
१० जेठ, डोटी । ‘हाम्रो उठबस सबै उतैतिर हुन्छ । अहिले नै केही भन्यो भने भोलि गाह्रो हुन्छ, नुन खान पनि पाइदैन । त्यसैले यस बारेमा मलाई नसोध्नुहोस् ।’
नेपाल सरकारले सार्वजनिक गरेको नयाँ नक्साको बिषयमा जिज्ञासा राख्दा दार्चुला जिल्ला ब्यास गाउँपालिका-१ का एक स्थानीयले दिएको प्रतिक्रिया हो यो ।
सरकारले यसअघिको नक्सामा छुटेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेकामा खुशी नभएर उनले प्रतिक्रिया दिन नखोजेका होइनन्, उनको बाध्यता नै यस्तै छन् । ‘हामी नुन किन्न भारतीय बजारमै जानुपर्छ’ अर्का स्थानीयले भने ‘भोलि हामीलाई समस्या हुन्छ ।’
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को डरले व्यास गाउँपालिका-१ का बासिन्दा बोल्न नसकेको बताउँछन् दार्चुलाका पत्रकार सन्तोष कोट्टारी । उनी भन्छन् ‘व्यापार उतै छ, उठबस उतै छ । भारतको विरोधमा बोल्यो भने सीमा नाकामा एसएसबीले दुःख दिन्छ भन्ने चिन्ता छ उनीहरुलाई ।’
सौका समुदायको बसोबास रहेको उक्त क्षेत्रमा नेपालबाट जानका लागि घोडेटो बाटोसम्म छैन । महाकाली नदीमा रहेको तुइन पनि भारतले बन्द गरिदिन्छ कि भन्ने चिन्ता उनीहरुमा छ।
व्यास गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीका अनुसार हिउँदमा जिल्ला सदरमुकाम झरेका छाङरु र तिंकरबासी अहिलेसम्म गाउँ फर्किन सकेका छैनन् । व्यासका बासिन्दा हिउँद सुरु भएसंगै जिल्ला सदरमुकाम आउने र मौसम तात्दै जाँदा फेरि उतै जाने गर्छन् ।
तर यस बर्ष लकडाउनका कारण भारतको बाटो बन्द भएपछि उनीहरु जान पाएनन् । ‘नेपालको बाटो जोखिमपूर्ण छ, गाईबस्तु लैजान सकिदैन’ अध्यक्ष बुढाथोकीले भने ‘भारतले हिजो मात्र नाका खोलेको हुँदा उनीहरु बाटोमै छन् ।’
लकडाउन भएका कारण सबैको ध्यान आफू कसरी बच्ने भन्नेमै केद्रित भएको अध्यक्ष बुढाथोकीको भनाइ छ । उनलाई भने सरकारले जारी गरेको नयाँ नक्साले निकै खुशी वनाएको छ । उनी भन्छन् ‘हाम्रो गुमेको भूमि नक्सामा फिर्ता आएको छ, अब सधैंका लागि फिर्ता ल्याउने गरी सरकारले कदम चाल्नु जरुरी छ ।’
जिल्ला सदरमुकाममा भने नयाँ नक्साले उत्साह जगाएको बताउँछन् नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर धामी । उनी भन्छन् ‘यो ऐतिहासिक कार्य हो, यसले हामीलाई एक प्रकारको उत्साह दिएको छ ।’
धामीले सीमामा सुरक्षा बल पठाउनु पनि अर्को खुशीको कुरा भएको बताए । ‘तिंकर सडक र व्यास जोड्ने बाटो नेपाली सेनाले निर्माण गर्दैछ’ धामीले भने ‘सरकारका यी कदमहरुले पनि दार्चुलाबासीहरुमा आश जगाएको छ ।’
अब सरकारले कुटनीतिक तवरबाट भारतसंग बार्ता गरि आफ्नो भूमि फिर्ता ल्याउनुपर्ने बताउँछिन् दार्चुला बहुमुखी क्याम्पसका प्राध्यापक धना धामी । उनले भनिन् ‘नक्साले एक चरणको उत्साह दिएको छ, यो सरकारको सकारात्मक कदम हो, अव भूमि फिर्ता ल्याउने गरि लाग्नु पर्छ ।’
उनी सरकारले तिंकर सडक छिटो भन्दा छिटो निर्माण गरी सीमामा बस्ने समुदायहरुलाई भारतको परनिर्भरताबाट मुक्त गराउनुपर्ने माग गर्छिन् । उनी थप्छिन् ‘नुन किन्न पनि भारत जानुपर्ने भएका कारण राष्ट्रियताको पक्षमा बोल्न सक्दैनन् सीमा क्षेत्रका बासिन्दाहरु ।’
प्रतिक्रिया 4