+
+
निर्वतमान अर्थमन्त्रीको समीक्षामा निजी क्षाेत्र :

खतिवडाप्रति ठूला लगानीकर्ता नरम, साना र मझौला गरम

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २० गते २०:००

२० भदौ, काठमाडौं । निजी क्षेत्रले सधैंजसो गर्ने गुनासो हो-अप्ठ्यारो पर्दा सरकारले हेरेन, लगानीमैत्री नीति-कार्यक्रम ल्याएन, उद्योग/व्यवसायलाई संरक्षण गरेन, व्यावसायिक वातावरण बनाएन, आर्थिक क्षेत्रलाई प्राथमिकता दिएन ।

डा. युवराज खतिवडालाई शुक्रबार अर्थ मन्त्रालयबाट विदाई गर्दा भने निजी क्षेत्र यस्ता मुद्दामा प्रवेश गर्न चाहेको देखिएन ।  ‘डा. खतिवडाको साढे दुई वर्षे कार्यकालको समीक्षा कसरी गर्नुहुन्छ ?’ भन्ने अनलाइनखबरको प्रश्नमा अधिकांश उद्योगी व्यवसायीले आलोचना कम, प्रशंसा बढी गरे ।

खतिवडाले आफ्नो विज्ञताअनुरुप दीर्घकालको सोच राखेर काम गरेको व्यावसायीहरूले बताए । तर तत्कालको समस्या सम्बोधन गर्न नसक्दा भने आलोचित बनेको तर्क गरे ।

खतिवडा कम्प्युनिष्ट सरकारको अर्थमन्त्री बनेर सिंहदरबार प्रवेश गरेको एक वर्षससम्म निकै आक्रमक देखिएका ठूला लगानीकर्तालाई प्रतिनिधित्व गर्ने संघसंस्थाका प्रतिनिधिहरू अहिले खतिवडालाई अझै निरन्तरता दिएको भएहुन्थ्यो भन्ने भाव प्रकट गरेका छन् । यद्यपि साना व्यावसायीका नेताहरू खतिवडाको कार्यशैली कर्मचारीको जस्तो भएको भन्दै जननिर्वाचित अर्थमन्त्री आवश्यक पर्ने बताउँछन् ।

प्रस्तुत छ, अर्थतन्त्र बुझेका खतिवडाको कार्यकालबारे चारवटा महासंघका नेताहरूको भनाइ उनीहरूकै शब्दमाः

‘जुनबेला चाहिएको थियो, त्यही बेला विदा’

शेखर गोल्छा

बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

अर्थमन्त्रीका रुपमा डा. युवराज खतिवडालाई निकै असाधारण र ‘स्मार्ट’ देख्छु । हुन त परिस्थितिबस् हामी उहाँलाई विदा गर्दैछौं । तर उहाँले यस्तो परिस्थितिमा अर्थमन्त्री छोड्दै हुनुहुन्छ, जुनबेला उहाँको सबैभन्दा बढी आवश्यक्ता थियो ।

अहिले महामारीले अर्थतन्त्र आक्रान्त छ । निजी क्षेत्रले पनि धेरै समस्या भोग्नुपरेको छ । बजेटमार्फत सम्बोधन होस् भन्ने हाम्रो चाहाना थियो । बजेटले निजी क्षेत्रलाई अत्यावश्यक राहत प्याकेजको सम्बोधन नगरेपनि मौदि्रक नीतिमार्फत सम्बोधनको प्रयास भयो । त्यसलाई हामीले स्वागत गरेका छौं ।

तर अझै पनि त्यस्ता धेरै आर्थिक मुद्दा छन्, जसको सरकारले सम्बोधन गर्न सक्नुपर्छ । यस्तो बेला अर्थ मन्त्रालयमा राजनीतिज्ञ भन्दा ‘टेक्नोक्र्याट’ चाहिन्छ जस्तो लाग्छ ।

र, उहाँ जत्तिको अर्थतन्त्र बुझेको मान्छे नेपालमा कमै होलान् । हामी निजी क्षेत्र उहाँसँग कुनै मुद्दामा बहस र छलफल गर्न जाँदा नै पर्याप्त तयारी गर्नुपर्ने अवस्था थियो । यसले हामीलाई पनि समस्याको गहिराईसम्म पुग्न कर लाग्थ्यो । उहाँमा अर्थतन्त्र र यसभित्रका सबैजसो अवयबको गहिरो विश्लेषण गर्न सक्ने क्षमता भएकाले निजी क्षेत्रले तयारी र अध्ययनविना सरोकारका मुद्दा लिएर जान सक्ने अवस्था थिएन । निकै अप्ठ्यारो अवस्थामा महत्वकांक्षी बजेट ल्याउनुभयो । त्यसले पनि उहाँको बुझाई प्रष्ट्याएको थियो ।

अब जो अर्थमन्त्री बन्नहुन्छ, उहाँमाथि भारी चुनौती छन्, जुन समाधानका लागि धेरै काम गर्नुपर्ने हुन्छ ।

‘दीर्घकालीन ‘भिजन’ थियो, तत्कालको समस्या हेर्नुभएन’

राजेशकाजी श्रेष्ठ

अध्यक्ष, नेपाल चेम्बर अफर कमर्स

डा. खतिवडा अर्थतन्त्रलाई राम्रोसँग बुझेको व्यक्ति हुनुहुन्छ । उहाँलाई  अर्थमन्त्रीका रुपमा पाउँदा निजी क्षेत्र निकै खुसी थियो, हाम्रा समस्या राम्रोसँग बुझ्नु हुन्थ्यो भन्ने सबैलाई थियो ।

स्वभाविक रुपमा काम गर्दै जाँदा केहि राम्रा हुन्छन्, केहि नराम्रा । अब उहाँ मन्त्रीबाट बिदा हुनु भएको छ । उहाँले पनि आफ्नो कार्यकालमा राम्रो गर्ने अथक प्रसाय गर्नुभएकै हो । राम्रो गर्ने प्रयास गर्दागर्दै पनि कहिँकतै चुक्नु भएको छ । यो स्वभाविक नै पनि हो । जेहोस समग्रमा नराम्रो भन्नुपर्ने अवस्था छैन ।

अर्थमन्त्रीज्यूले दीर्घकालका लागि सोचेर काम गर्नु भएको थियो । लामो समयका लागि उहाँको सोच र योजनाहरू एकदमै राम्रा थिए । तर, अहिले तत्कालको समस्यालाई सम्बोधन गर्नेतर्फ उहाँले खास ध्यान दिन सक्नुभएन ।

दीर्घकाललाई सोचेर काम गर्नु उहाँको विज्ञताको हिसावले निकै उत्कृष्ट हो । तर कतिपय मुद्दाहरु हालसालै सम्बोधन गरेर जानुपर्ने खालका हुन्छन् । उहाँले दीर्घकाल, मध्यकाल र अल्पकालमा गर्नुपर्ने छुट्याएर काम गर्नुभएको भए यो भन्दा राम्रो नतिजा आउनसक्थ्यो ।

यद्यपि अर्थमन्त्रीका रुपमा उहाँले देशलाई भविष्यमा ठूलो हित हुने गरी काम गर्नुभएको  छ । उहाँले अहिले गरेका कामको नतिजा तत्कालै नआउला । तर, भविष्यमा उहाँले बसाएको जगमा अर्थतन्त्रले फड्को मार्न पनि सक्छ ।

‘खतिवडाको अभाव खडि्कने छ’

सतिश मोर

अध्यक्ष, नेपाल उद्योग परिसंघ

आर्थिक दृष्टिकोणले एउटा मुलुकको अर्थ मन्त्रालयमा रहेर विज्ञले जे गर्नु पर्ने थियो, त्यो भूमिका खतिवडाले निभाउनुभयो । उहाँको कार्यकाललाई निजी क्षेत्रले सम्भिmरहनेछ ।

उहाँ आर्थिक मामलाका दख्खल मान्छे हुनुहुन्छ र त्यो रुपरेखा मन्त्रालयमा देखाएर बाहिरिनु भएको छ । उहाँले अर्थमनत्रालयमा बसेर जसरी निजी क्षेत्रसँग समन्वाय गरेर काम गर्नुभयो, एउटा विज्ञ अर्थमन्त्रीका रुपमा अपेक्षित थियो ।

अर्थमन्त्रालय पुगेर व्यापारीहरूले उहाँको कार्यकालमा कुनै सौदाबाजी गर्नुपरेन ।

कार्यकालभरी उहाँ अनियमितताबाट मन्त्रालय र आफूलाई टाढा राख्न सक्नु उहाँको कार्यकालको महत्वपूर्ण पक्ष हो । उहाँले सुशासन र परादर्शिताका पक्षमा उदहारण प्रस्तुत गर्नभयो ।

मन्त्रालय नै हाँकेपछि अर्थशास्त्रीको रुपरेखाबाट बाहिर निस्केर केही निर्णय गर्नुपर्ने रहेछ  । त्यो उहाँले गर्नुभयो । तर अब मन्त्रालयमा हामीलाई उहाँको अभाव महशुस हुनेछ । नयाँ अर्थमन्त्री कस्तो आउनुहुन्छ र उहाँले कस्तो गर्नुहुन्छ, त्यसले नै डा. खतिवडाको कार्यकाल समीक्षा गर्न सजिलो हुन्छ ।

‘उहाँले कर्मचारीको व्यवहार गर्नुभयो’

नरेश कटुवाल

अध्यक्ष, नेपाल राष्ट्रिय व्यावसायी महासंघ

हामीले साढे दुई वर्ष अगाडि एक विज्ञ अर्थमन्त्री पाएका थियौं । केन्द्रीय बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका मान्छेलाई अर्थमन्त्रीका रुपमा पाउँदा निजी क्षेत्र खुसी नै थियो ।

मेरो त व्यक्तिगत सम्बन्ध पनि राम्रो छ, उहाँको सम्मान पनि गर्छु । तर उहाँले उद्योगी-व्यवसायीहरुको हित कहिल्यै हेर्नुभएन । एउटा अवकास प्राप्त कर्मचारी हुनुहुन्थ्यो, कर्मचारीकै हिसाबले चलाउनुभयो । कर थोपर्ने र उद्योगी व्यवसायीहरुलाई सास्ती दिने काम भयो । विशेष गरेर साना उद्योगी-व्यवसायी पीडित बने ।

उहाँले मुलकको अर्थतन्त्र राम्रो बनाउनका लागि निजी क्षेत्रको सहभागिता मुलुक निर्णय गर्नुपर्छ भन्ने सोच्नुभएन । उहाँले आफूलाई कर्मचारीकै शैलीमा मात्रै प्रस्तुत हुनुभयो । मन्त्री भनेको जननिर्वाचित हुनुपर्छ, हामीले जननिर्वाचित मन्त्री नपाएर टीका लगाएका कर्मचारी मन्त्री पाउनु नै हाम्रा लागि दुःखद् भयो ।

राजीनामा दिनुअघि विदाई कार्यक्रममा अर्थमन्त्री खतिवडाले ‘निकै ठूलो काम गरेँ, जग बसाएँ’ भन्नुभएछ । उहाँले केही जग बसाउनु भएको छैन । कोही भ्रममा नपरे हुन्छ । उहाँले उद्योग व्यवसायमा सिन्डिकेट लाद्ने काम पनि गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?