
८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य अनुसार बजेट खर्च गर्न सकेन । प्रशासनिक खर्च घटाउन नसकेको महानगरपालिकाको विकास खर्चको दर भने निरासाजनक छ ।
महानगरपालिकाले विकासका लागि उच्च दरमा बजेट विनियोजन गरेपनि खर्च गर्न नसक्दा पहिलो चार महिनामा समग्र खर्चको दर नै प्रभावित बन्न पुगको छ । बरु काठमाडौं महानगरपालिकाले आर्थिक विकास, सामाजिक विकास र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा पनि राम्रो काम गर्न सकेको छैन ।
महानगरपालिकाले चार महिनाको अवधिमा जम्मा १ अर्ब ४० करोड रुपैयाँ खर्च गरेको छ । यो रकम कुल विनियोजनको ९.८६ प्रतिशत मात्रै हो । यो वर्षका लागि काठमाडौं महानगरपालिकाले १४ अर्ब २६ करोडको बजेट ल्याएको थियो ।
पहिलो चार महिनाको अवधिमा प्रशासनिक र कार्यालय सञ्चालनतर्फ ६२ करोड ३२ लाख खर्च भएको छ । यो चालु आर्थिक वर्षको लागि प्रशासनिक र कार्यालय सञ्चालन खर्चमा विनियोजित कुल बजेटको ३३.४४ प्रतिशत हो । यो वर्ष महानगरपालिकाले प्रशासनिक खर्च शीर्षकमा १ अर्ब ८६ करोड रुपैयाँ ३७ लाख विनियोजन गरेको छ ।
यही अवधिमा पूर्वाधार विकासको खर्च भने ज्यादै न्युन छ । ४ महिनामा काठमाडौं महानगरपालिकाले ३२ करोड ९४ लाख मात्रै विकास खर्च गरेको छ । यो शीर्षकमा विनियोजित बजेटको ३.४८ प्रतिशत मात्रै हो । यो वर्ष काठमाडौं महानगरले पूर्वाधार विकासका लागि ७ अर्ब ८४ करोड ६७ लाख बजेट विनियोजन भएको छ ।
महानगरपालिकाले सुसासनका लागि भनेर चार महिनामा ३ करोड ७९ लाख खर्च गरेको छ । यो वर्ष सुशासन र अन्तरसम्बन्धित क्षत्रेका लागि भनेर १ अर्ब ८ करोड छुट्याइएको छ । यो शीर्षकमा महानगरपालिकाले ४ महिनमा ३. ४८ प्रतिशत मात्रै खर्च गरेको छ ।
आर्थिक विकास शीर्षकमा ३ करोड ६९ लाख खर्च भएको छ । यो शीर्षकमा चार महिनामा ४.३९ प्रतिशत मात्रै बजेट खर्च भएको छ । महानगरले आर्थिक विकासमा लागि ८४ करोड ३० लाख खर्चिनुपर्नेछ ।
सामाजिक विकासका लागि २ अर्ब ६२ करोड विनियोजन भएकोमा ४ महिनामा ३७ करोड ८२ लाख मात्रै खर्च भएको छ । यो विनियोजनको १४.४२ प्रतिशत मात्रै हो ।
महानगरपालिकाले यो अवधिमा सहायता शीर्षकमा २ करोड २० लाख रकम विभिन्न व्यक्ति तथा संघ संस्थालाई बाँडेको छ ।
महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोल टेन्डर स्वीकृत गर्नै २ महिना लाग्ने भएकाले पहिलो चौमाकिसमा विकास खर्च कमजोर भएको बताउँछन् ।
‘भएका कामको पनि भुक्तानी हुन बाँकी छ, टेन्डर लागेका आयोजनाको ठेकेदारलाई पनि हामीले अरुले जसरी मोबिलाइजेसन चार्ज दिँदैनौं,’ डंगोलले भने,’त्यसैकारण विकास खर्च राम्रो हुन सकेन ।’
अहिलेसम्म यो वर्षका लागि छनोट भएका ५० देखि ६० प्रतिशत आयोजनाको ठेक्का लागिसकेकोले अबका चौमासिक खर्चमा लक्ष्यअनुसार नै खर्च गर्न सकिने उनले बताए ।
‘माघबाट भुक्तानी तीव्र हुन्छ,’ उनले भने ,त्यसपछि विकास खर्च ह्वात्तै बढ्छ । महामारीका कारण विकासका काम प्रभावित हुने अवस्था पनि छैन ।’
प्रतिक्रिया 4