
२८ चैत, काठमाडौं । उद्योगी व्यवसायीहरुको संगठन नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरस (कोभिड-१९) को महामारीको चपेटामा परेको निजी क्षेत्रका लागि १७ बुँदे माग अघि सारेको छ ।
महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको उद्योगी व्यवसायीहरुको टोलीले शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटी आफ्ना मागहरु सुझावको रुपमा बुझाएको छ । यसअघि नेपाल राष्ट्र बैङ्कले ल्याएको सहुलियत प्याकेजलाई अपुरो भन्दै महासंघले आफ्ना सुझावहरु कार्यान्वयन गर्न अर्थमन्त्री समक्ष आग्रह गरेको हो ।
महासंघले लकडाउन पछि उद्योग-व्यवसायमा कार्यरत रहेका कर्मचारीहरुलाई तलब दिन समेत समस्या परेकोभन्दै दुई प्रतिशत ब्याज दरमा ऋण प्राप्त गर्ने गरी पुनर्कर्जाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।
उक्त ऋण कम्पनी तथा फर्मले किस्ताबन्दीमा दुई वर्षभित्र तिर्ने व्यवस्था मिलाइनुपर्ने महासंघको माग छ । बैङ्कको ब्याज लागतलाई न्यूनीकरण गर्न पर्यटन, निर्यात, उत्पादनमूलक र कृषि क्षेत्रको कम्पनी तथा फर्म (प्रतिष्ठान) को एक वर्षको दुई प्रतिशत ब्याजदर हुनेगरी पुनर्कर्जाको व्यवस्था गरिनुपर्ने महासंघको माग छ ।
अन्य सम्पूर्ण साना, मझौला र ठूला कम्पनी तथा फर्म (प्रतिष्ठान) को छ महिनाको ब्याज दुई प्रतिशत ब्याज दरमा हुनेगरी पुनर्कर्जाको व्यवस्था गरिनुपर्ने र उक्त ऋण कम्पनी तथा फर्मले किस्ताबन्दीमा एक वर्षभित्र तिर्ने व्यवस्था मिलाउन सरकारसँग महासंघले आग्रह गरेको छ ।
महासंघले हालको निक्षेप र कर्जा लगानीबीचको अनुपात (सीसीडी रेसियो) लाई खुकुलो गर्नुपर्ने, बचत र ऋणबीचको ब्याजदर अन्तर (स्प्रेड रेट) लाई ०.५ प्रतिशत बिन्दुले घटाउनुपर्ने साथै बैङ्कको सबै प्रकारको कर्जाको ब्याजदर तीन प्रतिशत विन्दुले घटाउने उपाय खोज्नुपर्ने माग गरेको छ ।
महामारीको बीमा नहुने भए पनि यसलाई समावेश गर्नसमेत महासंघले आग्रह गरेको छ । महासंघले आफ्नो मागको १७ औं बुँदामा करमा समेत छुट सुविधा माग गरेको छ ।
यस्ता छन् महासंघले गरेका माग
प्रतिक्रिया 4