७ कात्तिक, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले ‘अध्यक्ष परिषद्’ गठन गर्ने भएको छ । ‘अध्यक्ष परिषद्’मा दलित, महिला, आदिवासी जनजाति, मधेशी, पिछडिएको क्षेत्र लगायत सबै क्लष्टरबाट प्रतिनिधित्व हुने गरी अध्यक्ष परिषद गठन गर्ने तयारी गरिएको हो । यही अध्यक्ष परिषदले पार्टीमा कार्यकारी भूमिका खेल्ने नेताहरुले बताएका छन् ।
‘समावेशी सिद्धान्त अनुसार सबै क्लष्टरबाट प्रतिनिधित्व हुने गरी ६/७ जनाको अध्यक्ष परिषद् रहन्छ,’ रास्वपा त्यागेर प्रगतिशील अभियानमा लागेका सन्तोष परियारले भने, ‘अध्यक्ष परिषद्मा रहने तीन जनाको नाम टुंगो लागिसकेको छ, यसको औपचारिक घोषणा आजको एकता घोषणा सभामा गरिने छ ।’
आज डा. बाबुराम भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा (नयाँशक्ति), जनार्दन शर्माको पहलमा स्थापना गरिएको र हाल सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी र रास्वपा परित्याग गरेका विघटित प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको टोली लगायतसँग एकता घोषणा सभा आयोजना हुँदैछ । एकता घोषणा सभा राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे हुनेछ ।
सन्तोष परियारले गर्नेछन् एकता घोषणा सभाको अध्यक्षता
राष्ट्रिय सभागृहको एकता घोषणासभाको अध्यक्षता सन्तोष परियारले गर्ने छन् । दुर्गा सोबले कार्यक्रम सञ्चालन गर्ने छिन् भने सुदन किराँतीले स्वागत मन्तव्य राख्ने छन् ।
बाबुराम भट्टराई र जनार्दन शर्मा पनि कार्यक्रममा सहभागी हुनेछन् । तर उनीहरुले शुभकामना मन्तव्य राख्ने गरी कार्यक्रमको खाका तयार पारिएको छ ।
सो सभाबाट पार्टीको नीति, नेतृत्व, कार्यक्रम लगायतबारे जानकारी दिइने नेताहरुले बताएका छन् ।
१५१ सदस्यीय केन्द्रीय समिति
एकतापछि नयाँ पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी नै राख्न सहमति नेताहरु सहमत भएका छन् । केन्द्रीय समिति १५१ भन्दा बढी सदस्यीय नबनाउने पनि सहमति भएको एक नेताले बताए ।
स्रोतका अनुसार डा. बाबुराम भट्टराई पार्टीको कार्यकारी भूमिकामा रहने छैनन् । उनी संरक्षकको रुपमा रहने छन् । जनार्दन शर्मा पनि पार्टीको कार्यकारी भूमिकामा नरहने सहमति भएको छ ।
तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी लगायतका दलहरुसँग एकता गरेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि शर्मा त्यसबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठनको पहल गरेका थिए ।
प्रगतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ । यसको चुनाव चिह्न तीन पात भएको बिरुवा छ । नेताहरुका अनुसार यही चिह्नबाट चुनावमा प्रतिस्पर्धा गरिने छ ।
चुनावमा होमिन शर्माको निर्देशन
आजको एकता घोषणा सभा अघि शर्माले तत्कालीन माओवादी नेता–कार्यकर्ताहरुको भेला आयोजना गरेका थिए । त्रिपुरेश्वरमा आयोजित भेलामा माओवादीका पूर्व केन्द्रीय सदस्यहरु सहभागी थिए ।
सो भेलामा शर्माले सुरुमा प्रगतिशील अभियान सञ्चालन गर्ने भनिए पनि चुनावको मिति घोषणा भइसकेकाले पार्टी नै गठन गर्नुपरेको जानकारी गराए । साथै प्रगतिशील लोकतान्त्रिक पार्टी र त्यसको चुनाव चिह्नको प्रचार गर्दै निर्वाचन तयारीमा जुट्न निर्देशन पनि दिएका थिए ।
भेलामा करिब डेढ सय जना उपस्थिति रहेको एक सहभागीले बताए ।
प्रतिक्रिया 4