
२४ चैत, काठमाडौं । साउदी अरेबियाले मुसलमान समुदायको हज तथा उमराहको लागि मक्का जान कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अनिवार्य गरेको छ ।
साउदी अरेबियाको हज तथा उमरा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हज तथा उमराको यात्रामा जान चाहनेले कोरोना खोप लगाएको विवरण पेश गर्नुपर्ने उल्लेख गरेको छ ।
नयाँ नियमअनुसार कम्तीमा १४ दिनअघि कोरोनाको एक डोज खोप लिएको तथा कोरोना संक्रमणपछि निको भएका मानिस पनि मक्का जान पाउनेछन् ।
मन्त्रालयका अनुसार रमजानको क्रममा मक्काको मस्जिदभन्दा वरपर कोरोनाबाट बच्न आवश्यक सबै नियम कडाइका साथ पालना गरिनेछ । त्यसका लागि ठूलो संख्यामा स्वयंसेवक खटाइने विज्ञप्तिमा उल्लेख छ ।
गत वर्ष साउदी अरेबियाले कोरोना संक्रमण नियन्त्रणका लागि आफ्नै मुलुकका १० हजार जनालाई मात्र हजयात्रामा जाने अनुमति दिएको थियो ।
विश्वभरका धेरै मुलुकमा कोरोना खोप अभियान सञ्चालन भइसकेको अवस्थामा केही मुुलुकले ‘खोप पासपोर्ट’ योजना ल्याएका छन् । केही मुलुकमा भने यस विषयमा अहिले छलफल चलिरहेको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4