
२९ भदौ, विराटनगर । स्थानीय प्रशासनले विराटनगरमा जारी गरेको निषेधाज्ञा हटाएको छ । भदौ ५ बाट सुरु भएको निषेधाज्ञा सोमबार बिहानबाट हटाएको हो ।
समुदायस्तरमा संक्रमण देखिएको विराटनगरसहित मोरङमा भरी जिल्ला सुरक्षा समितिले निषेधाज्ञा जारी गरेको थियो ।
जिल्ला सुरक्षा समितिले ५ भदौबाट आंशिक र ११ भदौबाट जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । १६ र २२ भदौमा निषेधाज्ञा खुकुलो बनाउँदै थप गरिएको थियो ।
२२ भदौमा साझ ७ बजेसम्म बजार खुला गर्ने अनुमतिसहित निषेधाज्ञाको एकसाता थप गरेको थियो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले सरकारले गरेका कडाई सीमा र सतर्कता राखेर निषेधाज्ञा हटाएको बताए ।
सुरक्षा समितिले सरकारले तोकेको मापदण्ड पूरा गरेर बजार र पसल साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने र औषधि पसलहरु नियमित सञ्चालन गर्न अनुरोध गरेको छ ।
सार्वजनिक यातायात बन्द गरेर सिटी सफारी जोरविजोर प्रणाली अनुसार यातायात मापदण्ड पालना गर्दै दुईजना मात्रै यात्रु राखेर सञ्चालन गर्न आग्रह गरेको छ ।
होटल तथा रेस्टुरेन्टबाट ‘होम डेलिभरी’को सुविधा दिए पनि भेटघाट र भेलाजम्मा हुन रोक लगाइएको छ । ९ बजे रातिबाट बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक १० वर्षसम्म र ६० वर्षभन्दा माथिको उमेर समूहकालाई कुनै पनि काममा घर बाहिर आवतजावतमा रोक लगाइएको छ ।
प्रतिक्रिया 4