
८ असार, काठमाडौं । पाल्पाको पूर्वखोला गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि आफैंले निर्माण गरेको आइसोलेसन प्रयोग गर्ने भएको छ ।
सोमबार एकै पटक ८० जनामा कोरोना संक्रमण पुष्टि भएपछि वडा नम्बर २ मा रहेको सरस्वती मावि र वडा नम्बर ३ मा रहेको उद्ध माविमा ५० बेडको आइसोलेसन बनाएर संक्रमितको उपचार गरिने गाउँपालिकाका स्वास्थ्य सूचना अधिकृत मोहन ढकालले जानकारी दिए ।
उनले भने, ‘पूर्वखोला र रम्बा गाउँपालिकाले संयुक्त रुपमा रम्बाको टाउनस्थित रम्बा माविमा २५ बेडको आइसोलेसन बनाएका थियौं । त्यहाँ १० जना संक्रमित उपचाररत छन् । सोमबार एक्कासी ८० जना संक्रमित थपिएपछि त्यहाँ नअट्ने भयो । त्यसैले ५० बेडको आइसोलेसन बेड तयार पार्ने काम भइरहेको छ ।’
यस गाउँपालिकामा अहिलेसम्म ९२ जनामा कोरोना संक्रमण पुष्टि छ । जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया 4