
३० वैशाख, काठमाडौं । लकडाउन लागेको डेढ महिना नाघिसक्यो । थाहा छैन, कहिलेसम्म लम्बिन्छ। जहिलेसम्म लम्बियोस्, ललितपुरको गोदावरीमा बस्ने गजेन्द्र नेम्वाङ र श्रीमती सविता नेम्वाङलाई लकडाउनले खासै अत्याएको छैन । उनीहरू निरन्तर काममै व्यस्त छन्।
गोदावरीमा विगत १० वर्षदेखि कुखुरापालन गर्दै आएका उनीहरूको व्यस्तता लकडाउनले कम गराउन सकेको छैन । कुखुरा पाल्नका लागि उनीहरूले ७ रोपनी जग्गा भाडामा लिएर नेहा कृषि फार्म खोलेका छन् । त्यहाँ लेयर्स जातका दुई हजार कुखुरा पालेका छन् । केही लोकल कुखुरा पनि पालेका छन् ।
अनलाइनखबरकर्मी नेहा कुखुरा फार्ममा पुग्दा गजेन्द्र अण्डा टिप्दै थिए । नजिकै दुई महिला सहयोगीका साथ सविता पनि अण्डा टिपेर क्रेटमा हाल्दै थिइन् ।
औसतमा दैनिक एक हजार छ सय अण्डा उत्पादन हुने गरेको गजेन्द्रले सुनाए । लकडाउनअघि जसरी काम हुन्थ्यो, त्यसरी नै काम भइहेको उनले बताए ।
सरकारले फ्याट्ट लकडाउन घोषणा गर्दा सुरुमा उनीहरूमा केही अन्योलता सिर्जना भएको थियो । लकडाउनअघि उपत्यकाका विभिन्न ठाउँहरूमा रहेका सप्लायर्स कहाँ अण्डा लिएर गजेन्द्र आफैँ जान्थे । सप्लायर्सलाई अण्डा डेलिभरी गरेर फर्कने गरेका गजेन्द्रलाई लकडाउनपछि कसरी बिक्री गर्ने भन्ने चिन्ता थियो ।
गजेन्द्र भन्छन्, ‘सुरुमा अन्योल भएपछि मैले ललितपुरका सिडियो सा’बलाई फोन गरेँ । उहाँले कुखुरा फार्मका लागि पास पाइने बताउनुभयो । तीन घण्टा लाइनमा लागेर पास ल्याएँ । त्यसपछि अण्डा लैजान समस्या भएन ।’
अझ अहिले त अत्यावश्यक वस्तु ढुवानी भनेर प्रहरीले बाटामा गाडी नरोक्ने गरेको गजेन्द्र सुनाउँछन् । उनी भन्छन्, ‘पहिले जसरी बिक्री हुन्थ्यो, अहिले पनि त्यसरी नै बिक्री भइरहेको छ ।’
तर, अण्डाको मूल्य भने लकडाउनका बेला अलिकति घटेको उनले सुनाए । लकडाउनअघि एक प्याकेटको १९ सय देखि दुई हजार रुपैयाँसम्म बिक्री भइरहेको थियो । एउटा प्याकेटमा सात क्यारेट हुन्छ । एक क्यारेटमा ३० वटा अण्डा हुन्छन् । अर्थात २१० वटा अण्डाको मूल्य दुई हजार रुपैयाँसम्म बिक्री हुने गरेको थियो । प्रतिगोटा ९/१० रुपैयाँ आउँथ्यो ।
लकडाउनपछि दुई हजारमा बिक्ने अण्डा १४ सय रुपैयाँमा झरेको गजेन्द्रले सुनाए । अण्डाको भाउ कहिले थोरै बढ्ने त कहिले धेरै घट्ने भइरह्यो । तर, यसलाई गजेन्द्र सामान्यरुपमै लिन्छन् । तथापि, अण्डाको मूल्य सरकारले नै तोकिदिए राम्रो हुने सविताको माग छ ।
अण्डाको मूल्य स्थिर हुनुपर्ने र न्यूनतम मूल्य सरकारले तोकिदिए सबैलाई राम्रो हुने बताउँदै सविताले भनिन्, ‘हामीलाई अरू खास केही समस्या छैन, चिन्ताको विषय भनेको मूल्यको नै हो ।’
जग्गा भाडामा लिएर कुखुरा पालन गर्ने योजना सुरुमा सविताले नै बनाएकी थिइन् । उनीहरूको घर पाँचथर हो । सवितालाई पहिले विदेश जाने मन पनि थियो ।
‘मेरा दिदीबहिनीहरू सबै बाहिरै हुनुहुन्छ, मलाई पनि विदेश जान ज्यादै मन लागेको थियो’ सविता भन्छिन्, ‘घरमा सानी छोरी थिइन्, त्यही भएर नेपालमै केही गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि २०६७ सालमा कुखुरा व्यवसाय सुरु गर्यौं ।’
सविताका अनुसार सुरुमा उनीहरूले बोइलर जातको कुखुरा पालेका थिए । सुरुका केही वर्ष राम्रै आम्दानी भयो । निराश हुनुपर्ने अवस्था नै थिएन । चार वर्षपछि धेरै कुखुराहरू मर्न थाले ।
तर, यसबाट उनीहरू हतोत्साही भएनन् । उनीहरूले कुखुराको नयाँ जात पाल्ने विचार गरे । व्यवसायमा केही परिवर्तन गर्दा राम्रै हुन्छ भन्ने लागेकाले लेयर्स जातको कुखुरा पाल्न सुरु गरिएको गजेन्द्र बताउँछन् ।
दुईवटा ठूला खोरमा दुई हजार माउ कुखुरा छन् । ती सबैले अण्डा दिन्छन् । राम्रै उत्पादन भइरहेको र अहिले व्यवसायबाट सन्तुष्ट रहेको नेम्वाङ दम्पतीले अनलाइनखबरलाई बताए ।
उनीहरूले केही महिनायता लोकल कुखुरा पनि पालेका छन् । सविताले भनिन्, ‘लोकल कुखुराबाट के-कस्तो नाफा हुन्छ, थाहा छैन ।’
कुखुरापालनले उनीहरूलाई राम्रै फाइदा पुगेको छ। गोदावरीमा घर बनाएका छन् । गजेन्द्र अध्यात्ममा रुचि राख्छन् । दुवैजना मिलेर काममा खट्छन् ।
सरकारले किसानलाई हेरेन भन्ने बेलाबखतमा गुनासाहरू सुनिन्छन् । सरकारी अनुदानका कुराहरू पनि धेरै आउँछन् । तर, नेम्वाङ दम्पतीलाई सरकारी अनुदानको खासै अपेक्षा छैन । सरकारले यही नै गरिदिए हुन्थ्यो भन्ने खास आश पनि छैन । सरकारसँग उनीहरूको न कुनै गुनासो छ, न त कुनै अपेक्षा नै ।
उनीहरूले व्यवसायका लागि कृषि विकास बैङ्कबाट ऋण पनि लिएका छन् । कुखुरा पालनमा लगाएका कारण बैङ्कबाट ब्याज अनुदान पाएको गजेन्द्र सुनाउँछन् ।
‘कृषि विकास बैङ्कले ब्याज अनुदान दिएको छ। अरू त्यस्तो केही अपेक्षा छैन, जे गर्छाैं हामी नै गर्छौँ ।’ गजेन्द्रले अनलाइनखबरसँग भने ।
सरकारसँग सविताको एउटै माग रहेछ, ‘अण्डाको मूल्य सकभर सरकारले तोकिदेओस् ।’
भिडियो र तस्वीरहरुः चन्द्र आले/अनलाइनखबर
प्रतिक्रिया 4