
२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको मौद्रिक नीतिप्रति लघुवित्त बैङ्कर्स संघले असन्तुष्टि जनाएको छ । लघुवित्त वित्तीय संस्थाहरूले लिने कर्जाको ब्याजदरको सीमा अधिकतम १५ प्रतिशत तोकिएको भन्दै संघले असन्तुष्टि जनाएको हो ।
संघका अध्यक्ष वसन्त लम्सालले राष्ट्र बैङ्कको निर्णय ठीक नभएको बताए । १५ प्रतिशतको क्यापले लघुवित्तहरूलाई खर्च नै नधान्ने उनले बताए। अहिले पनि लघुवित्तहरूले १२ प्रतिशतसम्म ब्याजदरमा ऋण लिनुपर्ने बाध्यता रहेको भन्दै उनले १२ प्रतिशतमा ल्याएर १५ प्रतिशतमा कर्जा लगानी गर्न नसकिने बताए । तलको सीमा पनि घटाएको अवस्थामा भने ठीक हुने उनले बताए ।
‘तलको सीमा पनि घटाउने हो भने ठिकै छ, नत्र १५ प्रतिशतमा लगानी गर्दा लागत खर्च नै धान्दैन’ उनले भने, ‘यसले त कुनै संस्था बाँच्दैनन् ।’ संघका सचिव प्रमेश आचार्यले पनि १५ प्रतिशतको क्याप लगाउने निर्णय उचित नभएको बताए ।
मौद्रिक नीतिले गरेको धेरै व्यवस्थाहरू राम्रो भएको प्रतिक्रिया दिएका आचार्यले १५ प्रतिशतको क्याप लगाउने निर्णय भने अवैज्ञानिक भएको बताए।
प्रतिक्रिया 4