
२१ जेठ, विराटनगर । विराटनगर महानगरपालिका– ४ एयरपोर्ट मोडमा भएको सवारी दुर्घटनामा मृत्यु भएका भारतीय नागरिकको शव आफन्तले बुझेका छन् । किरिया खर्चबापत रकम लिएर मृतक मुकेश शर्माका दाजुले शव बुझेका हुन् ।
प्रदेश १ को प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट बिहीबार राति साढे ७ बजे भारत कटिहारका ३५ वर्षीय मुकेशको मृत्यु भएको थियो । दुर्घटनामा उनीसँगै काम गर्ने मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीय रामकुमार राजवंशी घाइते भएका थिए । नोबेल अस्पतालमा उपचार गराएर राजवंशी डिस्चार्ज भएका छन् ।
मृतकको शव भने पोष्टमार्टमपछि आफन्तले जिम्मा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले पुष्टि गरे । मृतक शर्माको दाजुले ५० हजार भारतीय रुपैयाँ लिएर शव बुझेको स्रोतले बताएको छ ।
बिहीबार राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट रोडमा नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले दुई जनालाई ठक्कर दिएको थियो । कार उनका छोरा रोबिन भनिने रविन कार्कीले चलाएका थिए ।
विराटनगरको बरगाछी युवा समूहले संक्रमितको शव व्यवस्थापन गर्दा सो कार प्रयोग गर्दै आएका थियो । शव व्यवस्थापनमा रबिन पनि खटिएका थिए । तर उनी बिहीबार शव व्यवस्थापनमा नगएको जानकार स्रोतले बताएको छ ।
बिहीबार उक्त गाडीले होटल एसियाटिक नजिकै दुई जनालाई ठक्कर दिएको थियो । ठक्करपछि सवारी चालक र गाडीमा रहेकाहरु गाडी छाडेर भागे । ‘हाम्रो प्राथमिकता पहिला घाइतेको उद्दार गर्नु थियो, घाइतेको उद्दार गर्दा चालक फरार भए,’ प्रहरी उपरीक्षक खड्का भन्छन्,‘चालक जोसुकै हुन् खोजी गर्दैछौं, कारवाहीको दायरामा ल्याउछौं ।’
चालक को हो ?
नेपाली कांग्रेस प्रदेशसभा सदस्य कार्कीले आफ्नो छोराले गाडी नचलाएको बताउँदै आएकी छन् । तर प्रत्यक्षदर्शी र घटनास्थल पुगेका प्रहरी कर्मचारी भने रविनले नै गाडी चलाएको दावी गर्छन् ।
‘दुर्घटनापछि रविनभाइ ड्राइभिङ सिटबाट निस्किए,’ प्रत्यक्षदर्शी स्थानीय युवकले भने,‘गाडीबाट अरु पनि निस्किएर भागे ।’ प्रहरी उपरीक्षक खड्काले भने सडकको सीसीटीभी फुटेजमा गाडी देखिएपनि सबै विषय क्लियर नदेखिएको बताए ।
कार्कीलाई भने प्रहरीकै संरक्षणमा लुकाइएको स्रोतको दाबी छ । ‘मृतकलाई पैसा दिए, घाइतेलाई पनि नबोल्नु भनेका छन्,’ स्रोतले भन्यो,‘ घटना कमजोर बनाउन प्रहरीले पनि साथ दिएको छ ।’
मोरङका प्रहरी प्रमुख खड्का भने दोषीलाई कारवाही हुने बताउँछन् । ‘आमा भएका नाताले संरक्षणको प्रयास गर्नु बेग्लै कुरा होला,’ उनले भने,‘प्रहरीले प्रमाण हेर्छ, निष्पक्ष छानबिन गर्छ, चालकको खोजी भइरहेको छ कारवाही हुन्छ ।’
घटनाको अनुसन्धानका लागि प्रहरीले घटना हुनुअघि रविनसहित पाँच जना बसेको होटल एडमायरका सञ्चालक पंकज साह पक्राउ गरेको छ ।
प्रतिक्रिया 4