+
+

‘कोरोना परीक्षणको बहानामा कतारले आप्रवासी कामदार निकाल्यो’

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ४ गते १५:५१

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीले सयौँ आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौँलाई स्वेच्छाचारी ढङ्गबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

गत फागुन २९ र ३० मा कतार प्रहरीले गिरफ्तार गरेको २० नेपाली श्रमिकसँग एम्नेस्टीले गरेको अन्तर्वार्तामा उनीहरुले कोभिड–१९ परीक्षण गर्ने भनेर हिरासतमा लगिएको र त्यहाँ धेरै दिनसम्म राखेर पछि नेपाल फर्काएको बताएका छन् ।

नेपाली कामदारलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले सबैलाई कोभिड–१९ को परीक्षणका लागि लागेको तथा परीक्षण सकिएपछि उनीहरूलाई आ–आफ्नो आवासमा फर्काइदिने भनेको श्रमिकका भनाइ उद्धृत गर्दै एम्नेस्टीले उल्लेख गरेको छ ।

उनीहरूलाई किन यस्तो व्यवहार गरिएको थियो भन्ने कुराको स्पष्टीकरण अझैसम्म नपाएको एम्नेस्टीले जनाएको छ । एम्नेस्टी इन्टरनेसनल अन्तर्राष्ट्रिय मामिलासम्बन्धी निर्देशक स्टिभ ककबर्नले भनेका छन्, “न त उनीहरूले आफ्नो हिरासत र निष्कासनविरुद्ध कुनै उजुरी नै गर्न सकेका थिए । अमानवीयरुपमा निकै दिन बिताएपछि धेरैजसोलाई नेपाल जाने विमानमा राख्नु अघि उनीहरूलाई आफ्नो सरसामान ल्याउन पनि दिइएको थिएन ।”

कतारी अधिकारीले यो महामारीलाई आप्रवासी श्रमिकविरुद्ध थप दुव्र्यवहार गर्ने अवसरको रूपमा प्रयोग गरिनु दुःखद् भएको एम्नेस्टीले टिप्पणी गरेको छ । “यी दुव्र्यवहारमा परेका धेरैजसोले उनीहरूमा कोरोना सङ्क्रमणको परीक्षण गर्न लागिएको भन्दै प्रहरीले धोका दिएको महसुस गरेका छन् । कोभिड–१९ मानिसलाई स्वेच्छाचरी रूपमा नियन्त्रणमा लिने कुनै बहाना होइन”, एम्नेष्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दुव्र्यवहारमा परेका आप्रवासी श्रमिकलाई कतारले परिपूरण उपलब्ध गराउनुपर्ने र उनीहरूले चाहेको खण्डमा कतार फर्कन दिनुपर्ने जनाएको छ । “उनीहरू कार्यरत कम्पनीहरूले श्रमिकले पाउनुपर्ने पारिश्रमिकलगायत अन्य रोजगार सुविधाहरू यथाशीघ्र भुक्तानी गर्नुपर्दछ”, एम्नेष्टीले भनेको छ ।

कसरी भयो गिरफ्तारी

गत फागनु २९ र ३० गते सयौँ आप्रवासी श्रमिकलाई प्रहरीले घेरा हालेर नियन्त्रणमा लियो र दोहाको औद्योगिक क्षेत्र, बारवा शहर र लेबर शहरसमेत विभिन्न भागमा उनीहरूलाई हिरासतमा राखिएको थियो । आफ्नो आवासबाट बाहिर सब्जी खाद्यान्नलगायत सरसामान किनमेल गर्न गएको बेला उनीहरूलाई गिरफ्तार गरिएको थियो ।

केही श्रमिकले प्रहरीले उनीहरूलाई खासगरी कोभिड–१९ परीक्षणको लागि लान लागेको र पछि उनीहरूको आवासमै फर्काइदिने भनी भनेको बताएका थिए । अन्य श्रमिकले भने प्रहरीले अरेबिक भाषामा कुरा गरेको र आफूले ‘कोरोना’ भन्ने शब्द मात्र बुझेको बताएका थिए ।

“हामीलाई भाइरस परीक्षणका लागि रोकिएको भनियो । प्रहरीले डाक्टर आएर भाइरस जाँच्ने भनी बतायो तर उनीहरूले हामीलाई ढाँटेका रहेछन्”, पीडित आप्रवासी कामदारको भनाइ उद्धृत गर्दै एम्नेष्टीले भनेको छ । त्यसपछि ती श्रमिकलाई बसमा राखियो र औद्योगिक क्षेत्रको हिरासत स्थलमा लगियो जहाँ उनीहरूको कागजात र मोबाइल फोन जफत गरियो । उनीहरूको फोटो खिच्नुका साथै औँठाको छाप पनि लिइयो । श्रमिकलाई विभिन्न देशका सयौँ अन्य मानिसहरूसँगै अमानवीय अवस्थामा हिरासतमा राखिएको थियो । उनीहरूलाई खाट र ओड्ने ओछ्याउने नभएको एकदमै भिडभाडयुक्त कोठाहरूमा पर्याप्त पानी र खानासमेत नदिएर राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?