
नेपाल राजतन्त्रबाट गणतन्त्रमा गएको, एकात्मकताबाट संघीयतामा गएको, जुन परिवर्तन आएको छ लोकतान्त्रिक परिवर्तन र अर्थतन्त्रको त्यहि ढङ्गले पुरानै सामन्ति, अर्धसामन्ति अर्थात, निर्वाहमुखी कृषि प्रधान अर्थतन्त्र थियो । त्यसलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गर्न संरचनात्मक परिवर्तन चाहिन्छ, एक प्रकारले विशेष धक्का दिनुपर्छ । यसका लागि उपयुक्त बेला आएको थियो ।
केपी ओली नेतृत्वमा सुविधाप्राप्त जुन बहुमतको सरकार छ । त्यो सरकारका अर्थमन्त्री डा. युवराज खतिवडालाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरणको निम्ति धक्कामुलक ढङ्गले नीतिगत रुपमा क्षेत्रगत रुपमा प्राथमिकता किटान गरेर बजेट लगायतका नीति ल्याउनुपर्छ भन्ने सुझाव दिएको थिएँ ।
दुखःका साथ भन्नुपर्छ, उहाँले यतापट्टी ध्यान दिनुभएन । या त प्रधानमन्त्री लगायत पार्टीको कारणले गर्दा सक्नुभएन या उहाँ आफैंले चाहनु भएन वा बुझ्नु भएन ।
यो तीन वर्ष अर्थतन्त्र जुन ढङ्गले अगाडि बढाइयो, कुनै सकारात्मक परिवर्तन ल्याएन ।
हामीले संसदीय व्यवस्था अपनायौं । यसमा मुख्य भूमिका प्रधानमन्त्रीकै हुन्छ । त्यसले अर्थमन्त्रीले चाहेर मात्रै धेरै गर्न सक्दैन । तर गुणात्मक नभएपनि मात्रात्मक अन्तर गर्न सकिन्थ्यो । यस हिसावमा अर्थशास्त्रको प्रशासनिक क्षेत्रमा लामो समय भूमिका निर्वाह गर्नुभएका डा. खतिवडाबाट मान्छेले धेरै अपेक्षा गरे । म आफैंले पनि केही शंकासहित अपेक्षा गरेको थिएँ ।
किनकी विशुद्ध प्राविधिक मान्छेले हाम्रो जस्तो संक्रमणकालीन समाजको अर्थतन्त्रलाई सम्हाल्न सक्दैन । अर्थ राजनीतिज्ञ पनि चाहिन्छ । उहाँ आफैं वामपन्थी पृष्ठभूमिको र कम्युनिस्ट पार्टीसँग पनि जोडिँदै आएको र अर्थतन्त्र बुझेको व्यक्ति हुनाले उहाँले आफ्नो प्रावधिक दक्षताको समिश्रणबाट अरु भन्दा सकारात्मक भूमिका निर्वाह गर्नुहुन्छ कि भन्ने अपेक्षा मैले गरेको थिएँ ।
उहाँले तीन वटा बजेट ल्याउनुभयो । पछिल्लो लोकतान्त्रिक प्रक्रिया खासगरी गणतन्त्रपछि कसैलाई त्यो सुविधा प्राप्त भएको थिएन । त्यो अवसर उहाँले गुमाउनुभयो । उहाँबाट जुन अपेक्षा गरिएको थियो, त्यो पुरा हुन सकेन ।
उहाँलाई मात्रै दोष दिन चाहन्न । किनकी संसदीय प्रणालीमा प्रधानमन्त्रीको दृष्टिकोण नै प्रमुख हुन्छ । हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली भिजनबिहीन हुनुहुन्छ, गफाडी शैली, आफूलाई मात्रै सर्वज्ञानी ठान्ने र अरुलाई नसुन्ने प्रवृति छ । त्यसले गरुडको छायाँ परेको सर्प जस्तो हुन्छ, प्रधानमन्त्रीको छायाँमा परेर उहाँले प्रावधिक ज्ञानको पनि ठीक ढङ्गले प्रस्तुत हुन पाएन भन्ने लाग्छ । त्यसैले अर्थमन्त्रीको असफलता मुल रुपमा प्रधानमन्त्रीको नेतृत्वको असफलता हो ।
यद्यपि प्रावधिक ढङ्गले विशेषज्ञता प्राप्त अर्थमन्त्रीले पनि अलिकति पद चिन्ह छोड्न सक्नुपर्दथ्यो, त्यो भएन । अपेक्षा र देशको आवश्यकता अनुरुप काम गर्न सक्नुभएन ।
(अर्थमन्त्री रहिसकेका पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईसँग रघुनाथ बजागाईँले गरेको वार्तामा आधारित)
प्रतिक्रिया 4