
नेपाली चलचित्रका सफल निर्देशक मिलन चाम्सलाई कोरोना संक्रमण भएको २ साता बढी भयो । उनले कोरोना पुष्टी भएपछि २ पटक पीसीआर टेष्ट पनि गरिसकेका छन् । जसमा रिपोर्ट पोजिटिभ नै आएपछि उनी घरमै आइसोलेसनमा छन् ।
अनलाइनखबरसँग कुरा गर्दै मिलनले कोरोनालाई सामान्य नसोच्न आग्रह गरेका छन् । उनले भने–‘कोरोना पुष्टी नभएसम्म त मैले पनि के हो र भनेर सोचेको थिएँ । तर, कोरोना लागिसकेपछि मात्र थाहा हुने रहेछ । यसले, गाह्रो पार्न सक्छ ।’
आफूलाई कोरोना पुष्टी भएको एक सातासम्म निकै गाह्रो भएपनि अहिले विस्तारै लक्षण हराउँदै गएको मिलनले बताए । उनले भने–‘एक साता त निकै गाह्रो बनाएको थियो । तर, डाक्टरहरुसँग निरन्तर सम्पर्कमा रहेर मैले औषधी पनि लिएँ । यसले गर्दा ज्वरो आउन पाएन । तर, खोकी, स्वाद र गन्ध हराउने, टाउको दुख्ने लक्षण भने केही समय देखिएको थियो ।’
कोरोनालाई सामान्य ठानेर गल्ती नगर्न मिलनले सबैसँग अपिल गरेका छन् ।
प्रतिक्रिया 4