
असार १४ गते मदन भण्डारीको ६९ औं जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफूलाई भारतले सत्ताच्युत गर्न खोजेको बताए । भारतद्वारा अतिक्रमित नेपाली भूमी समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतबाट आफ्नो प्रधानमन्त्रीको पदमा गम्भीर असुरक्षा पैदा भएको उनको दाबी थियो ।
उनले त्यति मात्र भनेनन् भारतको त्यो योजना कार्यान्वयनका लागि नेपालका नेताहरू सक्रिय रहेको पनि बताए । यो आफ्नै पार्टीका नेताप्रति लक्षित थियो । आफूलाई मात्र मुलुकको राष्ट्रवादी नेता र शासकको रुपमा आत्मप्रचार गर्नुको कारण उनीमाथि तत्काल निम्तिएको संकटलाई टार्न बिषयान्तर गर्नु थियो ।
असार ११ गतेबाट पार्टीको जारी स्थायी कमिटीको बैठकमा उनको राजीनामा प्रमुख एजेण्डा बन्दै थियो । स्थायी समितिले दुई तिहाईभन्दा बढीको बहुमतबाट उनलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउने निर्यय गर्ने संकेत प्रष्ट भएको थियो । सरकारबाट फिर्ता बोलाउने निर्णयले उनी गम्भीररुपमा नैतिक र राजनीतिक संकटमा पर्ने थिए । यसैले आफ्नो बचाउको निम्ति उनले राष्ट्रवादको अस्त्र फाले । राजनीति र कूटनीतिक क्षेत्रमा ब्यापक आलोचना भएको उनको विवादास्पद उक्त अभिव्यक्तिले मुलुकको राजनीतिकवृत्तमा फेरि एकपटक ओली राष्ट्रवादलाई जबर्जस्त बहसमा ल्याएको छ ।
के हो राष्ट्रवाद ?
ओली राष्ट्रवादको चर्चा गर्नुअघि राष्ट्रवादको सामान्य परिभाषामा ध्यान दिनु जरुरी छ । राष्ट्रवादको बुझ्नुअघि राष्ट्रको परिभाषा हेर्नुपर्छ । राजनीतिशास्त्रले राष्ट्र कुनै खास सिमानाभित्रको जाति, भाषा, संस्कृति र साझा मनोविज्ञान हो भनेर पारिभाषित गरेको छ ।
यस परिभाषाअनुसार राष्ट्र भनेको देश होइन । यद्यपि यो शब्दले द्वीअर्थी नदिने होइन । हाम्रो सामान्य बोलीचालीमा राष्ट्र भनेको देश हो । हामीले अहिलेसम्म देशलाई नै राष्ट्र भनेर बुझेका छौं ।
देश भनेको भूगोल हो । अर्थात स्वतन्त्र,स्वाधीनता र सार्बभौमसत्ता सम्पन्न राजनीतिक तथा भौगोलिक सिमाना नै देश हो । राष्ट्रको पहिलो परिभाषा अनुसार राष्ट्रवाद भनेको जाति, भाषा, धर्म, संस्कृति र साझा मनोविज्ञानप्रतिको भक्तिभाव हो । दोश्रो परिभाषा अनुसार राष्ट्रवाद भनेको मात्रृभूमीको माया तथा प्रेमभाब हो । अर्थात आफ्नो भूगोल, सिमाना र माटोको प्रेम हो ।
यसले स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताप्रति भक्तिभाव प्रकट गर्छ । यसर्थ अहिले प्रधानमन्त्री ओलीले संकेत गरेको राष्ट्रवाद देशभक्तिको कुराको रुपमा मात्र लिन सकिन्छ ।
राष्ट्रवादको कार्ड किन ?
प्रधानमन्त्री ओलीले राष्ट्रवाद निकै ठूलो अस्त्र हो भन्ने बुझेका छन् । अहिले संसारभर नै राष्ट्रवादको हावा चलेको छ । केही दिनअघि मात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाखको भ्रमण गरे । चीनसँगको बिबादमा आफ्ना २० जना सेना मारिएपछि बढेको चीन–भारत तनाबमा भारतीय जनताको राष्ट्रवादी सहानुभूति लिने उद्देश्य भ्रमणको मूल लक्ष्य थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका पहिलो’ भन्ने नारा अघि सार्नुको कारण राष्ट्रवादी देखिनु नै थियो । पहिलो कार्यकालमा भारतीय नाकाबन्दीको सामना गर्दा उर्लेको राष्ट्रवादी छालले अरु शक्तिलाई लपेटेर तत्कालीन नेकपा एमाले र ब्यक्तिगत आफूलाई सफलताको शिखरमा पुर्याएको कुरालाई ओलीले भुलेका छैनन् । त्यसैले राष्ट्रवादमा कति ताकत छ भन्ने कुरा प्रधानमन्त्री ओलीले प्रत्यक्ष साक्षात्कार गरिसकेका छन् । राष्ट्रवादले जस्तोसुकै संकटबाट पार लगाउँछ भन्ने उनको विश्वास र भरोसा छ ।
आफ्नो अहंकार, स्वेच्छाचारिता र दम्भले पार्टीभित्र उत्पन्न समस्याले दुई शक्तिशाली पदमध्ये एउटा धरापमा परेको एवम् त्यसलाई जोगाउने अन्य बिकल्प समाप्त भएपछि उनले राष्ट्रवादको साहारा लिन पुगेका हुन् । यसबाट के ओली मात्र यो देशको राष्ट्रवादी नेता हुन् ? के ओली साँच्चीकै राष्ट्रवादी भएरै संकटमा परेका हुन् त ? उनको राष्ट्रवादको ईतिहास कस्तो छ त ? यो विषय नेपाली राजनीतिको चर्चाको शिखरमा छ । उनको राष्ट्रवादको इतिहासबाट उनी कति राष्ट्रवादी हुन भनेर अरु बेला विश्लेषण गर्न उपयुक्त हुने हँुदा यहाँ ओलीले राष्ट्रवादको अलाप गर्नुका कारण मात्र विश्लेषण गरिएको छ ।
पदीय संकट
अध्यक्ष एबं प्रधानमन्त्रीको यो भनाइ त्यतिबेला आयो, जतिबेला पार्टीको स्थायी समितिको जारी बैठकमा उनको राजीनामा माग गरिँदै थियो । एकपछि अर्कोगरी ठूला–ठूला नीतिगत भ्रष्टाचार प्रकरणले पार्टी र सरकार आम जनताका बिचमा सरकार बद्नाम भएको र पार्टीको सिद्धान्त, आदर्श, विधि, पद्दति सबैलाई लत्याएर प्रधानमन्त्री ओली एकलौटी ढंगले अघि बढेपछिको परिणाम थियो, ंबैठकमा उनको राजीनामा माग । ओलीसँग बैठकमा नेताहरुले उठाएका प्रश्नहरुको प्रतिबाद गर्न सक्ने कुनै अस्त्र नै थिएन । किनभने, स्थायी समितिका नेताहरुसँग सरकारका दर्जनौ भ्रष्टाचार, बेथिति र कुशासनका प्रमाणहरुको चाङ छन् ।
दुई तिहाईभन्दा बढीको बहुमतले आफूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गर्नसक्ने बैठकको तस्बीर देखेर भयभित बनेका ओलीले आफ्नो बचाउको लागि राष्ट्रवादको कार्ड फालेका हुन् । बैठक आफ्नो पक्षमा हुन सक्ने ओलीको आकलन थियो । तर अध्यक्ष ओलीको आकलनले पल्टा खायो ।
नक्सा प्रकाशन गरेपछि समग्र परिस्थिति अनुकुल भएको बुझाइले ओलीले बैठक राख्न चाहेका थिए । भारतले अतिक्रमित गरेको नेपाली भूमी समेटेर आफु नेत्तृत्वको सरकारले नयाँ नक्सा कार्यान्वयनमा ल्याएपछि आफ्नो राजनीतिक प्रतिष्ठा र उचाईले सगरमाथा चुमेको बिश्वासमा थिए, उनी ।
फेरि आफ्नो राष्ट्रवादी छवि उचो बनेकाले सरकारले गरेको भ्रष्टाचार, कुसाशन, बेतिथिसहितका यावत कमी कमजोरी स्वतः ओझेलमा परेको उनको बुझाई थियो । जुन कुरा ओलीको निर्देशनमा तयार गरी बैठकमा प्रस्तुत गरिएका पाँच एजेण्डाले प्रष्ट पार्छ । उक्त एजेण्डामा सरकारको समीक्षाका सन्दर्भमा सीमा समस्या र कोरोनासम्बन्धी बिषय मात्र परेका थिए । जसको आसय भारतले मिचेको सिमा समेटेर नक्सा जारी गरेकोमा सरकारलाई राष्ट्रवादी उपमा दिँदै प्रधानमन्त्रीलाई बैठकले प्रशंसासहित बिशेष धन्यवाद ज्ञापन गरोस् भन्ने हो । यसो गरेर सरकारका भ्रष्टाचारका काण्डहरु र आफ्ना कमजोरी बैठकमा टार्न सकिने ओलीको अनुमान थियो ।
बैठकमा प्रस्तुत एजेण्डाबाट बैठकलाई सरकारको प्रशंसामा केन्द्रित गर्ने ओलीको चालबाजी प्रकट भएपछि स्थायी समितिका अधिकांश नेताहरुले होहल्ला गरेर सरकारको समग्र समीक्षालाई एजेण्डामा समावेश गराए । जसले ओलीलाई ठूलो झड्का दियो र आफ्नो आलोचनाबाट ध्यान अन्यत्रै मोड्न उनले आफ्नो सरकारलाई भारतले ढाल्न खोजेको र त्यसलाई नेपाली नेताहरुले सहयोग गरिरहेको भनेर नयाँ फण्डा झिके ।
पार्टी विभाजनको तयारी
राष्ट्रवादको कार्ड खेल्नुको पडाडिको दोस्रो कारण पार्टी बिभाजनसँग जोडेर हेर्न सकिन्छ । यतिबेला अध्यक्ष ओली पार्टी एकता गरेर निकै ठूलो गल्ती गरिएछ भन्ने पश्चातापमा देखिन्छन् । यसका दुई कारण छन् । पहिलो पार्टी एकतापछि पूर्बमाओबादी केन्द्रलाई एमालेकरण गर्छु र प्रचण्डलाई कमजोर बनाएर आफ्नो सहयोगीमा सीमित गर्छु भन्ने ओलीको आत्मबल थियो । यसो गरेर बिशाल कम्युनिष्ट पार्टीको लामो समयसम्म नेत्तृत्वमा रहने उनको योजना थियो । तर दुई बर्षकै अबधिमा उनको योजनाले पल्टा खायो । गुटबन्दीभन्दा बाहिर निस्कन नसक्ने ओलीको कमजोरी प्रचण्डलाई राम्रोसँग थाहा थियो । त्यही कमजोरीमा पूर्बएमालेभित्र खेलेर प्रचण्डले ओलीलाई हरेक कमिटिमा अल्पमतमा पारिदिए र ओलीको अवस्था पार्टीभित्र एकदमै कमजोर बनेर गयो ।
यसबाट उनी एकदमै हतोत्साहित बने । दुई बर्षको छोटो समयमै ओलीले प्रचण्डसँग हार स्वीकार गरिसकेका छन् । प्रचण्डसँग नसकिने रहेछ भनेर उन्को मनोबल एकदमै गिरेको देखिन्छ । त्यसकारण उनी प्रचण्डसँग अब टाढा हुने बहाना खोजिरहेका छन् ।
दोस्रो कुरा ओलीमा आफ्नो उत्तराधिकारीको चिन्ता छ । ओलीले आफ्नो गुटलाई पार्टी च्यानल र मदन भण्डारी फाउन्डेसन दुबै माध्यमबाट गाउँ–गाउँसम्म विस्तार गरेका छन् । पछिल्लो समय तिनको राजनीतिक भविश्यको बारेमा ओलीले सोच्न थालेका छन् । राज्य र पार्टीसत्ता दुबैलाई चरम दुरुपयोग गर्दै यत्रो सक्रियताका बाबजुद आफूलाई यो हालतमा पुर्याउन सक्ने प्रचण्ड–माधव समूह अब पार्टीभित्र एकछत्र हाबी हुन सक्ने अवस्थालाई छेक्न नसकिने उन्ले बुझिसकेका छन् । यो समूह पार्टीभित्र हाबी हुनु भनेको आफ्नो गुटको दुखःद अन्त्य हुनु हो भन्ने उन्लाई राम्रोसँग थाहा छ । त्यसैले आफ्नो गुट बचाउ लागि उनी पार्टी विभाजनको मानसिकतामा पुगेको देखिन्छ ।
पार्टी बिभाजन गरेर जनताका बिचमा त जाने, तर के लिएर जाने ? ओलीमा देखिएको सबभन्दा ठूलो संकट यही हो । साढे दुई वर्षको अबधिमा मुलुकको सरकार सञ्चालनको सामान्य कामबाहेक उनीसँग मैले यो गरे भनेर देखाउन सक्ने एउटा पनि मुद्धा छैन । छन् त केबल नीतिगत भ्रष्टाचारका भीमकाय काण्डहरु, बेथितिहरु र कुशासनका यत्रतत्र असरहरु, कोरोना रोकथाम तथा नियन्त्रणको नमिठो असफलता मात्र । यसले ओलीको हिजोको करिस्मा पखालिएको मात्र छैन, जनताको आशा, बिश्वास र भरोसा पूर्णरुपमा टुटिको छ । यस्तो अबस्थामा आफ्नो लागि बेलामा राष्ट्रवाद एक मात्र भरपर्दो बैशाखी हुने ओलीको बुझाइ रहेको छ ।
ओली राष्ट्रवाद कस्तो छ ?
ओलीले आफूलाई खुवै राष्ट्रवादीको प्रचार गराइरहेका छन् । आफू राष्ट्रवादी भएकै कारणले आफ्नो सरकार संकटमा परेको रटान निरन्तर लगाइरहेका छन् । ओलीले मुलुकमा राष्ट्रवादको उदेक लाग्दो भाष्य निर्माण गर्ने प्रयास गर्दै छन् । जसमा ओलीको समर्थन राष्ट्रवाद र विरोध राष्ट्रघात हो । ओलीको यो भाष्यले सरकारको नीतिगत भ्रष्टाचारमाथि प्रश्न गर्नु राष्ट्रघात भन्छ । कोरोना नियन्त्रण तथा रोकथाममा सरकार असफल भयो भन्नु राष्ट्रघात देख्छ । श्रमिक उद्धारका नाममा निजी हवाई कम्पनीलाई पोस्न पाइदैन भनेर कुरा उठाउनु राष्ट्रघात नै सम्झन्छ ।
पार्टी निर्माणमा सबैको रगत, पसिना छ, त्यसैले पार्टीलाई व्यक्तिगत स्वार्थमा उपयोग नगर भन्यो भने राष्ट्रघाती स्वर सुनियो भन्छ । पार्टी विधि, विधान र पद्धतिले सन्चालन हुनुपर्छ भन्ने कुरालाई बिदेशी इशारा देख्छ । कम्युनिष्ट सिद्धान्त र आदर्शअनुसार सरकार चलाउ भन्यो भने राष्ट्रघाती बाणी सम्झन्छ । निर्वाचनमा जनताका बिचमा जारी घोषणापत्र अनुसार नीति कार्यक्रम ल्याउ भन्यो भने बिदेशी उक्साहट ठान्छ । उनको अहंकार, अधिनायकबाद र दम्भको बिरोध गर्नेहरु सबै राष्ट्रघाती हुन भने उनका अन्धभक्त र समर्थकजति सबै राष्ट्रवादी ।
अहिलेको ओली राष्ट्रवादको भाष्यमा ओलीले महाकाली सन्धीको समर्थन गरेको हुनाले त्यो राष्ट्रवाद हो । राष्ट्रको स्वाधीनता, स्वतन्त्रता र राष्ट्रको सार्बभौमसत्तामाथि धावा बोलिएको एमसीसी राष्ट्रवाद हो । सन् १९५० को सन्धीबारे उनी सँधै मौन बस्नु राष्ट्रवाद हो । भारतीय तरकारीलाई औषधि प्रयोगको परीक्षण गर्न हुँदैन भन्ने भारतको उर्दी उनले मानेकाले त्यो पनि राष्ट्रवाद हो । भारतीय व्यापारीको स्वार्थमा व्यापारलाई प्रवर्द्धन गर्ने र उत्पादनलाई निरुत्साहित गरेर बजेट आउनु राष्ट्रवाद हो ।
ओलीले निर्माण गर्न लागेको यो राष्ट्रवादमा सिंगो भूगोल पर्दैन । सबै जातजाति, भाषा, धर्म र संस्कृती त्यहाँभित्र अटाउँदैन । मुलुकका सबै राजनीतिक शक्ति, नागरिक समाज, सञ्चारमाध्यम उनको नजरमा राष्ट्रवादी होइनन् । मधेशलाई उनी जहिल्यै शंकाको दृष्टिले हेर्छन् । मधेसीलाई त उनी नेपाली नागरिक भन्न पनि संकोच मान्छन् । काँगे्रस, मधेसवादी दल, उनको नजरमा राष्ट्रवादी शक्ति र ब्यक्ति हुदै होइनन् । अरु त के कुरा गर्नु उनकै पार्टीका प्रचण्ड, झलनाथ खनाल, माधब नेपाल, बामदेब गौतम, नारायाण काजी श्रेष्ठ, भीमबहादुर रावल समूह पुरै राष्ट्रघाती हो । राष्ट्रवादी केवल उनी र उनका अन्धसमर्थक मात्र हुन् ।
यहाँ प्रश्न उठेको छ, उनको यो राष्ट्रवादले मुलुकको दीर्घकालीन हित गर्छ ? कतै उनी नेपाललाई कमजोर बनाउने बाह्य तत्वको फन्दामा त छैनन् ? राष्ट्रवादको नाराको आवरणमा किन उनी मुुलुकभित्र अनेकता ल्याउने, द्वन्द्व बढाउने र राष्ट्रिय सद्भाब भड्काउने प्रयास गर्दै छन् ? यो गम्भीर प्रश्न हो । आजको दुनियाँमा एक ब्यक्ति र एक शक्तिले राष्ट्रको बृहत्तर हित गर्छ भन्ने सोच्न पनि सकिँदैन । राष्ट्रिय एकता र राष्ट्रिय मेलमिलापले मात्र मुलकको सार्वभौमिकता, अखण्डता, स्वाधीनता र स्वतन्त्रताको रक्षा गर्न सकिन्छ भन्ने सामान्य ज्ञान ओलीमा छैन भनेर कल्पना गर्न सकिँदैन ।
निष्कर्ष
आफू मात्र राष्ट्रवादी, अरु सबै राष्ट्रघाती भन्ने प्रधानमन्त्री ओलीको चिन्तनले केही गम्भीर प्रश्न खडा गरेको छ । कतै उनको यो मनोरोगी राष्ट्रवाद त होइन ? आज समाजमा यही चर्चा हुन थालेको छ । आफू मात्र राष्ट्रवादी, अरु सबै राष्ट्रघाती लाग्ने दृष्टिकोण माक्र्सवादी चिन्तन प्रणालीको ठीक बिपरित त हुदै हो, दुषित बिचार पनि हो ।
दुषित बिचार एक प्रकारको मनोरोग हो भनेर चिकिस्साशास्त्रले प्रमाणित गरेको छ । यसमा अनौठो ब्यवहार, विश्वास र बिचार आउँछ । कसैले मलाई हानी पुर्याउँदै छन् कि ! म एकदमै असुरक्षित हुँदै छु कि ! अरुको कारण मेरो भविश्य संकटमा पर्दै छ कि ! यस्तै सोचाई र बिचारहरु श्रृङ्खलाबद्ध आउनु मनोरोगको संकेत हो । आज संसारमा ३८ प्रतिशत मानिसहरु कुनै न कुनै प्रकारको मनोरोगबाट ग्रसित छन् । शक्तिशाली देशका ठूला र विद्वान शासक, नोबेल पुस्कार बिजेता, विश्वबिख्यात साहित्यकार, लेखक, उद्योगी कसैलाई मनोरोगले विभेद गरेको छैन । म मात्रै राष्ट्रको हित चाहने, अरु सबै राष्ट्रघाती भन्ने प्रधानमन्त्रीको भाष्य पनि कतै यस्तै होइन ? राजनीतिक वृत्तमा यस्तो प्रश्न उठ्नु पनि स्वभाविकै छ ।
(लेखकद्वय नेकपाका युवा नेताहरु हुन् ।)
प्रतिक्रिया 4