
२ कात्तिक, काठमाडौं । सरकारले सहुलियतमा बिक्री गर्ने खसी-बोका काठमाडौं आइपुगेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गरेको २१० वटा खसी-बोका आइतबार काठमाडौं आइपुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
हेटौंडाबाट खरिद गरिएको खसी-बोकाको पहिलो लट भखैरै कम्पनीको थापाथली चौरमा ल्याइएको सूचना अधिकारी शर्मिला सुवेदीले बताइन् ।
हेटौँडा र तुलसीपुरबाट क्रमश थप खसीबोका भित्रिने उनको भनाइ छ । कम्पनीले हेटौंडाबाट जिउँदो खसी-बोका प्रतिकिलो ५३५ देखि ५५० सम्म र तुलसीपुरबाट ५०० देखि ५८० सम्ममा खरिद गरेर काठमाडौं ल्याएको हो ।
आइतबार कम्पनीको बैठक बसेर सहुलियत बिक्री मूल्य तय गरिने र सम्भव भए खसी-बोका सोमबारदेखि बिक्री थालिने सूचना अधिकारीसुवेदीले जानकारी दिइन् ।
यसवर्ष उपभोक्तामा दशैंको रौनक कम देखिएकाले एक हजार खसीबोका ल्याउने भनिए पनि सबै एकै पटक भने नल्याइने कम्पनीले जनाएको छ । सुरुआती दिनमा हुने बिक्रीको चापका आधारमा थप ल्याउने नल्याउने निर्णय हुने सुवेदीको भनाइ छ ।
यस वर्ष च्यांग्रा नबेच्ने
कम्पनीले यस वर्ष च्यांग्रा नबेच्ने भएको छ । जिउँदो च्यांग्रा निकै महँगो भएपछि खरिद गर्ने निर्णयबाट कम्पनीपछि हटेको हो । खाद्यले खरिद गर्ने ठाउँमै च्यांग्राको मूल्य गत वर्षभन्दा निकै बढेपछि नकिन्ने निर्णयमा पुगिएको कम्पनीकी सूचना सुवेदीले बताइन् । ‘यस वर्ष जिउँदो च्यांग्राको भाउ निकै महँगो भएपछि बिक्री नहुने डरले किन्ने आँट गरिएन्,’ सुवेदीले भनिन् ।
मुस्ताङ्गबाट बेनी ल्याएको जिउँदो च्यांग्राको भाउ प्रतिकिलो ७५० भन्दा माथि भएको उनले बताइन् । गत वर्ष कम्पनीले ५४० रुपैयाँमा जिउँदो च्यांग्रा खरिद गरेको थियो ।
यस वर्ष काठमाडौंसम्म ढुवानी गर्दा जिउँदो च्यांग्राको मूल्य १००० हाराहारी पुग्ने र च्यांग्रा पनि निकै ठुला-ठुला मात्रै पाइएको कम्पनीले जनाएको छ ।
‘एक त ठूला च्यांग्रा अर्को खाद्यले बिक्री गर्ने जिउँदो मूल्य नै एक हजारभन्दा माथि जाने भयो, यसले बजार भाउलाई झनै अस्थिर बनाउने देखेपछि हामीले खसी र बोका मात्रै ल्याउने निर्णय गर्यौँ,’ सूचना अधिकारी सुवेदीले भनिन् ।
प्रतिक्रिया 4