+
+

‘वैदेशिक रोजगारीमा ३२ लाख नेपाली, भयावह बन्दैन रोजगारीको क्षेत्र’

अच्युत पुरी अच्युत पुरी
२०७७ साउन २१ गते २०:१४

२१ साउन, काठमाडौं । भारतमा ६ महिनाभन्दा बढी समय रोजगारी गर्ने नेपालीसहित विश्वभर वैदेशिक रोजगारीमा ३२ लाख १० हजार ८ सय ४८ जना नेपाली नागरिक रहेको सरकारी तथ्यांकले देखाएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीको यकिन तथ्यांक सरकारसँग थिएन ।

विश्वभर ११३ वटा मुलुकमा सरकारी निकायमार्फत गरिएको औपचारिक सर्वेक्षणबाट यो तथ्यांक प्राप्त भएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

अहिले राष्ट्रिय योजना आयोगले कोरोनापछि वैदेशिकसहित समग्र रोजगारीमा परेको प्रभाव र अर्कोतर्फ कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावबारे दुई छुट्टाछुट्टै अध्ययन गरिरहेको छ । यी अध्ययनको काम अब प्रतिवेदन लेखनको क्रममा रहेको बताइएको छ । ‘वैदेशिक रोजगारी र स्वदेशमा रोजगारी सिर्जनाका अवसरबारे गरिएको प्रतिवेदन तयार भइसकेको छ, अर्थतन्त्रमा परेको प्रभावसम्बन्धी प्रतिवेदन भने अन्तिम चरणमा छ,’ आयोगका सदस्य डा. रामकुमार फुयाँलले भने । आयोगले यो प्रतिवेदन सीसीएमसीमा बुझाउनेछ ।

विकास समस्या समाधान समितिको बैठकमा समेत यी दुवै प्रतिवेदन पेश हुनेछन् । आयोगले यो प्रतिवेदन बुझाएसँगै अब वैदेशिक रोजगारीमा रहने नेपालीबारे आधिकारिक तथ्यांक प्राप्त हुनेछ ।

सिजनमा भारत जानेलाई गणना गरिएन

रोजगारीका सिलसिलामा न्यूनतम ६ महिना पनि भारतमा नबस्ने नागरिकलाई भने वैदेशिक रोजगारीका रुपमा गणना गर्न तथ्यांक नपुगेको बताइएको छ ।

भारतमा औपचारिक माध्यमबाट गएका र ६ महिनाभन्दा बढी समय रोजगारी गरेका नेपाली नागरिकलाई यो संख्यामा गणना गरिएको छ ।

उनीहरुसमेत जोड्दा वैदेशिक रोजगारीमा ३२ लाख संख्या भेटिएको हो ।

तत्काल फर्कन चाहने ३ लाख

योजना आयोगले गरेको अध्ययनअनुसार वैदेशिक रोजगारीबाट तत्काल ३ लाख नागरिक फर्कने देखिएको छ । तर, एक वर्षभरमा भने ६ लाखसम्म नेपाली घर फर्कने देखिएको छ ।

यसरी फर्कनेहरुमा ७० प्रतिशत नेपाली जागिरको सिलसिलामा पुगेका हुन् । ३० प्रतिशत भने अध्ययन तथा अन्य प्रयोजनमा गएका नेपालीले फर्कने चाहना देखाएका छन् ।

आयोगका अनुसार कामदार आफ्नै कारणले जागिर छाड्ने, कम्पनी बन्द भएर फर्कने संख्या सोचेजतस्तो धेरै नदेखिएको आयोगको निष्कर्ष छ ।

रेमिट्यान्स सुधारको चरणमा

अध्ययन अनुसार कोरोना भाइरसका कारण वैदेशिक रोजगारी र रेमिट्यान्समा सबैभन्दा बढी प्रभाव चैत र वैशाखमा देखियो । जेठमा वर्षकै सर्वाधिक ९४ अर्ब रुपैयाँ रेमिट्यान्स आएबाट क्रमशः रेमिट्यान्स सुधारको बाटोमा देखिएको छ । यसले आगामी दिनमा अझ सकारात्मक नतिजा आउने देखिएको छ । आयोगले अध्ययनमा तत्कालीन असर, कोरोनाका कारण संसारभर क्रमशः १०, २०, ३० र ४० प्रतिशतसम्म जागिर गुम्दा त्यसले नेपालको वैदेशिक रोजगारीमा पार्ने प्रभावको सम्बन्धमा समेत विश्लेषण गरेको छ ।

विश्व श्रम संगठनले गरेको अध्ययनमा कोरोना भाइरसको असर लम्बिदै गएका १०–४० प्रतिशत कामदारले विश्वभर रोजगारी गुमाउने विश्लेषण गरिएको थियो । आयोगले सोही अध्ययनमा आधारित रही संसारभर ४० प्रतिशतसम्म रोजगारी गुम्दा पनि नेपालमा पर्ने प्रभाव र असर न्यूनीकरणबारे सरकारलाई सुझाव दिन लागेको बताइएको छ ।

मुलुकमा वार्षिक १० लाख नयाँ रोजगारीको अवसर

आयोगले मुलुकभित्र एक वर्षमा कम्तिमा १० लाख रोजगारी सिर्जनाको उपायसमेत सरकारलाई सुझाउँदैछ । २२ वटा मन्त्रालयबाट सम्भावित रोजगारीका क्षेत्रको पहिचान गरी सरकारलाई सुझाव दिन लागिएको हो ।

वैदेशिक रोजगारीबाट फर्कने, मुलृुकभित्र तयारी हुने नयाँ जनशक्ति, मुलुकभित्र गुमेको रोजगारी र मुलुकभित्र खोज्न सकिने रोजगारीका क्षेत्रसमेत पहिचान गरी एक परिस्कृत ढाँचासहितको प्रतिवेदन तयार भएको आयोगको भनाइ छ ।

सोचेजति भयावह बन्दैन रोजगारीको क्षेत्र

यो अध्ययनमा आयोगको निष्कर्ष रोजगारीको क्षेत्र सोचेजस्तो भयावह छैन भन्ने देखिएको छ । खासगरी मुलुकहरुले गैरकानूनी कामदारलाई घर पठाउने अवसरका रुपमा यो संकटलाई उपयोग गरेका हुन् ।

लकडाउन खुलेसँगै सबैजसो मुलुकमा आर्थिक गतिविधि शुरु हुन थालेपछि कामदारको मागसमेत क्रमशः बढ्न थालेको देखिएको छ ।

अर्कोतर्फ मुलुकभित्र रोजगारी सिर्जनाका अनेक उपाय भएपनि त्यसको उचित उपयोग गर्न सकिएको छैन । नेपाली कामदारले गर्न सक्ने स्थानमा विदेशी कामदारको समेत उपयोग भएको छ । त्यसमार्फत् पनि ठूलो रोजगारी सिर्जनाको सम्भावना देखिएको बताइएको छ ।

समग्र अर्थतन्त्रमा कस्तो प्रभाव ?

कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न सरकारले ११ चैतमा लकडाउन घोषणा गरेको हो । त्यसको तीन महिना कडा लकडाउन भयो । १ असारबाट लकडाउन केही खुकुलो बनेको हो । यस अवधिमा अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न सरकारले राष्ट्रिय योजना आयोगलाई जिम्मेवारी दिएको थियो ।

आयोगका अनुसार अर्थतन्त्रमा विभिन्न क्षेत्रमा परेको प्रभावबारे अध्ययन पूरा भएको छ । सो क्रममा विभिन्न मन्त्रालय, निजी क्षेत्र, केन्द्रीय तथ्यांक विभाग, नेपाल राष्ट्र बैंकलगायतबाट तथ्यांक संकलन गरी विश्लेषण गरिएको छ ।

आयोगले कोरोनाको असर लम्बिँदै जाँदा अर्थतन्त्रमा पर्ने असर र त्यसको परिपूर्तिका लागि चाल्नु पर्ने उपायबारे समेत सुझाव दिन लागेको सदस्य डा. फुँयालले जानकारी दिए । ‘आयोगले निकै मिहेनत गरी दुवै प्रतिवेदन बनाएको छ,’ उनले भने, ‘यी डकुमेन्ट सरकारलाई आगामी दिनमा अर्थतन्त्रलाई अगाडि बढाउन निकै सहयोगी बन्नेछन् ।’

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?