+
+

मजदुरलाई रेल भाडा दिने भारतीय कांग्रेसको घोषणा

'विदेशमा भएकालाई निःशुल्क ल्याउने, स्वदेशका मजदुरसँग रेल भाडा किन लिने ?'

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २२ गते १०:१०

२२ वैशाख, काठमाडौं । लकडाउनका कारण समस्यामा परेका मजदुरहरूसँग रेल भाडा लिइएको भन्दै भारतीय कांग्रेसले सरकारको आलोचना गरेको छ । भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले प्रेस विज्ञप्ति जारी गर्दै मजदुरहरूको रेल भाडा पार्टीले तिरिदिने बताएकी छिन् ।

विदेशमा अलपत्र परेकाहरूलाई निःशुल्क हवाईजहाजबाट उद्धार गर्ने तर देशभित्रैका मजदुरहरूसँग आफ्नो घर जाँदा भाडा लिने गरिएको भन्दै गान्धीले आलोचना गरेकी हुन् ।

गान्धीले जारी गरेको विज्ञप्तिमा कांग्रेसको प्रदेश कमिटीको हरेक संगठनले सबै मजदुरहरूलाई रेलको भाडा दिने उल्लेख छ । भारतीय कांग्रेसले पटक-पटक मजदुरहरूलाई घरसम्म पुर्‍याउन निःशुल्क रेल सेवाको व्यवस्था गर्न माग गर्दा पनि सरकारले नसुनेको विज्ञप्तिमा लेखिएको छ ।

मोदी सरकारको आलोचना गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘मजदुरहरू राष्ट्र निर्माणका मेरुदण्ड हुन् । हामी विदेशमा फसेका भारतीयहरूलाई आफ्नो कर्तव्य सम्झिएर सित्तैमा ल्याउन सक्छौँ । गुजरातमा केवल एक कार्यक्रममा सरकारी ढुकुटीबाट एक अर्ब रुपैयाँ खर्च गर्न सकिन्छ। रेल मन्त्रालयले कोरोना कोषमा एक सय ५१ करोड दिन सक्छ भने यी मजदुरहरूलाई निःशुल्क घर फर्काउन किन सकिँदैन ?’

सोनियाको विज्ञप्तिमा लेखिएको छ, ‘न रासन, न पैसा, न औषधि, न साधन, केवल आफ्नो परिवारलाई भेट्न गाउँ फर्किने चाहना । उनीहरूको व्यथा सोच्दा पनि शरीर काँप्छ । …दुःखको कुरा भारत सरकार र रेल मन्त्रालयले यी श्रमिकहरूबाट यस्तो कठिन समयमा पनि रेलको भाडा असुलिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?