+
+

पेरिसमा रानी लड्दा‍‍‍….

डा. रामभक्त ठाकुर डा. रामभक्त ठाकुर
२०७७ जेठ १९ गते १७:५०

अन्तर्राष्ट्रिय सम्बन्धमा उत्कृष्ट नतिजाका साथ पोस्ट ग्र्याजुएट गरेर १९८१ अगस्टको आखिरमा फ्रान्सबाट काठमाडौं फर्केपछि मैले महत्वका साथ भेट्नुपर्ने पहिलो व्यक्ति परराष्ट्रसचिव जगदीश शमशेर राणा नै हुनुहुन्थ्यो ।

उहाँले नै मलाई परराष्ट्र मन्त्रालयबाट छात्रवृत्तिमा पेरिस पठाउनुभएको थियो । मेरो तरक्की देखेर उहाँ भित्रैदेखि खुसी भएको मैले महसुस गरेँ । सचिवले मलाई धेरै माया गर्दै अरूलाई पनि बोलाएर खुसी व्यक्त गर्नुभयो ।

भोलिपल्ट कार्यालय पुग्नासाथ बोलाएर राणाज्यूले भन्नुभयो, “ए रामभक्त, पेरिसमा हुन लागेको कम विकसित राष्ट्रहरूको प्रथम शिखर सम्मेलनमा श्री ५ सँग तिमी पनि हिँड । अँ ! त्यहाँ राजाले गर्ने सम्बोधनको एउटा मस्यौदा पनि २–४ दिनभित्र तयार पारेर मलाई देऊ ।”

म अचम्मित भएँ । ममाथि भाग्यले कृपामाथि कृपा गरिरहेको थियो । बोल्नै सकिन । हात जोडेर त्यसै उभिराखेँ ।

सचिवले फेरि भन्नुभयो, “म अहिले दुई बजे दरबार जाँदैछु, तिमी पनि हिँड । राजाको दर्शन गरेर आफ्नो काममा लाग्नु ।”

परराष्ट्र सेवाको युवा अफिसर, मलाई छाना फोरेर भाग्य झरे जस्तो अनुभव भइरहेको थियो । मनमनमा सोचेँ– पहाड–तराई भन्ने केही हुँदो रहेनछ । मेहनती र इमान्दार भए सबै कुरा पाइने रहेछ । मधेशी कर्मचारीको दुर्गति हुन्छ भन्ने सुनेको थिएँ, मेरो हकमा भने त्यसको ठिक उल्टो भइरहेको थियो ।

अपराह्न सवा दुईबजे सचिवज्यूसँगै राजदरबारको मंगल सदन पुगियो । केहीबेर बाहिर कुर्नुप¥यो । म जीवनमा पहिलो चोटि नारायणहिटी दरबार पुगेको थिएँ, त्यो पनि सिधै राजालाई भेट्न । एक किसिमले डर पनि लागिरहेको थियो । दरबारीया पारा मलाई थाह थिएन, केही गल्ती होला कि भन्ने डर भइरहेको थियो ।

बोलावट भएपछि भित्र पसेर सचिवज्यूले जस्तैगरी राजाको दर्शन गरेर उभिइरहेँ । सचिवले भन्नुभयो, “सरकार ! यो सेक्सन अफिसर रामभक्त ठाकुरले पेरिसबाट धेरै राम्रोसँग पोस्ट ग्र्याजुएट गरेर आएको छ । यसलाई पनि भ्रमण दलमा सामेल गरुँ कि ? त्यहाँ भाषामा सजिलो हुनेछ ।”

म हात जोडेर खडा थिएँ ।

राजाबाट सोधनी भयो, “कति समय पढ्यौ ?”

“डेढ वर्ष सरकार ।”

त्यसपछि सचिवले मलाई बाहिर कुर्न भनेर आफू राजासँगको मिटिङमा बस्नुभयो ।

मैले चार दिनमा एउटा भाषण लेखेर सचिवज्यूलाई दिएँ । पछि थाहा पाएँ– भाषण पाँच ठाउँमा लेखाइएको रहेछ ।

साता दिनभित्रै राजाको भ्रमण दलमा मेरो नाम स्वीकृत भयो । पढेर आएको दुईसाता भित्रै म फेरि पेरिस रवाना भएँ । अग्रिम रवाना हुनेमा मसँगै सूचना विभागका महानिर्देशक, एक पत्रकार सैनिक अधिकृत र प्रहरीका एसपी थिए ।

चाल्र्स द गाल विमानस्थलमा नेपाली राजदूतावासका कर्मचारी हामीलाई लिन आएका थिए । उनले हामीलाई सोझै साँजे लिजे नजिक रु द वासिंगटनस्थित हाम्रो राजदूतावासमा लगे । त्यहाँ राजाको भ्रमणसँग सम्बन्धित चाँजोपाजोका कुराहरू भए । राजदूत निवासमै खाना खुवाएर अपराह्न तीन बजेतिर हामीलाई कन्कर्ड नजिकैको होटलमा पुर्‍ याइयो ।

म त्यो समूहमा सबभन्दा कम उमेरको थिएँ । फ्रेन्च भाषा जानेकोले गर्दा सबैले मलाई महत्व दिइरहेका थिए । साँझमा फेरि हामीलाई लिन राजदूतावासको गाडी आयो । पेरिसको झिलिमिली, युगल पुरुष–महिला, फेसन, शालीनता हेर्दै साँजे लिजे एभेन्युबाट चाल्र्स द गाल एत्वाल मोडिएर २०–२५ मिनेटमा राजदूतावास पुग्यौं । त्यस बेला मलाई पेरिस पृथ्वीको स्वर्ग नै हो भन्ने लाग्न थालेको थियो ।

तीन तल्ले फ्रेन्च डिजाइनको घर । बाहिर ठूलो ढोका । अर्दलीले हामीलाई स्वागतगरी माथि लिएर गए । राजदूत साहेबले हामीलाई न्यानो स्वागत गर्नुभयो र सरकारको सवारी कार्यक्रम र अन्य क्रियाकलापबारे चर्चा गर्दै भोलिपल्टदेखि नै काममा लाग्नुपर्ने बताउनुभयो । बेलुकाको खाना त्यही खाएर हामी सुत्न होटल फर्कियौं ।

भ्रमण दलमा ३२–३३ जना आउने भएपछि सबैको सुत्ने, खाने, यातायात आदिको व्यवस्था गर्नेतर्फ हामी जुट्यौ । राजारानीको लागि कन्कर्ड स्क्वार पश्चिमको होटल कन्कर्डको नेपोलियन सुइट रिजर्भ गरिएको थियो ।

सवारीको राजदूतसहित हामी सबै चाल्र्स द गाल विमानस्थल पुग्यौं । राजालाई स्वागत गर्न फ्रेन्च सरकारकाका को–अपरेसन मिनिस्टर विमानस्थलमा थिए ।

भोलिपल्ट अतिकम विकसित राष्ट्र (एलडीसी)को सम्मेलन थियो, जसको उद्घाटन आतिथेय राष्ट्रका राष्ट्रपति फंसर्वा मितराबाट हुँदै थियो । त्यही सम्मेलनमा राजा वीरेन्द्रबाट पनि सम्बोधन हुँदै थियो । हामी सबै खुबै उत्साहित थियौं ।

सारा कुरा मिलाएपछि भोलिपल्ट राजदूतसहित नेपाली टोली सम्मेलनस्थल युनेस्को हलको मन्चमा राजारानीलाई लिएर राखेर दर्शकदीर्घामा गएर बस्यौं । राजाको सम्बोधनको सबैले ठूलो तारेफ गरे । मुख्य काम सकिएपछि भ्रमण दलका सदस्यहरू आ–आफ्ना कमिटीहरूमा छलफल गर्न थाले ।

साँझ राजा वीरेन्द्र भ्रमण दलका सदस्यहरूसँगै खाना खाँदै कुराकानी गरिरहनुभएको थियो । त्यहीबीचमा रानी ऐश्वर्याले फ्रेन्च सिफन साडी किन्ने इच्छा व्यक्त गर्नुभयो । शनिबार रातको ९ बज्न लागेको थियो । भोलिपल्ट आइतबार पेरिसका सबै पसल बन्द रहन्छ ।

अनि त्यो कामको जिम्मा मैले पाएँ । राजाका निजी सचिव नारायणप्रसाद श्रेष्ठसहितका महानुभावहरू मलाई हेरिरहनुभएको थियो । मेरो शरीरमा चिटचिट पसिना निस्कयो ।

आपत्को त्यो घडीमा मैले फ्रेन्च सिफन बेच्चे रामजे नामका यहुदीलाई सम्झिएँ । उसको पसल ओपेरा जाने बाटोमा पर्थ्यो । पहिला पढ्न बस्दा म उसको पसलमा गएको थिएँ र अहिले संयोगवश पसलको फोन नम्बर पनि मसँग रहेछ ।

दौडेर नजिकै रहेको आफ्नो होटल गएर साडी व्यापारी रामजेलाई फोन गरेँ । मैले एक सासमा आफ्नो कुरा सकेपछि थुप्रै नेपालीलाई साडी बेचिसकेका उसले भन्यो, “पसल बन्द गरे पनि एक बजेसम्म म ढोका खोलेर बस्छु, आए हुन्छ ।”

हामी रानीलाई लिएर रामजेको पसलमा पुग्यौं । तल पसल बन्द भए पनि माथि जाने ढोका खुला थियो । एक तलामाथिको स्टोरमा ऊ साडीहरू फिँजाएर बसेका थिए । उसले झ्यालतिरको बत्ती बालेर झुण्ड्याइएका साडीहरू पनि तानेर रानीलाई देखाउन थाल्यो ।

म रानीको छेवैमा उभेर दोभाषेको काम गरिरहेको थिएँ । अंगरक्षक मेजर कुनामा उभिएर हेरिरहेका थिए । त्यसैबेला रानीको नजर अलिपरको नयाँ डिजाइनमा पर्‍यो । रामजे त्यो साडी देखाउन लम्किसकेको थियो । म रानीलाई अघि बढ्ने ठाउँ छाड्दै थिएँ ।

त्यसैबेला खुट्टा भुइँको साडीमा चिप्लिएर वा केमा अल्झेर हो रानी अकस्मात् लड्न लाग्नुभयो । मैले तुरुन्त समातेर लड्नबाट जोगाएँ । अंगरक्षक झम्टेर आउँदासम्म रानी सामान्य अवस्थामा आइसक्नुभएको थियो ।

उप्रान्त रानीले रोजेका सबै साडी रामजेले भोलिपल्ट होटल कन्कर्डमा पुर्‍याइदिने जिम्मा लियो । हामीले रानीको फिर्ती सवारी चलायौं ।

होटलमा गएर एकछिन आराम गरेँ । अलि बेरमा लबीमा ओर्लिँदा त अवस्था असामान्य पाएँ । सबै गम्भीर, म जोतिर फर्किन्छु ऊ अर्कोतिर लाग्ने । अकस्मात् के भयो यस्तो ? म आश्चर्यमा परेँ ।

पछि थाह भयो– रानी लड्न लाग्दा मैले समातेको कुरालाई लिएर ठूलो खैलाबैला भएछ । सबै चुपचाप इसारामा कुराकानी गर्ने भइसकेका रहेछन् । कोही मलाई नराम्रो ग¥यौं भन्छन्, कोही दण्ड हुन्छ भन्छन् । कोही इनाम पाउन सक्ने पनि बताउँछन् ।

१५–२० मिनेटपछि राजाको निजी सचिव र परराष्ट्र सचिवले मलाई कुनामा लगेर सोध्नुभयो, “ए रामभक्त, खास भएको के हो ?”

मलाई खुट्टामुनिको जमिन हटेजस्तो लाग्यो । एकछिन त रिङ्गटा लाग्ला जस्तो भयो । सचिवज्यूले ढाडस दिँदै भन्नुभयो, “सत्य कुरा बताऊ रामभक्त, म अन्याय हुन दिन्नँ ।”

“रानी लड्न लाग्दा मैले दुवै हातले रोके, नत्र भुइँमा पछारिइबक्सन्थ्यो”, मैले धेरै हिम्मत जुटाएर भने, “मलाई अरू केही थाहा छैन ।’

“ल ठिक छ, चिया खाऊ”, उहाँले भन्नुभयो, “म सबै कुरा राजामा जाहेर गर्छु, तर कुरा धेरै गम्भीर छ ।”

मलाई अब समय काट्न मुस्किल पर्‍यो । सुरक्षा अधिकारी, पत्रकार सबै साथी मसँग बोल्न छाडे । मलाई मेरो भविष्य दाउमा लागेको भान भयो । खान पनि मन लागेन । मनमा ज्वारभाटा उठिरहेको थियो । चुपचाप आफ्नो कोठामा गएर ईश्वरलाई सम्झिँदै ओछ्यानमा लडेँ ।

भोलि बिहान नास्ताको समयमा सबै जम्मा भएर राजारानीको सवारी इटालीको भेनिसतिर चलाउने तयारीमा जुटे । मेरोबारे कसैले सोधेन ।

पेरिसबाट, भेनिस, दोहा, कराँची हुँदै राजारानीको नेपाल फिर्ता सवारी भयो । सबै आ–आफ्ना काममा लागे, मानौं पेरिसमा केही भएकै थिएन । केही दिनमै मेरो पनि द्वितीय सचिवको रुपमा चीनको नेपाली राजदूतावासमा पोस्टिङ भयो ।

म पेकिङ पुगेको केही दिनमै शाही भ्रमण दलमा पेरिसमा खटेका सबैले तक्मा पाए । रानीका कपाल कोर्ने सुसारे र हेयर ड्रेसरदेखि अर्दलीसम्मले पाए । म एकजनालाई मात्र छुट्याइयो ।

शाही भ्रमण दलका सबैलाई तक्मा दिने त्यसबेलाको चलनअनुसार नछुटाएको भएपछिका पदोन्नतिहरूमा म समकालीनहरूभन्दा पछि पर्ने थिइन, बरु अगाडि पर्ने थिएँ । रानी लड्दा जोगाएको पेरिसको त्यो घटनाले मलाई सधैं बिझाइरहन्छ ।

(ठाकुर इजिप्टका लागि नेपालका पूर्वराजदूत हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?