+
+

भैरहवामा ४५ करोड लगानीमा वाटर पार्क

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २४ गते १९:३६

२४ चैत, बुटवल। भैरहवामा लुम्बिनी प्रदेशकै ठूलो वाटरपार्क सञ्चालनमा आएको छ। पाँचजना युवा उद्यमीको ४५ करोड लगानीमा सिद्धार्थनगर नगरपालिका-१ डण्डापुल नजिकै साढे ६ विघा क्षेत्रफलमा लुम्बिनी अम्युजमेन्ट पार्क एण्ड रिसोर्ट सञ्चालनमा आएको हो।

दोस्रो चरणमा दशहजार वर्गमिटरको बहुउद्देश्य हल, रेष्टुरेन्टसहित रिसोर्ट सञ्चालनमा ल्याउन थप ५५ करोड लगानी गर्ने योजना रहेको प्रालिले जनाएको छ। लुम्बिनी आउने पर्यटक, भारतको गोरखपुर सम्मको पर्यटकलाई लक्षित गरी मुलुककै नमूना पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्यसहित सञ्चालनमा आएको वाटर पार्कमा एकपटकमा ३ हजार ५ सय जनासम्मले मनोरञ्जन लिन सक्ने प्रालिका सञ्चालक निरज बरालले बताए।

अमेरिकन प्रविधि जडित वाटर पार्कमा बालबालिकादेखि वयष्क सम्म उमेर समूह अनुसारको स्लाइडहरु रहेका उनले बताए । पार्कमा यस क्षेत्रकै ठूलो वेभ पूल (सामुद्रिक छाल जस्तो ) रहेको छ भने ४० फिट अग्लो टावरबाट पार्कको अवलोकन गर्न सकिने छ।

४ वटा मल्टीलेन स्लाइड, रेन डान्स, क्रेजी रिभर, एक्वा प्ले, बेबी स्लाडिङ, मसरुम स्प्रे, अम्ब्रेला सावर लगायतका पानी पोखरीमा खेलिने खेलका मनोरञ्जनात्मक उपकरणहरु जडान गरिएको अर्का संचालक कमल भुसालले बताए।

युवाहरुका लागि साहसिक स्लाइड अन्तर्गत २५ फीट उचाईबाट यस क्षेत्रमा अहिलेसम्मकै लामो तीव्र गति २ सय फीटको स्पीड स्लाइड पनि रहेको छ। पार्कभित्र डेढ दर्जन सेल्फी स्पट समेत बनाइएको छ।

वाटरपार्कमा नेपालको संस्कृति झल्किने हस्तकला, पेन्टिङ तथा घरेलु उद्योगबाट उत्पादित सामानको विक्री कक्ष, डिजिटल अर्डर गर्न सकिने फुडकोर्ट,पर्याप्त पार्किङ स्थल,प्रतिक्षालय जस्ता सुविधा रहेका अर्का सञ्‍चालक पुष्पराज पौडेलले बताए।

पहिलो चरणमा ३५ जनालाई प्रत्यक्ष रोजगारी पाएका र पूर्ण क्षमतामा सञ्चालन हुँदा डेढ सय जनाले रोजगारी पाउने अर्का सञ्चालक लोकनाथ भण्डारीले बताए। वाटर पार्कको औपचारिक शुभारम्भ बैसाख दोस्रो हप्ता गरिने प्रालिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?