+
+

संगतले नसुध्रिएका हाम्रा आनीबानी

बाबुराम निउरे बाबुराम निउरे
२०७७ माघ १७ गते १३:५७

संगत गुनाको फल भनेर बुढापाकाहरुले भनिरहन्थे। घरमा , स्कुलमा अनि छरछिमेकमा आफूभन्दा (सिनियर) माननीय, अनुकरणीय अभिभावक तथा शिक्षकहरुले असल मान्छेको संगत गर्नुपर्छ, राम्रो मान्छेको संगतले नै आफू राम्रो हुन सकिन्छ, खराब मानिसहरुको संगतले कुलतमा फस्न सकिन्छ भनेर सम्झाइरहन्थे।

राम्रो संगतले राम्रै बनाउँछ भन्ने कुरा अपवादबाहेक हामीले स्वीकारेका छौं र त्यसैअनुसार अभ्यास पनि गरिरहेका छौं। न्युरो बैज्ञानिक भीएस रामचन्द्रनले ‘मेकिङ्ग अफ अ साइनटिष्ट’  शीर्षकको निबन्धमा संगतले मानिसलाई बैज्ञानिक पनि बनाउँछ भनेर बैज्ञानिक सफलतामा प्रभाव पार्ने विभिन्न तत्वहरुमध्ये संगत पनि एक हो भनेर संगतको तागत र प्रभावका बारेमा उल्लेख गरेका छन्।

भीएस रामचन्द्रनले भनेजस्तो संगतकै प्रभावले हामीलाई वैज्ञानिक नै बन्नु परेको थिएन । तर, कतिपय विभिन्न परिस्थितिमा ठाउँ तथा परिवेशअनुसार आफूलाई परिवर्तन गर्नैपर्ने अवस्थामा पनि प्रभाव पार्न सकेन संगतले हामीलाई।

हामी जन्मिँदा शारीरिक लैंगिक भिन्नताबाहेक लगभग उस्तै आकृति लिएर जन्मेका थियौं । जन्मिसकेपछि दूध चुस्ने र असहजतामा रुने गर्दै हामीमा विभिन्न बानीहरुको विकास शुरु भयो।  हामी हुर्किदै गयौं अनि विभिन्न नयाँ-नयाँ बानीहरु थपिँदै गए। परिवार, छिमेक हुँदै विद्यालयबाट आर्जित ज्ञान सँगसँगै हाम्रा बानी तथा ब्यवहार परिवर्तनको अभ्यास गर्दै गयौं।  औपचारिक तथा अनौपचारिक शिक्षा बाहेक हाम्रो जीवनमा विकसित बानीहरुमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा अझ धेरै प्रभाव पार्यो संगतले।

पुरुष वा स्त्रीका रुपमा स्वतन्त्र जन्मिएका प्राणीलाई हुर्कंदै जाँदा उनीहरुको ब्यवहारमा सबैभन्दा धेरै संगत हुने आफ्नो परिवारको वातावरणले प्रभाव पारिरहेको हुन्छ। बच्चाहरुलाई पारिवारिक पृष्ठभूमिअनुसार आफ्नो पहिचानलाई निरन्तरता दिने बानीको विकासका लागि सिकाइएको हुन्छ ।

कुनै पहिचान नलिई जन्मिएका हामीलाई हाम्रो पारिवारले आफ्नो थर, जात, धर्म लगायतका कुराहरु सिकायो। पारिवारिक वातावरण अनुसार आफ्ना अग्रजहरुको अनुकरण गर्दै आइयो । कुनै परिवारमा हामी मासु नखाने मान्छे हो भनेर सिकाइयो। कुनै-कुनै परिवारमा कुनै जनावरको मासु खान हुने र कुनै जनावरको मासु खान नहुने भनेर सिकाइयो। कुनै परिवारमा कुनै जनावर छुन पनि नहुने भनेर सिकाइयो।  कसैलाई जवान भएपछl जाँड रक्सी सेवन गर्न छुट भएको भनेर सिकाइयो । कसैलाई ती चिजहरु बर्जित गरियो। यी कुराहरुमा प्रशिक्षणभन्दा पनि पारिवारिक एवं छिमेकीको संगतले नै धेरै प्रभाव पारिरहेको हुन्थ्यो।

बाबुराम निउरे

पारिवारिक एवं छिमेकीको मात्र संगतमा रहेको मस्तिस्कहरु मध्यका हामीहरुले कसैले मासु खानेलाई घृणा गर्यौं । कसैले माछा मासु एवं जाँड रक्सी सेवन नगर्नेलाई सम्मान गर्यौं । कसैले उनीहरुलाई खान नजानेको छुच्चो भन्यौं र घृणा गर्यौं । पारिवारिक पृष्ठभूमिअनुसार कसैले अरुलाई आफूभन्दा माथिल्लो स्तरको ठान्यौं । सेवा गर्यौं । सम्मान गर्यौं। कसैले अरुलाई आफूभन्दा तल्लो स्तरको ठान्यौं र आफ्नो हितका लागि प्रयोग गर्न खोज्यौं।  एक अर्काको पेशा तथा कमाइअनुसार अर्थात आ-आफ्नो हैसियतअनुसारको ब्यवहार गर्यौं।

हामीले गाउँ छिमेक तथा संगतअनुसार कोही ठूलो, कोही सानो भएर हाँस्यौं खेल्यौं। आर्थिक एवं सामाजिक हैसियतअनुसार एक अर्कालाई फरक-फरक तरिकाले ब्यवहार गर्यौं । कतिपय कुराहरु सीमित मान्छेले मात्र उपभोग गर्यौं । कतिपयले आफ्नो सामर्थ्य भएर पनि आफूलाई खुम्चाएर राख्यौं । यसरी हामीले कुनै न कुनै खालको अन्याय अथवा भेदभावपूर्ण बानीको अभ्यास गर्यौ र गरायौं।

हामी विभिन्न बहानामा भौंतारिएकाहरुको परिपक्वता सँगसँगै संगत पनि फराकिलो हुँदै गयो । हामी आफ्नो गाँउ छिमेक छोडेर शहरतिर पस्यौं। आफू हुर्केको र खेलेको परिवार तथा छिमेकभन्दा धेरै टाढा टाढा र निकै नै फरक-फरक पृष्ठभूमि तथा ब्यवहार भएका मानिसहरुको संगत धेरै हुन थाल्यो।

शहरतिर छिरेसँगै नयाँ-नयाँ संगत शुरु भयो । स्थापित बानीहरु परिवर्तन हुँदै जान थाले । संगतअनुसार कतिपय माछामासु नखानेहरुले अलिअलि खान शुरु गर्न थाल्यौं । कतिपय माछामासु खानेहरुले खान छोड्यौं । कतिपय जाँड रक्सी सेवन गर्ने बानी भएकाहरुले बहिष्कार गर्न थाल्यौं । जाँड रक्सी सेवन गर्न बर्जित भनेर सिकाइएका मध्ये  कतिपयले उही बानीलाई निरन्तरता दियौं। कसैले पिउन शुरु गर्न थाल्यौं र कसैले लुकिछिपी सेवन गर्न थाल्यौं।

हामी मध्य पहाडको गाउँ घरमा हुर्किएका कतिपयले उकालो ओरालो गर्दा छोटो बाटोको खोजीमा कान्ला कान्लै हाम फालेर र तराईतिर हुर्केकाहरुले खेतका आलीआली दौडिनेहरुले शहरतिर झरेपछि सडकको छेउ छेउ हिँड्न थाल्यौं । गुडिरहेका गाडीहरुलाई हात उठाएर रोकी बाटो काट्न सिक्यौं।  दाउराको सट्टा ग्यासमा खान पकाउन थाल्यौं।  सरसफाइ अनि लवाइ खुवाइमा पनि परिष्कृत हुँदै गयौं।

हामी देश छोडेर विदेशतिर लाग्यौं । हवाइजहाज चढेर हाम्रा कतिपय बानीहरुलाई नाटकीयरुपमा परिवर्तन गरेर ब्यबहार गर्नुपर्ने ठाउँमा पुग्यौं हामी।

लगभग पाँच बर्षको युरोपको बसाइमा सबै कोणबाट विश्वमै समृद्ध मानिने नर्वे, स्विडेन, डेनमार्क, फिनल्याण्ड, स्वीटजरल्याण्ड, बेलायत तथा आर्थिक हिसाबले अलि कमजोर अवस्थामा रहेका पोर्तुगल, चेक रिपब्लिक, बुल्गेरिया, लात्भिया लगायत अन्य थुप्रै पश्चिमी देशका नागरिकहरुसँगको भेटघाटका क्रममा उनीहरुको ब्यवहार र जीवनशैलीले धेरै कुराहरु सिकायो।  हामीभन्दा धेरै सभ्य भनिएका पश्चिमाहरु र हाम्रा जीवनशैलीका विभिन्न पक्षहरु तुलना गर्दा प्राविधिको विषयमा बाहेक अन्य विषयमा हामीले उनीहरुबाट भन्दा उनीहरुले हामीबाट सिक्नुपर्ने कुराहरु धेरै छन् जस्तो लाग्छ।

हाम्रा केही कमजोरीले जानेर पनि हामी बेखुसीको जिन्दगी बिताइरहेका छौं । हामी आफूसँग भएको चिजमा खुशी छैनौं । आफूसँग नभएको कुरामा चिन्तित छौं। पश्चिमाहरु आफूसँग भएको कुरामा खुशी छन् र आफूसँग नभएको र अरुसँग भएका कुराहरुमा धेरै चिन्तित छैनन्।

साँच्चिकै भने हो भने हाम्रा आध्यामिक दर्शनहरुमा खुशी जीवन जिउनका लागि अथाह ज्ञान छ। अनेकौं दृष्टान्तहरु छन् । हामीलाई कति कुराको ज्ञान पनि छ । तर, ब्यवहारमा बदल्न सकिरहेका छैनौं । उदाहरणका लागि, हाम्रो आध्यामिक दर्शनले भौतिक शरीर क्षणिक हो भन्छ । तर, हामी अजम्मरी भएजसरी व्यवहार गर्छौं।  पश्चिमाहरुले बरु यो कुरा अध्ययन गरिसकेर त्यहीअनुसारको अभ्यास गरेको जस्तो आभास हुन्छ।

पारिवारिक एवं सामाजिक जीवनका सवालमा कुरा गर्ने हो भने पश्चिमेलीहरु हामीभन्दा धेरै पछाडि छन् र हाम्रो तहमा पुग्न निकै समय लाग्छ जस्तो लाग्छ। हामी आफ्ना लागि मात्र नभई हाम्रा बा, आमा, दाजुभाइ, दिदीबहिनी, श्रीमती, छोराछोरी सबैका लागि हो । वास्तवमै भन्ने हो भने हामी आफूभन्दा अरुका लागि धेरै मरिमेटेका हुन्छौं । उनीहरु मुख्यतः आफ्नै लागि बाँचेका छन्, अनिमात्र अरुका लागि।

हामीबाट उनीहरुले भन्दा उनीहरुबाट हामीले सिक्ने कुरा थोरै भए पनि निकै महत्वपूर्ण छन्, जुन हामीमध्ये कतिपयले सिक्न सकिरहेका छैनौं। शहर झरेपछि बाटो छेउछेउ हिँड्न सिकेकाहरु विदेशमा पुगेपछि लगभग सबैजसोले पालना गर्ने सडक बत्ति वा अन्य संकेत अनुसार ओहोर दोहोर गर्ने ठाउँमा पनि हामी नियम पालना गर्ने बन्न सकेनौं। आफूलाई वीर गोर्खाली ठान्छौं र समयभन्दा एक कदम अगाडि नै रहेजस्तै गरी सडक संकेत पनि पर्खेर बस्न सक्दैनौं।

सार्वजनिक सवारी प्रयोग गर्दा अरुलाई लगभग कुनै असर नगरी ब्यवहार गर्नेहरुको जमातमा पनि हामी तीन\चारजना मात्रै भयौं भने त्यो सवारी नै आफ्नो निजी भएजस्तै गरी गफ गरिदिन्छौं । हल्ला गरिदिन्छौं र अरुलाई असहज भएको महशुस पनि गर्न सक्दैनौं।

पारिवारिक पृष्ठभूमि अनुसार जाँड रक्सी लगायतका मादक पदार्थ सेवन नगर्ने मध्ये कतिपयले शहरतिर पसेपछि संगतअनुसार लुकीछिपी सेवन गर्न शुरु गर्यौं र विदेश नै पुगेपछि स्वतन्त्र महशुस गरी पिउन थाल्यौं। संगतअनुसार हामीले जाँडरक्सी जस्ता शब्दहरुलाई वाइन, वियर जस्ता शब्दले प्रतिस्थापित गर्यौं।

संगतले हामीलाई कुनै दिन अप्ठेरो महशुस गर्ने बानीहरुलाई खुलेर प्रयोग गर्न सक्ने बनायो।  तर, आफू जति पिए पनि अरुलाई कुनै असर (डिस्टर्ब) नगर्ने मानिसहरुको संगत हुँदाहुँदै पनि हामीले आफूलाई परिवर्तन गर्न सकेनौं।  पिएपछि छिमेकीलाई पनि असर पर्ने गरी हल्ला गर्न छाडेनौं । पिएपछि, सँगै खाने, सँगै काम गर्ने र सँगै सुत्ने साथीभाइबीच  लड्न छोडेनौं । खुकुरी उठाउन छोडेनौं । आफूलाई वीर गोर्खालीको सन्तान भन्यौं । साथीभाइबीच नै काटमार गर्न पनि पछि परेनौं।

खाने पिउने आ-आफ्ना निजी विचार र अभ्यास हुन् । सबैको बानीलाई सम्मान गर्नुपर्छ भन्नेहरुको संगतमा रहेर पनि हामीमध्य कतिपयले नपिउनेले पिउनेलाई घृणा गर्न छोडेनौं । अनि पिउनेले नपिउनेलाई पिउन दबाव दिन पनि छोडेनौं।

शारीरिक बनोटको हिसाबले पुरुष र महिलाबाहेक मानिसहरुबीच कुनै किसिमको फरक छैन, सबै मानव एउटै जाति हो भनेर सहजै आभाष हुने ठाउँमा घुलमिल भएर पनि जातिभातिका कुरा गर्न छोडेनौं।  आफ्ना थर तथा जाति अनुसारका संगठन खोल्न बाँकी राखेनौं र विभेदरहित समाजमा बसेर पनि विभेदकै लागि पहल गरिरह्यौं।

स्वदेशमा महिला र पुरुषबीच थुप्रै कुरामा विभेद भएको अभ्यास गर्यौं । कसैले अन्याय गर्यौं, कसैले अन्याय सह्यौं । विदेश आएपछि बच्चा जन्माउने र दूध चुसाउने बाहेक सबै कुराहरु पुरुष तथा महिला जसलाई अनुकुल पर्छ, उसैले गर्ने मानिसहरुको संगतमा पुग्यौं। एउटा महिलाले अर्को महिलाको आन्तरिक वा बाह्य कुनै पनि कुरामा मतलब नराख्नेहरुको संगतमा घुलमिल भयौं । तर, पनि हामीले एउटाले अर्काको कुरा काट्न छोडेनौं । समूहमा विभाजन हुन छोडेनौं।  कोही महिला बन्यौं, कोही नारी बन्यौं।

विदेशतिर आइसकेपछि हामी केही समय मात्र नेपाली भनेर चिनियौं आफ्नो समूहमा। केही समयपछि फरक-फरक हुन थाल्यौं । कोही कांग्रेस भयौं, कोही नेकपा, कोहि राप्रपा, कोही विवेकशील आदि धेरैथरि भयौं।  कतिपय जमघटमा आफ्नै समूहको भए समावेश गर्यौं, नभए बहिष्कार गर्यौं।

अधिकांश नागरिकमा आफ्नै देशको राजनीतिक विषयमा खासै चासो नभएको जमातको संगतमा बसेका हामी अर्काको देशमा भएर पनि राजनीति गर्न छोडेनौं।  यसबाट पन्छिन खोज्नेलाई केही भिजन नभएको अपवातका रुपमा देख्यौं।  चारजना जम्मा भयौं भने देशका लागि केही गर्न सकिन्छ कि भनेर सोचेनौं।  स्वदेशमा भएको राजनैतिक मुद्दामा चर्को बहस गर्यौं । माहोल त्यस्तै भयो भने भनाभन गर्यौं । पिटापिट गर्यौं । बहादुरी देखाउन कत्ति पछि परेनौं।

राजनीति गर्ने मान्छे देशमै टन्नै हुँदाहुँदै र हाम्रो विदेशको राजनीतिले स्वदेशमा कायापलट गर्न नसकिने बोध हुँदाहुँदै विदेशमा पनि राजनीतिलाई ओझेल पार्न सकेनौं हामीले।  टाढैबाट भए पनि आफ्नो पक्षको दललाई खुलेर प्रशंशा गर्छौं।  आफू इतरकोलाई प्रयोग गर्न मिल्नेसम्मका छुद्र शब्दहरु खोजी खोजी गाली गर्यौं । उस्तै पृष्ठभूमि, उस्तै नियत र समान हैसियत भएका दुई नेताको तुलना गर्नुपर्यो भने आफ्नो पक्षकालाई भगवानकै रुपमा प्रमाणित गर्यौं । अर्कोलाई राक्षसमा झारिदियौं ।

भित्रीरुपमा जे-जस्तो भए पनि आर्थिक एवं सामाजिक हिसाबले लगभग सबै बराबरजस्तै देखिने समाजको संगतमा बस्दा पनि हामी आफ्नो बर्तमान एवं विगतसम्म जोडेर आफू अलि फरक र विशेष नै भएको देखाउन खोज्छौं । माथिल्लो तहसम्म पढेकाले कम पढेकालाई कमजोर देख्छौं। कम पढेकाले धेरै पढ़ेकाको पनि हालत उही भन्छौं गिज्याउँछौं ।

अनुशाशन र पद्दतिमा चल्ने वातावरणमा घुलमिल भएका हामी केही समयका लागि आफ्नो मातृभूमि प्रवेश गर्दा पनि खासै फरक हुन सकेनौं।  जहाज अवतरण हुनुअगावै आफ्नो हर्कत देखाउन शुरु गर्छौं।  अनुशासन र पद्दतिविना विकास सम्भव छैन भन्ने बुझेर फर्केकाहरु, आ-आफ्नो ठाउँमा सकारात्मक संदेश प्रवाह गर्नुको सट्टा आफू अर्कै ग्रहबाट केही क्षणका लागि पृथ्वीलोकमा आएको र आफूलाई जे गर्न पनि छुट भएको जस्तो गरी अध्यागमन विभागमा नै बित्तण्डा मच्चाउन पनि पछि परेनौं।

धेरै कमाउनेले थोरै कमाउनेलाई  हेप्छौँ।  उद्योग ब्यवसाय सञ्चालन गरेका कतिपयले, श्रमको सम्मान गर्ने ठाँउमा पनि सकेसम्मको श्रम शोषण गर्छौं। जानेकाले नजानेकालाई सकेसम्मको सहयोग गर्ने पद्दति भएको ठाउँमा हामीले नजानेकालाई सकेसम्म ठग्न खोज्छौं। थुप्रै कुरामा परिवर्तन ल्याए पनि यस्ता केही महत्वपूर्ण कुरामा प्रभाव पारेन संगतले हामीलाई।

अन्त्यमा, विदेशतिर बेलाबेलामा आइरहने नमिठा समाचार र आफैंले भोगेका भोगाइहरुलाई ब्यक्त गरिएको हो। यो हामी सबैको नभएर कतिपयको मात्र हो । त्यसैले सबैले चित्त दुखाउनुहुने छैन र गाली पनि गर्नुहुने छैन भन्ने अपेक्षा राख्दछु।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?