+
+

कोभिडको खोपले सुन बजारमा उतार चढाव

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ साउन ३२ गते १४:१९

३२ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुन २२ साउनमा प्रतिऔंश २ हजार ६३.६८ अमेरिकी डलरमा किनबेच भयो । यो मूल्य हालसम्मको सर्वाधिक हो ।

नेपालमा त्यसको भोलिपल्ट सुनको मुल्य प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँ पुग्यो । सुनको कारोबार मापन गर्ने अमेरिकी वालस्ट्रिट मार्केटको साउन २३ गते शुक्रबार राति १२ बजेको मूल्यअनुसार नेपाली बजारमा तोकिएको सुनको भाउ अहिलेसम्मकै धेरै थियो ।

गत वर्षको साउनदेखि निरन्तर बढेको सुनको भाउ यो उचाईमा पुग्दा नेपाली सुन बजार भने कारोबार शून्यको अवस्थामा रह्यो । सुनको भाउ अझ चुलिने शंका भइरहेका बेला बिस्तारै भाउ ओरालो लाग्यो ।

साउन २३ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंश २८ डलर घटेर प्रतिऔंश २ हजार ३५ डलर ९९ सेन्टमा झर्‍यो भने त्यसको भोलिपल्ट स्थिर रह्यो ।

२५ साउनमा २ हजार २७ डलर ८ सेन्टमा आइपुग्यो र २६ गते एकै दिनमा ठूलो गिरावट आएर सुनको मूल्य प्रतिऔंश १९ सय १२ डलर ४३ सेन्टमा झर्यो । त्यस दिन नेपाली बजारमा सुनको भाउ तोलामै ६ हजार २०० रुपैयाँले घटेर ९५ हजार चार सय कायम भयो ।

त्यसयता फेरि सुनको भाउ बढ्ने क्रममा छ ।

सुनमा लगानीका कारण मुल्य वृद्वि

कोभिड– १९ का कारण विश्व अर्थतन्त्र यतिबेला संकटपूर्ण अवस्थामा छ । यही बेला दुई विशाल अर्थतन्त्र अमेरिका र चीनको व्यापार युद्ध पनि उत्कर्षमा छ ।

यी दुई देश एक अर्काको उत्पादनमा व्यापार कर बढाउनेदेखि प्रतिबन्ध गर्नेसम्मको लडाइँमा लाग्दाको मुल्य विश्व अर्थतन्त्रले चुकाउन परिरहेको छ । यसले गर्दा नाफाका लागि गरिने लगानीका क्षेत्रहरु– कच्चा तेल, सेयर बजार तथा नगद निक्षेपहरु असुरक्षित बनेको छ । ठूला रिजर्ब बैंकहरुले ब्याजदर कटौती गर्दा लगानीकर्ताले लगानीको सुरक्षित ठाउँ सुन नै देखेको बिजनेस इन्साइडरले लेखेको छ ।

युद्ध, महामारीलगायतको अवस्थामा विश्वमा असुरक्षा बढ्ने बित्तिकै सुनमा लगानी बढ्ने विश्वास गरिन्छ । यसपटक पनि कोरोना महामारीका कारण सुनको उत्खनन् हुन नसक्नु र सुनमा गरिने लगानी बढ्दा मूल्य आकासिएको बिजनेस इन्साइडरको विश्लेषण छ ।

खोपको हल्लाले भाउमा उतार चढाव

नेपाली बजारमा सुनको प्रतितोला मूल्य एक लाख ५० हजारसम्म पुग्ने आंकलन भइरहेका बेला एकाएक मूल्य ओरोलो लागेपछि अब सुन बजारको भविष्य के हुन्छ भन्ने प्रश्न खडा भएको छ ।

त्यसो त भाउ अझै घट्ने अनुमानमा सुनको पुराना गहना बिक्री गर्नेको संख्या बढेको बताइन्छ, तर भाउ बढ्न थालिसकेको छ ।

कोरोना महामारीविरुद्धको खोप तयार पारेको भन्ने रुसको घोषणालाई पनि सुनको मूल्य बढ्नु वा घट्नुको एउटा अन्तर्राष्ट्रिय कारण मानिएको छ । शक्तिशाली मुलुकमा बनेको खोप चाँडैनै विश्वभर पुग्ने र यसले कोभिडका कारण समस्याग्रस्त बनेको अर्थतन्त्र उकासिने धेरैको अनुमान छ ।

रुस सरकारले यो खोपलाई आधिकारिक मान्यता दिएको दिन अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य एक सय १४ डलर ६५ सेन्ट घटेको थियो । तर खोपको विश्वसनीयतामा विश्व बजार आश्वस्त हुन नसक्दा सुन बजारले पुनः बृद्धिको गति समातेको अनुमान छ ।

त्यस्तै, अमेरिकाको कोभिड राहत प्याकेजले ब्याजदर शून्य हाराहारीमै पुर्‍याएका कारण निक्षेपमा लगानीकर्ता उत्सुक नरहेको इन्साइडरले लेखेको छ । त्यसअनुसार, बैंकले गतिलो ब्याज नदिने भएपछि लगानीकर्ताहरुले सुन खरिदमा बढी चासो देखाए, जसले गर्दा सुनको मूल्य अझै बढ्न सक्ने बिजनेस इन्साइडरको आँकलन छ ।

अर्थशास्त्री शान्तराज सुवेदी पनि विश्व अर्थतन्त्रमा सुरक्षित लगानीको खोजी हुँदा सुनमा आकर्षण बढेको बताउँछन् । कोभिड संकटबाट विश्व अर्थतन्त्रमा आएको अनिश्चयले लगानीकर्ताहरुले सुनमा लगानी गरेको बताउँदै उनी भन्छन्, ‘सुनको मूल्य बढ्नुमा अर्थशास्त्रीय कारण छैन ।’

डलरको भाउमा गिरावट निरन्तर रहेका कारण पनि सुनको भाउ बढ्ने आंकलन छ ।

नेपालमा असर र फाइदा

भाउ उच्च हुँदा नेपालमा सुनको कारोबार ठप्प भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सामान्य अवस्थामा दैनिक ४० किलोसम्म सुन बिक्री हुने नेपाली बजारमा अहिले नयाँ सुन बिक्री शून्यकै अवस्थामा पुगेको महासंघ बताउँछ ।

नेपाली अर्थतन्त्रमा सुन बजारको हिस्सा निकै सानो भएकाले यसले अर्थतन्त्रमा भन्दा पनि राजश्व संकलनमा केही प्रभाव पार्न सक्ने अर्थशास्त्री सुवेदी बताउँछन् ।

‘तत्कालका लागि सुनको खपत नहुँदा आयात कम भएर विदेशी मुद्रा सञ्चिती बढ्छ, तर मूल्य घट्यो भने आयात आकाशिने जोखिम हुन्छ’, उनी भन्छन् ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?