
३० जेठ, धनगढी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङले भारतसँग जोडिएका सीमा नाकामा तारबार गर्न माग गरेका छन् ।
आइतबार प्रदेशसभामा नीति तथा कार्यक्रममाथि धारण राख्ने क्रममा सीमा नाकामा आइपर्ने समस्या सामाधान गर्ने विषय नसमेटिएको बताउँदै उनले तारबार लगाउनुपर्ने माग गरेका हुन् ।
‘बेलौरीमा हुलाकी सडकको काम गर्दा भारतीय एसएसबी आएर धम्क्याउने गरेको छ । कञ्चनपुरदेखि दार्चुलासम्म सीमा नाकामा समस्या नै समस्या छन्’ तामाङले भने, ‘सबै ठाउँमा नसकेपनि सीमामा तारबार गर्नैपर्छ । राष्ट्रियतासँग जोडिएको विषयमा हामीले यो कदम चाल्नैपर्छ । नीति तथा कार्यक्रममा समेटिएको देखेन । सरकारको ध्यान जाओस् ।’
उनले भारतसँग जोडिएको सीमा नाकामा तारबार नगरेमा भविष्यमा ठूलो समस्या सिर्जना हुने समेत बताएका छन् । भारतमा रोजगारीका लागि जाने नेपालीहरुलाई पनि व्यवस्थित गर्नुपर्ने माग उनको छ ।
तामाङले सरकारको नीति तथा कार्यक्रम पारित गर्न आफ्नो पार्टीले ह्वीप जारी गरेकाले सबै कुरा राम्रो रहेको भन्दै समर्थन जनाए ।
प्रतिक्रिया 4