
२२ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पटक पटक लकडाउन अवधीको शुल्क नउठाउन निर्देशन दिँदै आएको छ । अनलाइन कक्षा सुरु गर्दा निजी विद्यालयहरूले पनि विद्यार्थीलाई व्यस्त राख्न मात्रै कक्षा सञ्चालन गरिएको र शुल्क नलिने बताएका थिए ।
तर जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलले भने सरकारको निर्देशन विपरीत लकडाउन अवधि र अनलाइन कक्षाको शुल्क धमाधम उठाइरहेको छ ।
विद्यालयले कक्षा २ देखि १० सम्मका अभिभावकलाई शुल्क तिर्न दबाब दिइरहेको छ । कक्षा २ देखि ५ सम्म ९ हजार ४५० रुपैयाँ, कक्षा ६ देखि ८ सम्म ९ हजार ८१० रुपैयाँ तथा कक्षा ९ र १० को १२ हजार १५० रुपैयाँका दरले शुल्क संकलन गरेको हो ।
स्कुलले तीन वटा बैंक खातामा रकम जम्मा गर्न निर्देशन दिएको छ । अभिभावकलाई एक मुष्ट तीन महिनाको शुल्क तिर्न भनिएको छ ।
जबकी चैत दोस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले चैतको शुल्क छुट दिन निर्देशन दिएको थियो । बाँकी शुल्क, विद्यार्थी भर्नाको विषयमा सरकारले निर्णय गरिसकेको छैन । सेन्ट जेभियर्सले भने २०७६ को बाँकी शुल्क समेत तिर्न ताकेता गरेको छ ।
शुल्क तिर्न नसके विद्यार्थी निकालिने !
विद्यालयले निकालेको सूचनामा ऐच्छिक रुपमा शुल्क तिर्दा हुने भनिएको छ । तर आफूहरूलाई भने लकडाउनको शुल्क नतिरे विद्यार्थीलाई विद्यालयबाट निश्काशन गर्ने चेतावनी दिएको एक अभिभावकले जानकारी दिए ।
ती अभिभावक भन्छन्, ‘वैशाख–जेठ–असारको शुल्क तिर्न सक्नुहुन्न भने आफ्नो बच्चा अन्तै लगेर पढाउनुस् भन्नु भएको छ ।’
विद्यालयले के सम्म चलाखी गरेको छ भने लकडाउन अवधीको शुल्क उठाउने सूचना शिक्षक अभिभावक संघको नाममा निकालेको छ । नाम उल्लेख गर्न नचाहने ती अभिभावकका अनुसार विद्यालयले केही टाठाबाठा अभिभावकलाई हातमा लिएर शुल्क तिर्न नसक्नेका छोराछोरीलाई विद्यालयबाट बञ्चित गर्न यस्तो दबाब दिइरहेको हो ।
गैर–नाफामुखी स्कूलको ताल
सन् १९५१ मा स्थापना भएको सेन्ट–जेभियर स्कूल नाफारहित संस्था हो । पहिलो ब्याचमा ६५ जना विद्यार्थी भर्ना गरेको यो स्कूलले आफूलाई सेवामुखी शैक्षिक संस्थाको रुपमा चिनाउँदै आएको छ ।
तर नाफा रहित स्कूल भएकाले नै सरकारको निर्देशन विपरीत लकडाउन अवधीको समेत शुल्क लिनु परेको विद्यालयको दाबी छ । शुल्कसम्बन्धी सूचनामा भनिएको छ, ‘हाम्रो विद्यालय नाफारहित संस्थाको रुपमा चल्ने संस्था हो, यस्तो संस्थाले दीर्घकालसम्म शुल्क नलिई आफ्ना आर्थिक दायित्व पूरा गर्न सक्दैन ।’
‘सरकारी जग्गा, सरकारी भवनमा सञ्चालित गैरनाफामुखी विद्यालयको हालत यस्तो छ भने हामी जस्तो बैंकबाट ऋण लिएर जेनतेन चलेको विद्यालयहरूको अवस्था के होला ?’ निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन) का एक पदाधिकारी भन्छन्, ‘मिडियाले हामीलाई शिक्षाको व्यापार गर्यो भनेर लेख्छ, समाजसेवा गर्छु भन्नेको ताल यस्तो छ ।’
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले सरकारसँग वार्ता चलिरहेकाले निजी विद्यालयहरूलाई चोरबाटोबाट शुल्क नउठाउन निर्देशन दिएको बताउँदै ती पदाधिकारी भन्छन्, ‘यो महामारीमा व्यापारी भन्दा पनि समाजसेवी बढी निर्दयी देखियो ।’
शुल्क लिन हतार, काम गर्न कोरोनाको डर
सेन्ट जेभियर्स स्कूलले शैक्षिक सत्र २०७७/०७८ को लागि कक्षा १ को प्रवेश परीक्षा ५ चैतमा लिएको थियो । नोवेल कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्न नसकिएको विद्यालयको सूचनामा उल्लेख छ ।
‘…कक्षा १ को प्रवेश परीक्षाको नतिजा प्रकाशन तथा भर्ना सम्बन्धि सम्पूर्ण प्रक्रिया विद्यमान कोभिड–१९ को संभावित प्रकोपलाई मध्यनजर राखी अर्को सूचना प्रकाशन नभएसम्मका लागि हाललाई स्थगित गरिएको व्यहोरा सबैमा जानकारी गराईन्छ’ सूचनामा भनिएको छ ।
एक अभिभावक भन्छन्, ‘काम गर्न कोरोनाको डर भएपछि त शुल्क असुल्न अलि संकोच लाग्नुपर्ने होइन र ?’
प्रतिक्रिया 4