+
+

वार्षिक ४० अर्ब बजेट खर्च गर्ने एनजीओ-आईएनजीओ महामारीमा कहाँ छन् ?

अच्युत पुरी अच्युत पुरी
२०७८ वैशाख २९ गते २०:३३
फाइल तस्वीर

२९ वैशाख, काठमाडौं । अक्सिजन अभावमा अस्पतालहरूले गम्भीर प्रकृतिका बिरामी फिर्ता गर्न थालेका छन् । कोरोना महामारी शहरदेखि गाउँसम्म पुगेको छ । सरकार अत्तालिएको छ । देशभर बलियो सञ्जाल बनाएका राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्था पनि महामारीमा चुपचापै बसेका देखिए ।

गैरसरकारी संस्थाको नियमन गर्ने निकाय समाज कल्याण परिषद्ले अघिल्लो साता राहत र प्रतिकार्यमा जुट्न आह्वान गर्दै विनियोजित वार्षिक बजेट रकमान्तर गरी कोरोना नियन्त्रणमा लगाउन भनेको थियो । मंगलबार स्वास्थ्य मन्त्रालयले समेत स्वास्थ्य क्षेत्रमा काम गर्ने गैससहरूसँग सहयोगको अपील गरेको छ ।

परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईका अनुसार परिषद्को आह्वानपछि स्वास्थ्यको क्षेत्रमा काम गर्ने राष्ट्रिय–अन्तर्राष्ट्रिय गैससहरूले कोभिड लक्षित कार्यक्रम अगाडि बढाएको बताउँछन् ।

१,२०० गैससको ४० अर्ब बजेट

अहिले देशभर एक हजारभन्दा बढी राष्ट्रिय गैरसरकारी संस्था सक्रिय रहेको परिषद्को तथ्यांकले देखाउँछ । उनीहरूको वार्षिक बजेट १८ अर्ब रुपैयाँ हाराहारी छ । त्यस्तै, २३० अन्तर्राष्ट्रिय गैससको बजेट १९ अर्बभन्दा बढी छ । यसको केही प्रतिशत मात्र कोभिडविरुद्ध लगाउन सके धेरैको स्वास्थ्य सुरक्षा हुनेछ ।

समाज कल्याण परिषद्ले सम्झौता भएका वा पूर्वस्वीकृति लिएर चलेका परियोजनाहरूको बजेटबाट रकमान्तर गरी महामारीमा खर्च गर्न सीमा तोकिदिएको छ । त्यसअनुसार, पाँच करोडसम्मको मूल परियोजनाबाट २० प्रतिशतसम्म रकमान्तर गर्न सकिनेछ ।

त्यस्तै, १० करोडसम्मको मूल परियोजना भए त्यसबाट १५ प्रतिशत, २५ करोडसम्मका परियोजनाबाट १० प्रतिशत, ५० करोडसम्मका परियोजनाबाट ७ प्रतिशत र ५० करोडभन्दा माथिको परियोजनाबाट ५ प्रतिशत रकमान्तर गरी कोरोना महामारीको रोकथाममा लगाउन सकिने भएको छ ।

यस्तो रकम स्वास्थ्य मन्त्रालयले जोखिमपूर्ण भनी तोकेका अक्सिजन, सिलिण्डर, भेन्टिलेटर, आईसीयू लगायत उपकरण जुटाउन खर्च गर्न भनिएको छ । क्वारेन्टिन र आइसोलेसन व्यवस्थापन तथा अति विपन्न परिवार र दैनिक ज्याला मजदूरी गर्ने श्रमजीवीलाई राहत दिन समेत गैससहरूलाई अनुमति दिइएको छ ।

केही दिनमा नतिजा आउँछ : महासंघ

गैरसरकारी संस्था महासंघ, नेपालका अध्यक्ष जितराम लामा संकटको समयमा संघ–संस्थाहरू महामारी न्यूनीकरणमै लागेको बताउँछन् । ‘कोभिडको सन्दर्भमा जनचेतना वृद्धिमा बढी कार्यक्रम छन्,’ उनले अनलाइनखबरसँग भने, ‘अब हामी स्वास्थ्य सामग्रीको उपलब्धतामा पनि जुट्छौं ।’

महामारीसँग जुध्न विदेशबाट सामान ल्याउने प्रक्रिया अगाडि बढेकाले केही दिनमै कामको नतिजा देखिने उनले बताए । ‘अत्यावश्यक स्वास्थ्य सामग्री धेरैभन्दा धेरै जनताको पहुँचमा पुर्‍याउने चुनौती छ,’ अध्यक्ष लामा भन्छन्, ‘यसका लागि स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैससहरूसँग पनि समन्वय गरिरहेका छौं ।’

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?