
४ भदौ, काठमाडौं । सरकारले जारी गरेको निषेधाज्ञासँगै भक्तपुर पनि सुनसान बनेको छ । भक्तपुर बजार, दरबार स्क्वायर, टौमढी र दत्तात्रय क्षेत्रमा मानिसहरुको चहलपहल छैन ।
बिहान केहीबेर खोलिएका पसलहरुलाई पनि प्रहरीहरुले बन्द गराएका छन् । चोक-चोकमा खटिएका प्रहरीले निषेधाको पालना गर्न र कोरोना संक्रमणबाट सुरक्षित रहन स्थानीयवासीलाई आग्रह गरेका छन् ।
कोरोना भाइरसको महामारी बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा बुधबार मध्यरातदेखि निषेधाज्ञा लागु गरिएको छ ।
निषेधाज्ञाका कारण बिहीबार बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरको जनजीवन ठप्प प्रायः छ । अत्यावश्यक सेवाबाहेक सवारी साधन चलेका छैनन् ।
भक्तपुरमा पनि पसलहरु प्रायः सबै बन्द छन् । अघिल्ला दिनहरुमा बिहानै मर्निङ्ग वाकमा निस्कने मानिसहरुको चहलपहल बाक्लो हुने गरेको भए पनि बिहीबार बिहान भने सुनशान रह्यो ।
फाट्फुट्ट हिँडेकाहरुलाई पनि सुरक्षाकर्मीले फिर्ता पठाइदिएका छन् भने केही स्थानमा होल्डिङ सेन्टर बनाएर दुईदेखि चार घण्टासम्म राखेर छाडेका छन् ।
विशेष परिस्थितिबाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । यदि त्यसरी निस्किएमा जरिवानासमेत गर्ने प्रशासनले चेतावनी दिएको छ ।
प्रतिक्रिया 4