७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नयाँ पार्टी गठनमा लागेका जनार्दन शर्माले प्रचण्डलाई मठाधीशको संज्ञा दिएका छन् ।
आइतबार काठमाडौंमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभामा बोल्दै नेता शर्माले माओवादीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर नयाँ पार्टी गठन गरेको बताए ।
‘सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भइरहेका छौं,’ शर्माले भने ।
पार्टी घोषणा सभामा शर्माले मानव विकास, विश्व र मुलुकको राजनीतिबारे विश्लेषणात्मक घोषणा पत्र प्रस्तुत गरेका थिए ।
उनले विगतका विभिन्न आन्दोलन र पछिल्लो जेनजी विद्राहको बलिदानी खेर जान नदिन राजनीतिक पहल अनिवार्य बनेको बताए । त्यसैका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएको उनको भनाइ छ ।
‘हाम्रो पार्टी केही दर्जन राजनीतिक दलहरूमाथि एक नयाँ दल थप्ने र केही नेता उत्पादन गर्न नभइ हालको विकृत राजनीतिलाई सुधार्दै आर्थिक, राजनीतिक एवं सांस्कृतिक रूपले सुदृढ र समतामूलक राष्ट्र निर्माणका साधनका रूपमा स्थापना भएको हो,’ पार्टीको घोषणा पत्र वाचन गर्दै शर्माले भनेका छन् ।
राजनीतिक पुन:संरचनाका लागि प्रगतिशील पार्टी गठन भएको उनको दाबी छ । त्यसका लागि पार्टीले छिट्टै राजनीतिक पुन:संरचना सम्मेलन २०८२ आयोजना गर्ने उनले बताए ।
उनले भने, ‘मानव सभ्यताको केन्द्रमा राजनीति हुने भएकाले राजनीतिले नै समग्र पक्षको अगुवाइ गर्दछ, राजनीति यसको नेतृत्व सही नभएपछि समग्र सामाजिक एवं, सांस्कृतिक प्रणाली, आर्थिक व्यवस्था र सुदृढ राष्ट्र निर्माणको गति रोकिन पुग्दछ, त्यसकारण प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रमुख कार्यभार वर्तमान गतिहीन राजनीतिको पुन:संरचना गर्नु हो, यसका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीले निकट भविष्यमा देशका सबै क्षेत्र, बौद्धिक वर्ग, विज्ञ, सबै जातजाती, धर्म, लिङ्ग, भूगोल आदिको सहभागितामा राजनीतिक पुन:संरचना सम्मेलन आयोजना गर्नेछ ।’
संविधान संशोधन, शासकीय स्वरुप, निर्वाचन प्रणली, लोकतन्त्रको समृद्धिकरण, राइट टू रिजेक्ट, प्राइमरी इलेक्सन जस्ता मुद्दामा सोही सम्मेलनबाट छलफल गरेर निष्कर्ष निकाल्ने उनले बताए ।
प्रतिक्रिया 4