
११ जेठ, विराटनगर । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश १ सरकारले अस्पतालको संख्या थप्ने तयारी सुरु भएको छ । यसैक्रममा विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरी (सिद्धबाबा)ले प्रयोग गर्दै आएको चतरास्थित जगतगुरु श्रीरामानन्दाचार्य सेवापीठको अतिथि गृहमा पनि कोरोना अस्थायी अस्पताल बनाइने भएको छ ।
बलात्कार आरोपमा गिरी पक्राउ परेयता कम प्रयोगमा आएको आश्रमको अतिथि गृहमा दुई सय शय्याको अस्थायी अस्पताल बनाउने निर्णय प्रदेश १ सरकारको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिले गरेको हो । गिरी हाल पुर्पक्षका लागि थुनामा छन् ।
कोरोना संक्रमित बढ्न थालेपछि झापा, सुनसरी र मोरङमा अस्पताल थप्ने तयारी सुरु भइसकेको छ । विराटनगरमा थप एक सय, झापामा दुई सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामानन्दाचार्य सेवापीठको भवन, नेपाली सेनाको इटहरी ब्यारेकमा गरी जम्मा ८ सय ५० बेड राख्ने तयारी सरकारले गरेको छ ।
प्रदेश १ मा हाल सुनसरीको धरान र मोरङको विराटनगरमा कोरोना संक्रमितको उपचार गर्ने अस्पताल छ । विराटनगरको कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा ५० शय्या र धरानमा एक सय शय्या छ । धरानको अस्पताल आइतबारबाट सञ्चालन आउँदैछ । तर, विराटनगरमा संक्रमित नअटेपछि झापा र सुनसरीका २७ जना संक्रमित धरानमा राखिएको छ ।
लेभल ३ को (गम्भीर प्रकृतिको उपचार गर्ने) अस्पताल धरानमा राखिएकाले २७ जनालाई केही दिन भित्र गोठगाउँमा निर्मित कोरोना उपचार केन्द्रमा सार्ने प्रदेश सरकारको तयारी छ ।
११ भेण्टिलेटर तयार
प्रदेश १ मा गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचारका लागि ११ वटा भेण्टिलेटर तयारी अवस्थामा छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ३ वटा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आठ वटा भेण्टिलेटर छन् ।
प्रतिष्ठानले भण्टिलेटरको संख्या २० वटा पु¥याउने तयारी गरिरहेको उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीका सल्लाहकार दिलिप भट्टराईले जानकारी दिए । एकसय शैय्याको अस्पतालमा तत्काल ५ वटा आईसीयू बेड छन् । यो पनि आवश्यकता अनुसार थप गर्न सकिने उनले बताए ।
कोशी अस्पताल विराटनगरका फोकल पर्सन डाक्टर डेनप्रसाद आचार्यका अनुसार विराटनगरमा निर्माण गरिएको ५० शय्याको कोभिड १९ उपचार केन्द्रमा १० वटा आईसीयू बेड छन् । अवस्था अनुसार कोशीमा ७० वटासम्म बेड थप गर्न सकिन्छ ।
कोरोना संक्रमितको उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लेबल ३ को अस्पतालको रुपमा विकास गरिएको छ । सो अस्पताललाई प्रदेश १ र २ का गम्भिर प्रकृतिका कोरोना संक्रमितको उपचारका लागि प्रयोग गरिने भट्टराईले बताए ।
१५ हजार बेडको होल्डिङ एरिया
प्रदेश १ सरकारले दैनिक एक हजारको दरले कोरोना परीक्षणको तयारी गरिरहेको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेशमा तत्काल ४० हजारको कोरोना परीक्षण गर्ने तयारी भइरहेको बताए ।
प्रदेश सरकारले उच्च जोखिम जिल्लामा जनसंख्याको १ प्रतिशत, जोखिम भएका क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कुल जनसंख्याको ०.५० प्रतिशत जनसंख्याको परीक्षण गर्नेछ ।
प्रदेश १ मा भारतबाट तत्काल २० हजार फर्कने अनुमान गरिएको छ ।
भारतबाट आएकाहरुलाई राख्न ईलाम, झापा, मोरङमा र सुनसरीमा १५ हजारलाई राख्ने होल्डिङ एरिया निर्माण सुरु भएको छ ।
नेपाल प्रवेश गरेकालाई क्वारेन्टाइनमा राख्न स्थानीय तहहरुले पनि क्वारेन्टाइनको व्यवस्था गरिरहेका छन् ।
प्रतिक्रिया 4