी जवान अलास–तलास परेर बसेकी थिइन् । उनलाई आइसोलेसनमा राख्ने अवस्था आइसकेको थियो । प्रहरी जवानलाई प्रहरी अस्पताल नलगी यता ल्याएको देखेपछि टेकु अस्पतालका चिकित्सकले सोधे– ‘प्रहरी अस्पतालकै आइसोलेसनमा नराखेर किन यहाँ ल्याएको ?’
प्रहरी अस्पतालबाट आएका एक व्यक्तिले भने, ‘हामीसँग त पीपीई नै थिएन।’
‘हामीसँग चाँहि कहाँ छ त पीपीई ? खै ? उतै आइसोलेसनमा राखेर ल्याबमा नमूना पठाउनुपथ्र्याे नि,’ टेकु अस्पतालका चिकित्सक कड्किएपछि प्रहरी अस्पतालबाट आएका ती व्यक्ति चुप भए ।
त्यसपछि टेकु अस्पतालका एक डाक्टरले बिरामीलाई ओराल्दै भित्र छिरे । एम्बुलेन्स निस्कियो ।
मंगलबार करिब साढे ३ घण्टा टेकु अस्पतालको प्राङ्गणमा बस्दा अनेकथरिका दृश्यहरु देखिए । अधिकांश दृश्यले प्रष्ट जवाफ दिन्थ्यो– सरकारको कमजोर तयारी, बेड र पीपीईको अभाव, समन्वयको अभाव अनि चिकित्सकहरुको डर ।’
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4