५ मंसिर, कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना अस्थायी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार धनगढी उपमहानगरपालिका-५ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।
२५ कात्तिकमा कोरोना पोजेटिभ भएर अस्पतालमा उपचाररत उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । श्वास प्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएकै दिनदेखि नै उनलाई आईसीयूमा राखेर उपचार थालिए पनि बचाउन नसकिएको अस्पतालमा सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।
यसअघि शुक्रबार बिहान कोरोना संक्रमणबाट गौरीगंगा नगरपालिका-७ की ७२ वर्षीया महिलाको मृत्यु भएको थियो ।
योसँगै सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना अस्थायी अस्पतालमा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।
अहिले अस्पतालमा ७ जना आइसियुमा रहेका छन् । ती मध्ये २ जनाको अवस्था जटिल रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
प्रतिक्रिया 4